भर्खरै :

बेलायतले लिबियाबाट जे चाहेको थियो, पायो

बेलायतले लिबियाबाट जे चाहेको थियो, पायो

सन् २०११ मा सैन्य हस्तक्षेप गरेर लिबियालाई अस्थिर तुल्याएपछि बेलायतका ठूला बहुराष्ट्रिय इन्धन कम्पनीहरू ‘बीपी’ र ‘शेल’ तेलमा धनी उत्तर अफ्रिकातिर फर्किँदै छन् ।
लिबियाको राष्ट्रिय आयल निगम (एनओसी) ले गत अक्टोबरमा ब्रिटिस पेट्रोलियम (बीपी) लाई समुद्री किनारबाट प्राकृतिक ग्यास निकाल्न अनुमति दिएको छ । बेलायतको सो कम्पनीको निर्देशक बोर्डमा बेलायती गुप्तचर निकाय एमआई–६ का पूर्व प्रमुख सर जोन सवेर्स पनि छन् । सम्झौता अनुसार लिबियाको समुद्री किनारमा वेल्सभन्दा झन्डै तीन गुणा ठूलो क्षेत्रमा ‘बीपी’ ले नियन्त्रण जमाउँदै छ ।
लामो समयदेखि बेलायती अधिकारीहरूले लिबियाको तेलबाट नाफा कमाउने दाउ गरिरहेका थिए । लिबियामा ४८ अर्ब ब्यारल तेलको भन्डार छ । यो अफ्रिकाको सबैभन्दा ठूलो तेल भन्डार हो । विश्वमा यसको अंश ३ प्रतिशत हुन आउँछ ।
लिबियामा तेल निकाल्ने र प्रशोधन गर्ने अनुमति पाउने सीमित विदेशी तेल र ग्यास कम्पनीहरूमध्ये ‘बीपी’ पनि एक हो । सन् १९६९ मा सैन्य विद्रोह गरेर सत्ता हातमा लिएलगत्तै लिबियामा कर्णेल मुअमर गद्दाफीले सारा पेट्रोलियम खानीलाई राष्ट्रियकरण गरेका थिए । त्यसपछि त्यहाँका बेलायती कम्पनीहरूको उठिबास लागेको थियो । दुई देशबिच वर्षौँसम्म तनाव जारी रह्यो । अन्ततः सन् २००४ मा बेलायती प्रम टोनी ब्लेयरले गद्दाफीसँग भेटघाट गरे र कथित ‘मरुभूमिको सम्झौता’ मा हस्ताक्षर गरे । सम्झौताअनुसार ‘बीपी’ र लिबियाको ‘एनओसी’ बिच ९० करोड डलर बराबरको पेट्रोलियम उत्पादनमा सहकार्य गर्ने भए ।
सन् २००७ मा ‘बीपी’ पुनः लिबिया पस्यो । तर सन् २०११ को नेटोसमर्थित युद्धका कारण उसको काम ठप्प भयो । सो युद्धमा गद्दाफी मारिए ।
सन् २०१८ मा ‘एनओसी’ र इटालीको प्रमुख तेल कम्पनी ‘एनी’ बिच सम्झौता भएपछि ‘बीपी’ को काम सुचारु भयो । ‘एनी’ ले तेलको कुवा सञ्चालन गर्ने भयो । ‘बीपी’ का प्रमुख कार्यकारी बब डुड्ले सो सम्झौतालाई ‘लिबियामा काममा फर्किने’ दिशामा महत्वपूर्ण पाइला भने ।
दुई स्थानमा ‘बीपी’ र ‘एनी’ ले संयुक्त रूपमा ८ अर्ब डलर बराबरको आयोजना चलाउँछन् । एउटा आयोजना घदामिस घाटीमा र अर्को सिर्ते घाटीमा सञ्चालन गरिएको छ । ती आयोजनाहरूले करिब ५४ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् । सिर्ते घाटीले ओगटेको भूभाग बेल्जियमभन्दा ठूलो छ ।
बेलायतको प्रमुख तेल कम्पनी ‘शेल’ पनि लिबियामा ‘प्रमुख खेलाडीको रूपमा फर्किने तयारीमा छ’ । एक गुप्त दस्तावेजबाट उसको यो मनसाय खुलेको छ । लिबियामा सन् २०१२ मा आफ्नो काम केही समय थाती राखेपछि सो कम्पनीले अहिले नयाँ तेल र ग्यासका खानीहरू खोज्ने योजनामा छ ।

तेलका लागि घुस
गत वर्ष सेप्टेम्बरमा बेलायतको तेस्रो ठूलो तेल कम्पनी पेट्रोफेकले लिबियाको दक्षिण–पश्चिममा इराविन तेलको कुवा विकास गर्न सघाएकोमा १० करोड अमेरिकी डलर बराबरको पुरस्कार पायो । पेट्रोफेक तेल उत्खननमा इन्जिनियरिङको काम गर्ने कम्पनी हो ।
त्यसबेला बेलायतको गम्भीर ठगी कार्यालय (एसएफओ) ले पेट्रोफेकमाथि छानबिन गरिरहेको थियो । त्यसका एकजना कार्यकारी डेभिड लुफकिन सन् २०१९ मा नै ११ वटा भ्रष्टाचार मुद्दामा दोषी साबित भइसकेका थिए । ‘एसएफओ’ ले सन् २०११ र २०१७ बिच ७ वटा मुद्दामा पेट्रोफेकलाई जरिवाना तिराएको थियो । सन् २०१७ को घटना लिबियामा पुरस्कार पाएपछिको महिनाको हो ।
इराक, साउदी अरब र संयुक्त अरब इमिरेटमा तेलको ठेक्का हात पार्न सरकारी अधिकारीहरूलाई ३ करोड २० लाख युरो बराबरको घूस खुवाएकोमा उक्त कम्पनी दोषी साबित भएको थियो । ‘एसएफओ’ ले लेख्यो, ‘यी उच्च पदस्थहरूले घूस खुवाउन निकै पेचिलो र सावधानीपूर्ण उपाय अपनाएका थिए । उनीहरूले एजेन्ट र सहायक ठेकेदारहरूमार्फत घुस खुवाएका थिए । यसको लागि उनीहरूले नक्कली ठेक्काहरू दिएका थिए । केही ठाउँमा उनीहरूले एकभन्दा बढी एजेन्ट र देशलाई घूस खुवाएका थिए । आफ्ना कर्तुतहरू लुकाउन उनीहरूले यो उपाय लगाएका थिए ।’
इराक, अजरबैजान, ओमन र उत्तरी सागरलगायत विश्वका विभिन्न देश र स्थानमा पेट्रोफेकले ‘बीपी’ सँगै मिलेर काम गर्छ ।

बेलायत सरकारको साथ
लिबियामा पुनः प्रवेश गरिरहेका तीनवटै ठूला कम्पनीहरूको बेलायत सरकारसँग नजिकको सम्बन्ध छ । पेट्रोफेकले घूसहरू दिइरहेका वर्षहरूमा त्यसको नेतृत्व आइमन असफारीले गरेका थिए । उनले सन् २००९ देखि २०१७ बिच अनुदार पार्टीलाई मात्र ८ हजार युरो चन्दा दिएका थिए । डेभिड क्यामरुनले असफारीलाई सन् २०१४ मा आफ्नो व्यापारिक दूत नियुक्त गरेका थिए । असफारी हाल पेट्रोफेकका गैरकार्यकारी निर्देशक छन् ।
सन् २०१९ को मे महिनामामा पेट्रोफेकमाथि ‘एसएफओ’ ले छानबिन गर्दै थियो । त्यति नै बेला बेलायतको सरकारी विभाग ‘युकेइएफ’ ले ओमनस्थित उसको तेल प्रशोधन केन्द्रको डिजाइन र सञ्चालनको बिमा गरिदिएको थियो । त्यो परियोजनामा पेट्रोफेकलाई बेलायतको एक मात्र निर्यातकर्ता तोकिएको थियो ।
यो वर्षको जून महिनामा लिबियाको राजधानी ट्रिपोलीमा बेलायतको औपचारिक राजदूतावास पुनः स्थापना भयो । त्यसको प्रायोजन गर्ने पाँचवटा कम्पनीमध्ये एउटा पेट्रोफेक थियो ।
राजदूत क्यारोलिन हर्नडलले दर्शकहरूलाई भनिन्, ‘बेलायती व्यापारिक संस्थाहरूले लिबियाका कम्पनीहरूसँग सहकार्य गरेको र लिबियाको आर्थिक विकासमा अर्थपूर्ण प्रभाव पारेकोमा मलाई गर्व लागेको छ । आजको यो रात हामी ती संस्थाहरूलाई प्रतिनिधित्व गर्दै छौँ ।’
‘बीपी’ र ‘शेल’ बेलायत सरकारनिकट छन् । यी कम्पनीका उच्च पदस्थहरू प्रायः बेलायतका पूर्व अधिकारीहरू नै रहने गरेका छन् ।

तेलमाथिको नियन्त्रण
लिबियाले धेरै दुःख झेलिसकेको छ । नर्वे र अमेरिकापछि हाल लिबिया बेलायतको तेस्रो ठूलो तेलको स्रोत हो । बेलायतको कूल तेल आयातमध्ये ७.८ प्रतिशत तेल लिबियाबाट आउँछ । तेलबाट हुने आमदानी लिबियाको आर्थिक मेरुदण्ड हो । यसले अर्थतन्त्रमा ९० प्रतिशतभन्दा बढी योगदान गर्छ ।
नेटोसमर्थित युद्धका कारण तेलमाथिको नियन्त्रणलाई लिएर लिबियामा लडाइँहरू चलिरहेको छ । यसलाई ‘गडबडी’ वा ‘देशको बहुमूल्य सम्पदामा कसको नियन्त्रण हुने भन्ने विषयमा अस्पष्टता’ भनी उल्लेख गरिँदै छ ।
यो महत्वपूर्ण सम्पदामाथिको पहुँचका सम्बन्धमा शक्तिशाली देशहरूबिच तानातानको स्थिति रहेको छ । यसबिच बेलायती मन्त्रीहरूले लामो समयदेखि लिबियाको तेलमाथि पहुँच खोज्दै आएका छन् । तेलकै विषयमा काम गर्ने संस्था ‘प्लेटफर्म’ ले फेला पारेका दस्तावेजहरूले बेलायतका श्रम मन्त्रीहरू र उच्च अधिकारीहरूले सन् २००९ मा मात्र ‘शेल’ कम्पनीका हाकिमहरूसँग ११ चोटि भेटेका थिए । चार वर्षभित्रमा उनीहरूले लिबियामाथि उक्त कम्पनीको चासोलाई लिएर २६ चोटि छलफल गरेको ‘प्लेटफर्म’ ले जनाएको छ ।
प्रस्तुतिः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *