यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
साम्राज्यवादले सधैँ अन्य देशका सरकारहरूलाई नियन्त्रण गर्दै आएको छ । खासगरी ती देशका विदेश नीतिहरूमा नियन्त्रण गर्छ । यसमा अन्तर्राष्ट्रिय व्यापार, सेना, कूटनीति आदिमा लगाम लगाउँछ । ती देशको घरेलु नीतिहरूमा प्रायः अमेरिकाजस्ता साम्राज्यवादी मुलुकले उति ध्यान दिन्न ।
सन् १९९१ मा सोभियत सङ्घ विघटन हुनुअघि अमेरिकी साम्राज्यवादले युरोपेली उपनिवेशहरूलाई सैन्य अखडा र अमेरिकामा उत्पादिन मालसामानको बजारको रूपमा प्रयोग ग¥यो । ती देशलाई प्राकृतिक सम्पदा दोहन गर्न प्रयोग गरेन । त्यसका लागि ‘बनाना गणतन्त्र’ जस्ता सहायक देशहरू छँदै थिए । युरोपका देशहरू उपनिवेश नै हुन् किनभने संरा अमेरिकाले जुन देशको विदेश नीतिमा कब्जा जमाउँछ, ती अधीनस्थ देशलाई सधैँ ‘मित्र देश’ भन्दै आएको छ । ती देशका सैन्य अखडा प्रयोग गर्दै उसले आफ्नो साम्राज्य अझ टाढा फैलाउँदै जान्छ ।
सोभियत ‘खतरा’ हटे पनि अमेरिकाले सबैभन्दा बढी प्राथमिकता सैन्य अखडामा दिन्छ । रुसले प्रजातान्त्रिक संविधान अङ्गीकार गरे पनि अमेरिकाले युरोपेली सैन्य गठबन्धन नेटोलाई पनि अघि बढाइरहेको छ । (रुसको संविधान सम्भवतः युरोपकै सबैभन्दा प्रजातान्त्रिक संविधान हो ।) तसर्थ, सोभियत सङ्घको विघटनपछि संरा अमेरिका संसारकै प्रभुत्वशाली साम्राज्य बन्यो । सन् १९९१ यता अमेरिकाले युरोपलाई आफ्नो मालसामान र सेवाको सबैभन्दा ठूलो बजार बनाउने विषयलाई दोस्रो प्राथमिकता दिँदै आएको छ । २०१८ अक्टोबर ९ मा सेन्ट लुइ फेडरल रिजर्भ बैङ्कले एउटा रिपोर्ट छाप्यो । ‘अमेरिकी व्यापार घाटाका जराहरूबारे बुझाइ’ शीर्षकको सो रिपोर्टमा तीनवटा विषयमा जोड दिएको छ ः
१. अमेरिकी व्यापार घाटा र औद्योगिक रोजगारीमा कमी आउनुको प्रमुख कारण गहिरा आर्थिक परिवर्तनहरू हुन् ।
२. अन्तर्राष्ट्रिय सञ्चित मुद्राको रूपमा अमेरिकी डलरको भूमिकाले आयातीत मालसामानको घरेलु उपभोगमा खर्च गर्न सघाएको छ ।
३. श्रमको उत्पादकत्व र तुलनात्मक लाभ विकासशील देशहरूमा सरेको हुनाले औद्योगिक रोजगारीमा कमी आएको हो ।
अमेरिकी औद्योगिक रोजगारीहरू जर्मनीजस्ता देशमा नभई चीनजस्ता देशहरूतिर सर्दै छ । अल्पविकसित देशहरूमा उत्पादन हुनाले सस्तो श्रमका कारण अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूका मालिकहरू मोटाइरहेका छन् । (यिनै धनाढ्यहरूले अमेरिकी नेताहरू, सांसद र राष्ट्रपतिको खर्च चलाइदिन्छन् साथै अमेरिकी विदेश नीतिमा नियन्त्रण जमाउँछन् ।) अमेरिकी हतियारहरूले भने अमेरिकी औद्योगिक रोजगारीहरू जर्मनीलगायत देशहरूतिर सार्दै छ । यस्ता उद्योग चीनजस्ता देशतिर सर्दैनन् । उपभोग्य सामानको उत्पादन मात्र चीनतिर सरेको हो । लकहीड मार्टिनजस्ता हतियार कम्पनीहरू जर्मनीजस्ता देशतिर जान्छन् । जर्मनी अमेरिकाको अधीनस्थ देश हो । तर, चीन अमेरिकाको तारोमा परेको देश हो ।
माथिकै प्रतिवेदनमा निम्न अनुच्छेद पनि छ । राष्ट्रपति रिचर्ड निक्सनले साउदीका शासकहरूसँग मिलेर अमेरिकालाई सुनबाट तेलको स्तरमा झारेको यसमा उल्लेख छ । प्रतिवेदन भन्छ ः
बचत र लगानीमा तालमेल मिलेन । बचत अन्तर (बचत–लगानी) बढ्न थाल्यो र सन् १९७० को दशकमा झन्झन् ऋणात्मक भयो । स्वर्ण स्तरको अन्त्य भयो । यसको अर्थ अमेरिकामा निजी र सार्वजनिक ऋण थपिँदै गयो । चित्र नं. २ ले अमेरिकाको बचत–लगानी अन्तर १९७० को दशकको बीचबाट बढ्न थालेको र हालैका वर्षहरूमा फुल्लिएर ११० खर्ब डलर भएको देखाउँछ । यसको अर्थ यति नै आकारमा अमेरिकी मुद्रा र सरकारी ऋणपत्र विदेशमा छ ।
तसर्थ, वर्तमान अन्तर्राष्ट्रिय मुद्रा प्रणाली नै अमेरिकाको चालू व्यापार घाटाको मूल कारण हो । किनभने यो प्रणालीमा अमेरिकी डलर नै विश्वको मुद्रा सञ्चितिमा हावी छ र अमेरिकी सरकारको सुरक्षणलाई मूल्य भण्डारणको माध्यमको रूपमा हेरिन्छ ।
सुनमा आधारित ब्रेटन वुड्स प्रणाली कायम राखेको भए सुनको रूपमा अमेरिकी डलरलाई जथाभावी छाप्ने अमेरिकी क्षमतामा तगारो लाग्थ्यो । यसले अमेरिकी व्यापारलाई सन्तुलित गर्ने थियो ।
यसबाटै स्वर्ण स्तरको युग सकिनुभन्दा अगाडि ‘थपिँदो बचत अन्तर’ किन थिएन भन्ने कुरा यसैबाट थाहा हुन्छ । चित्र नं. २ ले अर्को सत्य पनि उजागर गर्छ । सन् २००१ यता ‘बचत अन्तर’ को रेखा निरन्तर खस्किरहेको छ ।
सन् २००१ मा त्यस्तो के भएको थियो ? त्यो वर्ष सेप्टेम्बर ११ को घटना भयो । विधिको शासन हटाउँदै अमेरिकी अर्थतन्त्रको चरम सैन्यकरण भयो । यसले अमेरिकी अर्थतन्त्रमा सैन्य उद्योगको महत्व एकाएक बढाइदियो । यसबाट युरोपेली सैन्य बजारको महत्व पनि बढ्न गयो । त्यसले गर्दा युरोपेली सैन्य उद्योगमा रोजगारी बढ्यो । सेप्टेम्बर ११ को घटनापछि केही समयलाई अमेरिकी हतियारका मुख्य खरिदकर्ता मध्यपूर्वका देशहरू भए । मध्यपूर्वी एसिया हाल अमेरिकी हतियार व्यापारीहरूको नाफाको दोस्रो ठूलो स्रोत हो । अमेरिकी करदाताहरूले जम्मा गर्ने ठूलो रकम हतियार उत्पादनमा अनुदान दिइन्छ । ओबामा सरकारले सुरु गरेको युक्रेन युद्धले शीतयुद्धलाई हतियार व्यापारको मौका बनाइदिएको छ ।
युरोपमा बेच्न अमेरिकाले उत्पादन गरेका हतियारहरू उसले चीनलाई बेच्न सक्दैन । शीतयुद्धको उपदान नेटो यूरो–अमेरिकी हो । युरोपेली सरकारहरूमाथिको पकड कसिलो पार्न तिनलाई खुला र निर्मम व्यवहार गर्नुपर्छ भन्ने अमेरिकालाई थाहा छ । (जस्तो युरोपमा रुसी ऊर्जा आपूर्ति गर्ने नोर्ड स्ट्रीम पाइपलाइन ध्वस्त पार्ने अमेरिका र बेलायतको संयुक्त कारबाही ।) यस्तै निर्मम व्यवहार उनीहरूले ‘बनाना गणतन्त्र’ हरूसँग गरेका थिए । युरोपका विभिन्न सरकारहरूलाई अमेरिकी आवश्यकता अनुसार नचाउन जेजस्तो गर्नुपर्छ संरा अमेरिकी ती सबै गर्छ । (जस्तो रुस र इरानविरुद्ध अमेरिकी नाकाबन्दीमा उसले ती सरकारहरूलाई आफ्नो इसारामा नचाएको थियो ।)

सेप्टेम्बर ११ को घटनाले अमेरिकी सैन्य शासन र बढ्दो हतियार व्यापारलाई ‘स्वाभाविक’ देखायो । धेरै वर्ष बित्दा पनि यो स्थिति मत्थर भएको छैन । सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बने । उनले पुरानो शीतयुद्धका शत्रुहरूलाई पुनः तारो बनाए । रुस र चीनविरोधी योजना र नीतिहरू बनाइयो । (टीटीआईपी, टीआईएसए, टीटीपी, राष्ट्रपति असाद र यानुकोभिचलाई सत्ताच्यूत गर्न खोज्नु, रुस तथा चीनसँग मैत्री राख्ने देशको नेतृत्व उल्ट्याउन खोज्नु आदि ।) यसको लागि युरोपलाई रुस र चीनविरोधी नीतिहरूतिर धकेल्न आवश्यक थियो । त्यसैले शीतयुद्धलाई नवीकरण गर्दै विश्वलाई टुक्र्याउनुपर्ने भयो । यसपालि ‘कम्युनिष्ट खतरा’ जस्तो कुनै वैचारिक बहानाबाजी गर्ने ठाउँ थिएन ।
युरोपलाई उद्योगविहीन बनाउनु नै यसको एक मात्र उपाय थियो । अहिले यही भइरहेको छ । युरोप झन्झन् अमेरिकाको ‘बनाना गणतन्त्र’ बन्दै छ । त्यसैले बाइडेन सरकार युरोपबाट औद्योगिक रोजगारी खोस्न कम्मर कसेर लागि परेको छ ।
अमेरिकी सरकार र उसका विभिन्न ‘थिङ्क ट्याङ्क’ ले तयार पारेका धेरै नीतिगत दस्तावेजहरू अमेरिकाको विश्व वर्चस्व फैलाउँदै लग्ने विषयमा केन्द्रित छन् । ‘आफूलाई फलिफाप, अरूलाई रित्तो हात’ बनाउने अमेरिकी उद्देश्यमा कही पनि फेरबदल आएको छैन । अमेरिका सफल बन्न ‘प्रतिष्पर्धी’ देखिने सबै देशहरू हार्नुपर्ने हुन्छ । (‘अधीनस्थ’ लाई मित्र भनेजस्तै संरा अमेरिका शत्रुलाई ‘प्रतिष्पर्धी’ भन्छ ।) यी सबैखाले देशहरूलाई अमेरिकाले नियन्त्रण गर्नुपर्ने हुन्छ ।
संरा अमेरिकाले रुसलाई बाहेक युरोपका अन्य देशलाई शत्रुको व्यवहार गर्दैन । तिनीहरूलाई बमबारीको तारो बनाउने धम्की दिन्न । बरु तिनलाई ‘मित्र देश’ भन्छ । त्यो भनेको ‘अधीनस्थ’ देश हो । ‘मित्र देश’ लाई उसले आफ्ना ‘प्रतिष्पर्धीहरू’ लाई पराजित गर्ने अन्तिम उद्देश्यको निम्ति खेलमैदान बनाउँछ ।
यसको अर्थ युरोप सैन्य अर्थमा अमेरिकाको ‘बनाना गणतन्त्र’ हो । अमेरिकाको बागडोर सम्हाल्ने शासकहरू नेटो बन्द गर्न सक्दैनन् । किनभने नेटो बन्द भए उनीहरूको खेल पनि सकिन्छ । रुस र चीनविरुद्ध कुनै अर्को युरोपेली सैन्य गठबन्धन बन्छ भने त्यो नेटोकै अर्को रूप हुन्छ । त्यसैले इमानुयल म्याक्रोँजस्ता केही नेताले राखेको यो प्रस्ताव समस्याको वास्तविक समाधान होइन । अमेरिकाको कसिँदो पासोबाट जोगिन युरोपले नेटो बन्द गर्नुपर्छ र अमेरिकी शासकहरूको भाउँतोमा लागेर रुससँग लड्ने होइन, बरु रुससँग मित्रता गाँस्नुपर्छ । समुन्नत भविष्यका निम्ति युरोपले युरेसियाली दृष्टिकोणमा जोड दिनुपर्छ किनभने युरोपेली दृष्टिकोण मरिसकेको छ । यसरी मात्र ‘पुरानो विश्व’ भविष्यको ‘नयाँ विश्व’ मा फेरिन सक्छ र विश्व शान्तिको शत्रु बन्नबाट उम्किन सक्छ । १९४५ जुलाई २५ तारिखयता अमेरिकी विश्व शान्तिको शत्रु बन्दै आएको छ । युरोप समस्याको समाधान बन्नुपर्छ, समस्या बन्ने होइन ।
(‘ग्लोबल रिसर्च’ बाट ।)
अनुवाद : सम्यक
Leave a Reply