अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालमा नयाँ सरकार गठनका लागि सत्ता समीकरणको लागि छलफल चलिरहेको छ । यहीबेला भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको तीव्र भेटघाट स्वाभाविक देखिइरहेको छैन । निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरु गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे । निर्वाचन आयोगले चुनाव सम्पन्न भएका दुवै तह प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि दलहरूले समानुपातिकतर्फ जाने सांसदको सूची अझै बुझाइसकेका छैनन् । अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबेला भारतीय राजदूत श्रीवास्तवको अस्वाभाविक दौडधुप बढेको छ ।
बुधबार बिहान करिब ११ बजे एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी बालकोटमा बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिएका र नयाँ सरकार गठनका विषयमा समेत चासो राखेका बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । राजदूत श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पटक भेट गरिसकेका छन् । निर्वाचनको मतगणना जारी रहेकै बेला गत १० मङ्सिरमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा नेपालको समसामयिक राजनीति र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो ।
सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मङ्सिरमा दोस्रोपटक भेट गरेका थिए । दोस्रो भेटमा देउवा डँडेलधुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । तर त्यसअघि उनी निर्वाचनको मत परिणामसमेत सार्वजनिक नहुँदै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार र प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट वान टु वान छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने अझै सार्वजनिक भएको छैन । भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ । राजदूतसँग भेट भएको भोलिपल्ट शनिबार बिहानै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए । त्यसपछि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बसेको गठबन्धनका दलहरूको बैठकले अहिलेका गठबन्धनलाई कायम राख्ने निर्णय गरेका छन् । यसले के वर्तमान सत्ता गठबन्धन भारतको इच्छा र निर्देशनबमोजिम भएको पुष्टि गर्दैन र ?
नेपालको आन्तरिक मामिलामा आवश्यकताभन्दा बढी चासो लिने र हस्तक्षेपको स्तरमा उत्रने भारतको पुरानो प्रवृत्ति रहेको छ । त्यसैले भारतीय राजदूतको अहिलेको सक्रियतालाई सामान्य चासो वा स्वाभाविक सक्रियतामात्र मान्न सकिएला र ? के नेपालमा कुन दलको नेतृत्वमा र कुन कुन दलको सहभागितामा सरकार बन्ने भन्ने कुराको निर्णय भारत सरकार वा भारत सरकारका एक प्रतिनिधिले गर्ने हो ? यसमा कूटनीतिक मर्यादा बिर्सेर नेपाली नेता भेट्ने भारतीय राजदूत जति दोषी छन् भारतीय राजदूतको सल्लाह र सुझावलाई देववाक्य मान्ने नेपाली शासक नेताहरू उत्तिकै जिम्मेवार छन् ।
Leave a Reply