भर्खरै :

देशभक्त र राष्ट्रवादीबिचको भिन्नता के हो ?

देशभक्त र राष्ट्रवादीबिचको भिन्नता के हो ?

नेपाल मजदुर किसान पार्टीका नेताहरूले विभिन्न सन्दर्भमा मन्तव्य दिँदा ‘देशभक्त’ शब्द प्रयोग गरेको तर अरू पार्टीका नेताहरूले ‘राष्ट्रवादी’ शब्द बोलेको सुन्दा दुवै शब्द पर्यायवाची भएर पनि यस्तो झिनामसिना कुरामा के अलमल गरिरहेको भनेझैँ धेरै साथीहरूलाई लागेको आभास तिनीहरूका अभियानबाट थाहा हुन्छ ।
हाम्रो देशमा यी दुई शब्दलाई समानार्थी शब्दको रूपमा प्रयोग गरेको पाइन्छ । यी शब्दहरूबिचको भिन्नता आम मानिसलाई थाहा नहुनु स्वभाविक पनि हो । हो, दुवै शब्दहरूले आफ्नो देशप्रति कुनै न कुनै प्रकारले गर्व गर्नुलाई जनाउँछ तर यी दुई शब्दावलीको बिचमा अविश्वसनीयरूपमा महत्वपूर्ण भिन्नता छ । त्यसो भए देशभक्त र राष्ट्रवादमा के फरक छ ? देशभक्ति र राष्ट्रवादीबिचको भिन्नता के हो ? तिनीहरूले लिन सक्ने विभिन्न रूपहरू र तिनीहरूले निम्त्याउन सक्ने परिणाम के के हुन् ? साथै तिनीहरूलाई कसरी सही रूपमा प्रयोग गर्ने भनेर हामीले बुझ्न जरुरी छ  ।
देशभक्त शब्द एउटा संज्ञा हो जसको अर्थ हो “आफ्नो देशप्रति समर्पित प्रेम, समर्थन र रक्षा, राष्ट्रिय निष्ठा ।” देशभक्ति शब्द पहिलोपटक सन् १७०० को सुरुवातमा प्रयोग गरिएको पाइन्छ । चाखलाग्दो कुरा के छ भने १७७० को दशकमा देशभक्त शब्दले “प्रतिरोध आन्दोलनको एक सदस्य, एक स्वतन्त्र सेनानी” लाई जनाइयो । यदि भारतको कुरा गर्ने हो भने स्वतन्त्रताको लागि गरिएको युद्धमा अङ्ग्रेजहरूविरुद्ध लडेकालाई देशभक्त मान्न सकिन्छ ।
यो शब्दले प्रायः राष्ट्रको रक्षासँग प्रत्यक्षरूपमा संलग्न व्यक्तिहरूलाई जनाउँछ । सेना र सार्वजनिक कार्यालयमा गरिने सेवालाई पनि देशभक्तको रूपमा लिन सकिन्छ । कूटनीतिज्ञहरू, शिक्षकहरू र अन्य धेरैले आफ्नो समुदायको सेवामा धेरै प्रकारका असल कार्यहरू देशभक्तको उदाहरण हुन सक्छ । आफ्नो घरमा आफ्नो देशको झण्डा प्रदर्शन गर्नेजस्ता गौरवका व्यक्तिगत कार्यहरू पनि देशभक्तिका उदाहरण हुन् ।

देशभक्ति वा राष्ट्रवाद कसरी प्रयोग गर्ने ?
यी शब्दहरू प्रयोग गर्दा सन्दर्भ र अर्थ दिमागमा राख्न महत्वपूर्ण हुन्छ । देशभक्तले सामान्यतया सकारात्मक अर्थ दिन्छ । विभिन्न सकारात्मक भावनाहरू, मनोवृत्तिहरू र आफ्नो देशलाई माया गर्नेमात्र होइन समस्त मानव जातिको भलाइको निम्ति गरिने कार्यहरूको लागियो शब्दको प्रयोग गरिन्छ ।
धेरैजसो सन्दर्भहरूमा राष्ट्रवाद भनेको “आफ्नै राष्ट्रको हितलाई अन्य राष्ट्रहरूको हित वा सबै राष्ट्रहरूको साझा हितहरूबाट अलग ठानिने नीति वा सिद्धान्त हो ।” छोटकरीमा राष्ट्रवाद एक प्रकारको अत्यधिक आक्रामक देशभक्ति हो । आधुनिक राष्ट्रवादको जरा केही हदसम्म फ्रान्सेली क्रान्तिहरूमा पाइन्छ जसले राजतन्त्रविरुद्ध आफ्ना जनताको सार्वभौमसत्ताको लागि लडेको थियो । यस ऐतिहासिक राष्ट्रवादलाई सामान्यतया पश्चिमी उदारवादको अनुकूलतामा पनि हेरिन्छ ।
जाति र धर्मको कुरा आउँदा फासिस्ट शासकहरूले राष्ट्रवादको जोशलाई श्रेष्ठताको धारणासँग विलय गरेका छन् । त्यस्ता सन्दर्भहरूमा ‘राष्ट्रवादी’ सँग सहमत नहुने ‘देशद्रोही’ बन्न सक्छन् । यसका उदाहरण भारतीय प्रधानमन्त्री मोदीको शासनमा थुप्रै भेटाउन सकिन्छ । राष्ट्रवादको यो रूप तब हुन्छ जब देशभक्ति पराकाष्ठामा पुगिन्छ अनि बहिष्करण र विखण्डनवादीमा रूपान्तरण हुन सक्छ । उदाहरणका लागि अमेरिकामा अध्यागमन र विदेश नीति राष्ट्रवादमा परिणत भयो जसअनुसार बेरोजगारी दर बढेकोमा आप्रवासीहरूलाई दोष लगाउने अमेरिकी राजनीतिक पार्टी रिपब्लिकनको कार्यलाई राष्ट्रवादी भनियो ।
यस्तो राष्ट्रवाद अतिवादमा परिणत हुन सक्छ जसले युद्धको लागि तयारी र आक्रामक विदेश नीतिलाई बढावा दिन्छ । यसले पृथकतावाद पनि निम्त्याउन सक्छ । अन्तर्राष्ट्रियरूपमा सहिष्णु हुन अस्वीकार गरेर आफ्नो देशलाई अन्य राष्ट्रहरूको मामिलाबाट अलग गर्ने सिद्धान्त राष्ट्रवादको रूपमा लिइन्छ । राष्ट्रवादको सामान्यतया नकारात्मक अर्थ हुन्छ । राष्ट्रवाद देशभक्तिको क्षय हो । देशप्रतिको साँचो माया राष्ट्रवादमा झण्डा फहराउने र नाराबाजीमा हराउँछ । राष्ट्रवादले देशको कुनै गल्ती छैन भनी दाबी गर्छ । तर, देशभक्तिले गल्ती स्विकारेर पनि देशलाई माया गर्छ । यसै कारण विश्व शान्ती र सम्पूर्ण मानव जातीको हित चाहने जोकोहीको लागि विश्वभर राष्ट्रवादको बढ्दो लहर चिन्ताको विषय पनि हो ।
देशलाई माया गर्ने एक सुन्दर व्यवहारिक दृष्टिकोण राख्नेलाई देशभक्ति मानिन्छ । फिनल्याण्डमा देशभक्त प्रकृतिसँग जोडिएको छ । जङ्गल, तालहरू र चट्टान जुन संसारको कुनै पनि परिदृश्त्र्न्दा बढी माया गरिन्छ । उनीहरूलाई जोगाउन जे गर्नुपर्छ त्यही देशभक्ति हो । उदाहरणका लागि कार्बन उत्सर्जनसम्बन्धी केही वातावरणीय नियमहरू देशभक्ति हो । भविष्यका सन्तती पनि यी सुन्दर जङ्गलहरूमा हिँड्न सक्षम होस् भन्ने चाहना राख्नु र ताजा हावामा सास फेर्न चाहना राख्नु देशभक्ति हो । यस अर्थमा कुनै पनि नेपालीलाई स्वास्थ्य उपचार, गाँसबासको दुःख नपरोस् भन्ने कुरा सुनिश्चित गर्नुलाई देशभक्ति मान्न सकिन्छ । आर्थिकरूपमा अशक्तहरूलाई सहयोग गर्न कर तिर्न इच्छुक हुनु देशभक्ति हो । राज्य गरिब हुन नदिने कुरा सुनिश्चित गर्नलाई देशभक्ति मान्न सकिन्छ ताकि वृद्धहरूका लागि निवृत्तिभरण, आगामी पुस्ताको लागि राम्रो कलेज, शिक्षाको लागि अनुदान र त्यहाँ बस्ने सबै मानिसहरूको स्वास्थ्य र कल्याण होस् भन्नु देशभक्ति हो । देशलाई बलियो बनाउन प्रतिभा, सीप र शिक्षित आप्रवासीहरूलाई स्वीकार गर्ने कार्य देशभक्ति मान्न सकिन्छ । अन्य राष्ट्रहरूका शरणार्थीहरूलाई स्वीकार गरी अन्तर्राष्ट्रिय भावना जगाउनु देशभक्ति हो । अर्थतन्त्र जति ठूलो हुन्छ त्यति नै विविध र प्रतिस्पर्धी हुन सक्छ । त्यसैले देशको अर्थतन्त्र बलियो हुँदै गएको देख्न चाहनेलाई देशभक्तिको रूपमा लिन सकिन्छ । आफ्नो सिमानाभित्रका प्रत्येक व्यक्ति, नागरिक होस् वा नहोस्, जातीयरूपमा नेपाली हो भन्ने कुराको ख्याल गर्नुलाई देशभक्ति मान्न सकिन्छ ।
आलोचनात्मक सोच राख्ने शिक्षित व्यक्तिहरूमाथि शङ्का गर्ने र विचारहरूदेखि डराउनेलाई देशभक्ति ठानिँदैन । त्यस्ता विचारलाई प्रतिगामी सोच मानिन्छ । यस अर्थमा स्वभावैले कम्युनिस्टहरू देशभक्त हुनुपर्छ । तर, क्षणिक राजनीतिक लाभको नाममा जनताको मनोभावलाई गलत तरिकाले प्रयोग गर्दै, नेपालका कम्युनिस्टहरूले सिद्धान्तलाई चटक्कै छोडेर राष्ट्रवादको नारा अलाप्दै गर्दा ‘देशभक्त राष्ट्रवादको ठीकविपरीत हो, राष्ट्रवाद भनेको देशभक्तको विश्वासघात हो’ भन्ने हालैमात्र दक्षिणपन्थीको रूपमा चिनिने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन समेतको यस्तो स्पष्ट दृष्टिकोण गज्जबको छ । हाम्रो देशमा ठूला पार्टीका नेताहरूले नै देशभक्त र राष्ट्रवाद शब्दलाई पर्यायवाची शब्द मान्नु विडम्बना नै हो । यस अर्थमा मतको हिसाबले सानो पार्टी भएर पनि नेपाल मजदुर किसान पार्टीका नेताहरूको धारणा प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *