भर्खरै :

अब कसको प्रधानमन्त्री ?

अब कसको प्रधानमन्त्री ?

विस्तारवादी भारतको असन्तोष स्वरूप नाकाबन्दी व्यहोरेर कार्यान्वयनमा आएको गणतान्त्रिक संविधानले दोस्रो संसद् पाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकोले अब केन्द्रीय सरकार र प्रदेश सरकारहरू गठनको चरणमा पुगेको छ । निर्वाचनमा हामीले हाम्रो सरकार रोजेको सबैलाई भान छ । तर, विगतलाई नियाल्दा हामीले हाम्रो शासक चयन ग¥यौँ कि कसैका प्यादा ? यो चिन्ता र आशङ्काको पारो अहिले क्रमशः बढ्न थालेको छ ।
शेरबहादुर देउवालाई पहिलो पटक प्रमको पद तत्कालीन संरा अमेरिकी राजदूत जुलियाको सल्लाह, कृपा, निर्देश वा आदेशबाट प्राप्त भएको थियो ।
त्यस्तै, बाबुराम भट्टराईलाई प्रम पद भारतको रोजाइ र चाहनाले प्राप्त भएको तथ्य पनि जगजाहेर छ ।
अब कसको प्रधानमन्त्री ? नेपालीको कि विदेशीकै ? प्रममात्र होइन विभिन्न मन्त्री, मुख्यमन्त्रीदेखि विभिन्न निकायका प्रमुख पदसमेत कतिपयले आफ्नो योग्यता र क्षमताले होइन विदेशी शक्तिको रोजाइ र सल्लाहमा नियुक्त हुने गरेको तथ्यबाट ‘सार्वभौमसत्ता निहित नेपाली जनता’ अनभिज्ञ छैनन् ।
पदमा पुग्ने इच्छा र लालसा धेरैको हुन्छ । अहिले पनि विभिन्न दलमा प्रमदेखि मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मका आकाङ्क्षीहरूको चर्चा पत्रपत्रिकामा भइरहेको छ । ती आकाङ्क्षीहरूले आ–आफ्नो दलमा दाबी राखून्, छलफल र बहस गरून्, झगडा पनि गरून् – यसलाई आकाश नै खस्ने कसैले नठानोस् । पुँजीवादी पार्टीहरूमा त्यस्तो खैलाबैला सधैँ हुने गरेकोले धेरै सामान्य ठानिसकेका छन् । तर, त्यसको टुङ्गो वा निक्र्योल विदेशीको इसारा र सल्लाह, टेलिफोन र दूतको भेटघाटबाट नहोस् – यो जनअपेक्षा हो । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताका शासक र हाकिम कुनै विदेशी शक्तिका प्यादा नहोस् । तर, जनताको चाहनाविपरीत पञ्चायतकालदेखि मात्र होइन राणा शासन र त्यसको अन्त्य हुँदादेखि नै विदेशी शक्तिको चाहना र रोजाइले प्राथमिकता पाउँदै आएको छ । झन्डै परम्परा बनेको त्यो चलनले निरन्तरता नपाओस् । यो समयको आवश्यकता हो । देशको मान र जनताको सम्मान, स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रको गरिमाको लागि सबै गम्भीर र सचेत हुन विलम्ब गर्नु द्योतक हुनसक्छ । यसको चिन्तन सत्तामा जाने दलहरूका प्रत्येक इमानदार नेता र कार्यकर्ताले गर्ने आशा छ । यसतर्फ देशका सच्चा बौद्धिक जगत र पत्रकारिता क्षेत्र पनि त्यतिकै गम्भीर हुनु आवश्यक छ किनभने बिकेका बुद्धिजीवी र पत्रकारले यो जिम्मेवारी निर्वाह गर्ने छैनन् ।
देश र प्रदेश हाँक्ने पदमा नेपाल र नेपालीका नेतामात्र पुगून् भन्ने जन चाहना हुँदाहुँदै पनि चर्चामा आएका वा आकाङ्क्षीहरूमध्ये कतिपयलाई जनताले औँला ठड्याएका छन् । पहिरन वा नाम नेपाली भए पनि विदेशभक्तिका प्रतिस्पर्धी छन् । तिनीहरूको मन–मस्तिष्क स्वदेश र स्वदेशीभन्दा विदेश र विदेशीप्रति अन्धभक्त छन् । शासन सत्तामा त्यस्ता व्यक्ति पुग्नु नेपाल र नेपालीको निम्ति दुर्भाग्य हुनेछ । के आजका नेपालीले पनि विगतमा झैँ भाग्यलाई दोष दिएरमात्र बस्लान् कि दुर्भाग्यलाई सौभाग्यमा बदल्न आफ्नो शक्ति देखाउलान् ? समयले बताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *