भर्खरै :

शिक्षालाई उत्पादन श्रमसँग मिलाउन ख्वप विश्वविद्यालय

भक्तपुर, २९ मङ्सिर । “शिक्षालाई उत्पादन श्रमसँग मिलाउन ख्वप विश्वविद्यालय आवश्यक छ । भक्तपुर नगरपालिकाबाट सञ्चालन भइरहेको ख्वप कलेज र इन्जिनियरिङ कलेजका विद्यार्थीहरू विषयवस्तुमा सक्षम भएको सूचना प्राप्त भइरहेको छ । शैक्षिक क्षेत्र, सम्पदा संरक्षण र आर्थिक अनुशासनमार्फत भक्तपुरका जनताले देशको सेवा गर्दै छन् ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सिद्धि स्मृति महिला तथा बाल अस्पतालद्वारा आयोजित नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई बिहीबार भएको बधाई कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
अतिथि बिजुक्छेँले मेडिकल कलेजको लागि आवश्यक प्राध्यापकहरू विदेशी मित्रहरूबाट पनि सहयोग प्राप्न गर्न सकिने उल्लेख गर्दै २०७२ सालको भूकम्पको बेला पनि क्युवाका चिकित्सक र स्वास्थ्यकर्मीहरूबाट सहयोग प्राप्त भएको स्मरण गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले कुनै पनि पार्टीका कार्यकर्तालाई फुटाएर ल्याउने गलत काम नगरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले शासक दलहरूले नेमकिपाका कार्यकर्ताहरूलाई लोभ देखाएर फुटाएको हुँदा ती पार्टीहरू गतिला नभएको र आगोसँग खेल्ने र पानीसँग खेल्ने ती पार्टीहरू आगो र पानीमै मर्ने स्पष्ट गर्नुभयो ।
पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसद्मा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र ऊर्जामा जोड दिने तथा सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएका शासक दलहरूको डटेर विरोध गर्ने बताउनुभयो ।
उहाँले निःशुल्क स्वास्थ्य उपचार जरूरी भएको उल्लेख गर्दै नेपालमा उपचारको लागि घरखेत बेच्नु पर्दा बर्सेनि ५ लाख मानिस गरिबीको रेखामुनि आइरहेको तर्फ शासक दलहरू सचेत नभएको उल्लेख गर्नुभयो ।
पार्टीका बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि मन्तव्य दिनुभएको कार्यक्रममा अस्पतालका अध्यक्ष श्यामसुन्दर धौभडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *