भर्खरै :

विदेशी खाद्यान्नको भरमा देश समृद्ध नहुने

विदेशी खाद्यान्नको भरमा देश समृद्ध नहुने

भक्तपुर, २९ मङ्सिर । निर्वाचन परिचालन समिति भक्तपुर नपा वडा नं. २ र ३ को संयुक्त आयोजनामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा अत्यधिक बहुमतले विजयी हुने नेपाल मजदुर किसान पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम नेमकिपाका सचिव तथा प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रेम सुवालको आतिथ्यमा सम्पन्न भयो ।
सांसद सुवालले विदेशी खाद्यान्नको भरमा देशको समृद्धि नहुने भएकोले देशमै युवाहरूलाई रोजगार दिएर खेती किसानी गराउनुपर्ने तथा आवश्यक कृषि उपकरण र रासायनिक मल कारखाना खोल्नुपर्ने औँल्याउनुभयो । देशलाई समृद्धिको बाटोतर्फ लग्न नदीनाला विदेशीलाई बेच्न नहुने, जमिन सिञ्चित गर्ने तथा विद्युत् उत्पादन बढाउनुपर्ने उहाँले बताउनुभयो ।
विश्वविद्यालयबाट अध्ययन अनुसन्धानमा जोड दिई देशको आवश्यकता अनुकूल प्रविधिहरू विकास गर्नुपर्ने भएकोले त्यस्तो आवश्यकता पूर्तिको लागि ख्वप विश्वविद्यालय अपरिहार्य रहेकोले स्थापनाको लागि सङ्घर्ष जारी रहने उहाँले बताउनुभयो ।
संसद्मा विगतमा देश र जनताको लागि चुँसम्म नबोल्ने, विदेशी दलालको सेवा गर्ने, भ्रष्टाचारी, हत्या आरोपी तथा गैरसरकारी संस्थाका भक्तहरू नै पुनः निर्वाचित भएर आएकाले जनताले अहिले पनि कुनै आशा राख्न नसकिने उहाँले बताउनुभयो । जन्मको आधारमा वंशजको नागरिकता दिन नहुने र सिनेमाको टिकटजस्तो नागरिकता सस्तो बनाउन नहुने भएकोले नागरिकता विधेयकको विरोध गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । नेपाली जनता स्वाभिमानपूर्वक बाँच्ने हो भने कुनै देशको भाडाको सिपाही हुनुहुँदैन, गोर्खा भर्ती केन्द्र तत्काल बन्द गरी आफ्नै देशको सीमा सुरक्षामा लगाउनुपर्छ, उहाँले औँल्याउनुभयो ।
प्रदेशसभा भक्तपुर क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा जनताको आवाज सुन्ने देशभक्त पार्टी भएको बताउनुभयो । कुनै गलत आश्वासन नदिई राजनैतिक संस्कार, विचार र चेतना दिने काम नेमकिपाले गरेजस्तै सबै राजनीतिक दलले अपनाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
देशलाई अस्थिर बनाइरहने कामहरू विदेशी शक्तिहरूबाट भइरहेको उहाँले बताउनुभयो । “देश रहे हामीले राजनीति, विकास तथा योजनाहरू बनाऔँला, देशै नरहे केको राजनीति र विकास ¤ त्यसैले राजनीतिक पार्टी तथा कार्यकर्ताले देशघाती विधेयक तथा दलाल शक्तिहरूको विरोध तथा भत्र्सना गर्नुपर्छ” उहाँले भन्नुभयो ।
पर्यटन व्यवसायी तथा राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले नेमकिपाले विगतमा प्रतिनिधिसभा र प्रदेशसभामा खेलेको सशक्त भूमिकाको कारण भक्तपुरका जनताले नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मत दिएको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले विगतमा जस्तै आगामी दिनहरूमा नेमकिपाले संसद्मा देश र जनतालाई केन्द्रमा राखेर नीति निर्माणमा योगदान गर्नुहुने अपेक्षासहित बधाई ज्ञापन गर्नुभयो ।
निर्वाचन परिचालन समिति वडा नं. २ का संयोजक रवीन्द्र खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडाका ज्येष्ठ नागरिक बेलभक्त कायष्ठले बधाई ज्ञापन गर्नुभएको थियो ।
विभिन्न उद्योगी, व्यवसायीहरूबाट बधाई दिइएको उक्त कार्यक्रममा निर्वाचन परिचालन समिति वडा नं. ३ का संयोजक रामसुन्दर खाताखो र राजन जतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *