भर्खरै :

आदरणीय गुरु अभि सुवेदीले बालबालिकाको नाममा लेखेको खुला पत्र

आदरणीय गुरु अभि सुवेदीले बालबालिकाको नाममा लेखेको खुला पत्र

प्यारा भाइबहिनीहरू,
नमस्कार !
तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठूलाको अर्ती र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्क लाग्दा पनि हुनसक्छन् । तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामथ्र्य लुकेका हुन्छन् ।
हामी सबैको पहिलो गुरु भनेकै आमा हुन् । उनको अर्ती सधैँ शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहीँ प्रभावले आज पनि झन्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेकखाले मान्छे बस्छन् । कोही गलत बाटोमा हिँडिरहेका हुन्छन् । ती गलत मानिसको सङ्गत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।
म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरीथरीका शैक्षिक सामग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर, मोबाइल, टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो ।
मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ ।
लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टीभीमा के हेर्ने भन्नेबारे आफूभन्दा ठूलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा, दया र कल्याणका कथा हेर्नुपर्छ । संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने ग¥यो भने तिमीहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यको दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समूह बनाएर खेल्नुपर्छ । प्रकृृति पनि एउटा पाठशाला हो । त्यसकारण, घर र विद्यालय हाता बाहिरको वातावरणबारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ । कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भनेमात्रै उपयोगी हुन्छ ।
किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठूला कक्षामा जस्तोसुकै सूत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएका बखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।
पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदिबाट प्राप्त रूपैयाँ, खेलौना, लुगाकपडाजस्ता सामानमा भरसक खर्च गर्नुहुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठूलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाइब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौँ देशी–विदेशी किताब छन् । मैले घरैमा पढ्न सुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएको किताब पनि मेरो घरको लाइब्रेरीमा छन् । आजकल मेरो कोठा कक्षाकोठाजस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरु र साथी भएका छन् ।
तिमीहरूको उमेर जीवनको सुरुवाती अवस्था हो । यस्तो ऊर्जाशील समयमा कुनै पनि कुराले दुःखी र विचलित हुनुहुँदैन । हामीले आफ्नो समयमा केही नयाँ र असल काम गर्न सक्यौँ भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुचि खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ ।
तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *