यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भोकको वेदना !
अँध्यारोले छोपिएको
कुहिरोले ढाकिएको
पुसको जाडोमा
कामिरहेको जीर्ण शरीर लिएर
जीवनको अँध्यारो सडकमा
न गाँसको प्रबन्ध, न वासको ठेगाना ।
अत्यासलाग्दो व्यथा लिएर
बेवारिसे भोकमा डुबेका जीवनहरू
उदास उजाड फुटपाथमा
सुतेका छन् झुत्रो बोरामा ।
अनि घाउ घाउबाट उठेका
बेदनाहरूको अभियानले
उत्पीडनका आवाजहरू गुञ्जिरहेका छन्
यो अभावै अभावले घेरिएको बस्तीमा ।
मरी मरी बाँचिरहेका
यो पवित्र भूमिका पुत्रपुत्रीहरू
यो भोकमा डुबेका आँगनमा
आशाको दियो बालेर
यो जनयुगका निमुखाहरू
उज्यालोको प्रतिक्षामा छन् ।
………
मुक्तिको आवाज !
कुटो, कोदालो, हँसिया, मुङ्ग्रोका पसिना
प्रत्येक गोदामभित्र हजारौँको श्रमको मोती दाना
असत्य जम्मै बटुलेर भुँडी भरेकाहरूले चुसिराखेको
आफ्नो रगत पसिना फिर्ता लिन विद्रोह गरिरहेकाहरू ।
यो वर्तमानमा
विरोधको आवाज उठिरहेको बस्तीमा
घाउघाउबाट निस्केका स्वरहरू गुञ्जिरहेका छन् यहाँ ।
आफ्नो स्वार्थको शिकार गर्नेहरूको अन्यायको विरोधमा
मर्का असन्तुष्टि र अभावहरूको
विस्फोटनका मागहरू उठिरहेका छन् ।
मरी मरी बाँचेर माटोमा लडिबुडी काम गरिरहेकाहरू
पाखा पर्वत चढेर दुःखकष्ट भोगिरहेकाहरूको
एक एक झुपडीबाट निस्केको आवाजले
युगान्तकारी परिवर्तनको ज्वाला देखापर्छ ।
मुटुभरि आगो ओठभरि ज्वाला बोकेर आएकाहरूको
मुक्तको आवाजले उन्मुक्त भएर निस्केका शक्तिले
यो अँध्यारोपथलाई उज्यालो पारेर
भोलिको उदाउँदो सूर्यलाई पर्खिरहेका छन्
यो आकाश, यो धर्तीमा ।
Leave a Reply