भर्खरै :

भक्तपुरमा पुस ५ बाट नगरस्तरीय खेलकुद प्रारम्भ

भक्तपुरमा पुस ५ बाट नगरस्तरीय खेलकुद प्रारम्भ

भक्तपुर, ४ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा पुस ५ गतेदेखि ९ गतेसम्म पाँचदिने विद्यालयस्तरीय नगरव्यापी खेलकुद प्रतियोगिताको उद्घाटन आज नःपुखुस्थित सहिद स्मृति खेलमैदानमा हुन गइरहेको छ ।
उक्त खेलकुद प्रतियोगिताको ¥याली र उद्घाटनमा भाग लिन भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्रका नगरवासी, विद्यालय, टीम, क्लव, पुस्तकालय तथा विविध सङ्घसंस्थालगायत खेलप्रेमीहरूलाई दत्तात्रय क्षेत्रमा उपस्थितिको लागि अनुरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा खेलसँग आवश्यक रेफ्री र प्रशिक्षकजस्ता जनशक्ति उत्पादन र तयार गर्ने उद्देश्यसहित विद्यार्थीहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्ने प्रयासस्वरुप सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
भक्तपुर नगरपालिकाले उक्त प्रतियोगिता मर्यादित तरिकाले सम्पन्न गर्न गत कार्तिक १ देखि ६ गतेसम्म विद्यालयमा अध्यापनरत शिक्षक तथा खेलकुद शिक्षकहरूलाई हप्ता दिन दैनिक खेलको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएको थियो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने उक्त खेलकुद प्रतियोगितामा स्थानीय परम्परागत खेल कसिमला पाँय्देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलहरू जस्तै बुद्धिचाल, फुटसल, भलिबल, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, उसु, तेक्वान्डो, पोर्टबल, कराँते, एथलेटिक्स, जिम्नास्टिक, खोखो गरी १४ वटा खेलहरू रहेका छन् ।
उक्त विद्यालयस्तरको प्रतियोगितामा भक्तपुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विभिन्न विद्यालयका विद्यार्थीहरूले १४ वटा खेलहरूमा सहभागिता जनाएका छन् ।
भक्तपुर नगरपालिकाले विभिन्न वडामा नजिकका विद्यालयलाई विद्यार्थीको नाम दर्ता गर्ने सुविधा दिएको छ भने विभिन्न वडाका खेलकुद समिति, विद्यालय र कभर्डहलले संयोजन गरेको सो खेलकुद प्रतियोगितामा निवृत्त शिक्षक समाज भक्तपुरले स्थानीय खेल कसिमला पाँय्को संयोजन गर्ने जनाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनपश्चात् आफ्नो प्रतिबद्धताअनुसार विभिन्न खेलको प्रशिक्षणसँगै खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गरी भक्तपुरको मात्रै नभई देशको नाम संसारभर चिनाउन प्रत्येक वर्ष अन्तर नगरव्यापी तथा अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
विद्यालय तहदेखि नै खेलकुद गतिविधि बढाउने उद्देश्यले २०७४ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ३८ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न ८ वटा खेलमा सहभागिता जनाएका छन् । २०७५ साल कार्तिक ११ देखि १७ गतेसम्म सञ्चालन भएको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा १३ वटा खेलकुदमा ७० वटा विद्यालयका १८१८ भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्न र सार्वभौमिकता रक्षा गर्ने देशभक्त नागरिक तयार गर्ने उद्देश्यअनुरुप खेलकुदलाई प्राथमिकतामा राखी भक्तपुर नगरपालिकाले विविध खेलकुद प्रतियोगिता र खेलाडीहरूको उत्साह बढाउन भनपाको तर्फबाट जिल्लाभरिका राष्ट्रिय खेलहरूमा पदक प्राप्त गर्ने तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी, वर्षको उत्कृष्ट खेलाडी, रेफ्री र प्रशिक्षकहरूलाई सम्मान गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले खेलकुदको स्तर वृद्धि गर्न नगरभित्र उपलब्ध सहिद स्मृति खेल मैदान र महेश्वरी खेलमैदान, विभिन्न कभर्ड हल निर्माण र व्यवस्थित विकासको योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *