आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
नाटोको बैठक
मङ्गलबार ट्रम्पको टोली ब्रसेल्स पुग्यो । त्यहाँबाट बेल्जियम, युरोपेली युनियन र नाटोका लागि अमेरिकी राजदूतहरूसँगै गाडीमा निस्के । गाडीमा उनले हचिसनले एक अन्तर्वार्तामा ओबामा प्रशासनकी दूतले जस्तो विचार राखेको बताए । ट्वीटमा राखेको विचार उनले त्यहाँ पनि राखे ।
बुधबार बिहान पत्रकार भेटघाटमा पनि ट्रम्पले जर्मनी रुसको कब्जामा गएको, कमाएको पैसाजति रुससँग ग्यास र तेल किनेर रुसलाई नै पोसेको र नाटोमा कम खर्च दिएको, अमेरिकाले मात्र धेरै पैसा हालेको, त्यसैले युरोप अमेरिकाको ऋणी रहेको बताए । त्यहाँ स्तोल्टेनबर्ग, म्याटिस, पोम्पेओ, केली, हचिसन र बोल्टन पनि उपस्थित थिए । भेटघाटपछि स्तोल्टेनबर्गले खाजामा ट्रम्पलाई स्वागत गरे । त्यसलाई बेवास्ता गर्दै ट्रम्पले नाटोमा युरोपले गरेको खर्च खर्च नै होइन भने । नाटो मुख्यालयको भव्य भवन बनाउनमा भन्दा हतियारमा खर्च गर्नुपथ्र्यो भनेर शब्दवाण हाने । नाटोले अमेरिकालाई भन्दा युरोपलाई लाभ दिइरहेको उनले अर्को ‘कच्चा’ तर्क गरे । स्टोल्टेनबर्गले बिचबिचमा आफ्नो कुरा राख्न खोजे, तर सकेनन् । ट्रम्पले युरोपेली युनियनका राष्ट्रपति जँ क्लुद युंकरलाई अमेरिकाविरोधी भने । उनले अमेरिकाले नाटोलाई दिँदै आएको खर्च घटाउने कुरा सार्वजनिक गरे । यसबिच रक्षामन्त्री म्याटिसले नाटोको प्रतिरक्षा गर्न खोजे । ट्रम्पले उनलाई बोल्न दिएनन् ।
खाजाकै क्रममा ट्रम्प जर्मनी र म्यासिडोनियाजस्ता देशहरूमाथि खनिए । उनीले ‘कुनैकुनै देशहरूविरुद्ध तेस्रो विश्वयुद्ध लड्नुपर्ने’ बताए । युरोपेली युनियनका देशहरूले पिठ्यूँपछाडि अमेरिकालाई खिसी गर्ने गरेको बताए । युक्रेनको विषयमा कुरा मोडिँदा उनले युक्रेन नाटोको सदस्य नभएको तर निकै भ्रष्ट देश भएको बताए । रक्षामन्त्री म्याटिसले बोल्टनसँग खुसुक्क ट्रम्पको कुरालाई “मूर्ख वार्तालाप” भने । त्यसपछि सबैजना नाटोको मुख्यालय गए । त्यहाँ बेलायती विदेशमन्त्री जेरेमी हन्टले छोटो टिप्पणी गरे । उनले भने, “केही नेताहरू छोटो बोल्छन्, कोही बोल्दैनन् । तर, दुइचार मिनेटमै मान्छे चिनिन्छ ।”
नाटोको बैठक सुरु भयो । जी–७ को अनुभवले हुनुपर्छ महासचिव स्तोल्टेबर्गले पछि हस्ताक्षर गर्नुपर्ने वक्तव्य सुरुमै पढेर सुनाए । सुरुको मन्तव्य ट्रम्पले दिए । दुईपक्षीय बैठकमा ट्रम्पले जर्मन चान्सलर एन्जेला मार्केललाई भेटे । मार्केलले ‘जर्मनीलाई रुसले पूर्णतः नियन्त्रण नगरेको’ बताइन् । त्यसपछि उनले पुटिनको विषयमा ट्रम्पलाई प्रश्न गरिन् । ट्रम्प केही बोलेनन् । बरु उनले कार र ट्रकहरूमाथि थप कर बढाउने सोचेको बताए । जर्मनीले आफ्ना कार र ट्रकमाथि अमेरिकाले लगाउने भन्दा चार गुणा बढी कर लगाएको बताए । म्याक्रोँसँगको भेटमा ट्रम्पले “अमेरिकी गुप्त कुरा बाहिर चुहाएको” आरोप लगाए । म्याक्रोँ हाँसे मात्र । म्याक्रोँले चीन–अमेरिका व्यापार युद्धमा रुचि लिए । ट्रम्पले युरोपको हकमा ट्रक र कारमाथि केवल २५ प्रतिशत कर लगाउने आश्वासन दिए । म्याक्रोँले इरानसँग अप्रिलमा गरेको दुइपक्षीय विस्तृत सम्झौताबारे बताए । ट्रम्पले चासो लिएनन् ।
बिहीबार बोल्टनलाई ट्रम्पले फोन गरे र दिउँसोको बैठकमा केही ठूला गर्नुपर्छ भने । बोल्टनले आफ्नो सुझाव बताए, “हामी नाटोलाई सम्मान गर्छौँ । तर, हामीसँग रुखो व्यवहार भएको छ । जनवरी १ सम्ममा सबै देशहरूले जीडीपीको २ प्रतिशत दिनुपर्छ, बक्यौता मिनाहा गरिनेछ । नत्र हामी नाटोबाट बाहिरिनेछौँ । रुससँग नभिड्ने भए हामी नाटोमा जान्नौँ । तर, नाटो देशहरूले रुसलाई अर्बौँ डलर तिरिरहेका छन् । नर्ड पाइपलाइन सम्झौता गर्ने हो भने हामी नाटोबाट बाहिरिनेछौँ ।” बोल्टनले ट्रम्पको मनोदशाबारे पोम्पेओ र म्याटिसलाई खबर गरे । यत्तिकैमा ट्रम्प उनीहरू बसेको ठाउँमा आए । उनले स्पष्ट भने, “केही ऐतिहासिक गर्ने हो ? हामी निस्कौँ । तिनीहरूले पैसा तिरिरहेको शक्तिसँग हामी लड्न सक्दैनौँ ।”
त्यसपछि सबैजना नाटो मुख्यालयतिर लागे । त्यहाँ अक्षरको क्रमअनुसार बस्ने कुर्सी मिलाइएको थियो । ट्रम्प सिधैँ गएर स्तोल्टेबर्ग र मार्केलबिच बसे । उनले बोल्टनलाई ‘निस्किने ?’ भन्ने इसारा गरे । बोल्टनले उनीहरूबाट खर्च झार्दा हुने निस्किने वा अमेरिकी बजेट कटौती नगर्ने भने । ट्रम्पको बोल्ने पालो आयो र उनले सारमा बोल्टनकै दृष्टिकोण बताए ।
ट्रम्पले भने, “अमेरिका नाटोलाई महत्वपूर्ण मान्छ । मार्केलप्रति सम्मान छ । मेरा बुवा जर्मन हुनुहुन्थ्यो । तर जर्मनीले नाटोमा जीडीपीको १.२ प्रतिशत मात्र दिइरहेको छ । सन् २०२५ सम्ममा १.५ प्रतिशत पु¥याउने भन्दै छ । गरिब देश हुन्थ्यो भने अर्को कुरा हो । यी देशहरू धनी देश नै हन् । अमेरिका युरोपको रक्षा गर्न चाहन्छ तर युरोपेली युनियनले अमेरिकी मालसमान स्वीकार गर्दैन । युरोपेली युनियनले जथाभावी आप्रवासी स्वीकार्नु ठिक छैन । खासगरी युवाहरू शत्रुका लडाकुहरू हुन सक्छन् ।”
ट्रम्पले भन्दै गए, “नाटो र महासचिवलाई सम्मान गर्छौँ । नाटो सदस्यहरू रुसमाथि आर्थिक प्रतिबन्ध लगाउन चाहन्छन् । तर, ज र्मनीले नर्ड स्ट्रीम २ लाई अर्बौँ डलर दिँदै छ, सर्पलाई दुध खुवाउँदै छ । अमेरिका युरोपलाई असल साझेदार बनाउन चाहन्छ । त्यसको लागि जर्मनी लगायत सबै सदस्यहरूले जनवरी १ सम्ममा नाटोलाई जीडीपको २ प्रतिशत दिनुपर्छ । युक्रेनको हकमा त्यसले युरोपलाई रुसबाट सुरक्षित राख्ने हो, अमेरिकालाई होइन । म खुसी छैन, त्यसैले यो बैठकपछि सबै खुसी भए भन्ने सन्देश मिडियामा जानु हुन्न ।”
केही मिनेटपछि एजेन्ला मार्केलले ट्रम्पले उठाएको विषयमा एउटा गोप्य गोलमेच बसौँ भनिन् । त्यो बैठकमा युरोपेली देशहरूले आआफ्ना घरेलु समस्याहरू देखाएर २ प्रतिशत दिन नसक्ने बताए । चेक गणतन्त्रका प्रमले आफ्नो देशको आर्थिक वृद्धि तीव्र हुनाले २०२४ अगाडि २ प्रतिशत रकम नाटोलाई दिन नसक्ने बताए । ट्रम्पले तुरुन्तै प्रतिवाद गरे । अमेरिकाको वृद्धिदर झन् तीव्र हुनाले अमेरिकाले पनि २ प्रतिशतभन्दा घटाउनुपर्ने भयो – उनको तर्क थियो । ट्रम्पले फेरि पनि नर्ड स्ट्रीम २ पाइपलाइनको विषय उठाए । शत्रुसँग व्यापार गरिरहेका देशहरूलाई अमेरिकाले कसरी रक्षा गर्ने ? उनको प्रश्न थियो । समग्र बैठकलाई ट्रम्पले आफै सम्हाले । बोल्टनले त्यसलाई हेर्नलायक दृश्य भनी वर्णन गरेका छन् । अन्ततः उनले युरोपेली देशहरूलाई २ प्रतिशत बजेटमा सहमत गराए ।
बैठकपछि ट्रम्पको टोली राष्ट्रपति पुटिनलाई भेट्न हेलसिन्कीतिर लाग्यो । निस्किने बेला मार्केल बोलिरहेकी थिइन् । मार्केललाई दुवै गालामा म्वाइ खाँदै ट्रम्पले बिदाका शब्द भने, “आइ लभ एन्जेला ।” त्यो रात ट्रम्पले ट्वीट गरे, “नाटोमा आज ठूलो सफलता हात लाग्यो ¥ म निर्वाचित भएपछि सदस्यहरूले थप अर्बौँ डलर तिर्ने भए । भावना उच्च छ ¤”
लन्डन
हेलसिन्की जानुअघि ट्रम्पको टोली लन्डनस्थित अमेरिकी दूतावास गयो । त्यहाँ ब्रेक्जिट चर्चाको विषय थियो । बेलायतलाई युरोपेली युनियनका कर्मचारीहरूले स्वतन्त्र ढङ्गले काम गर्न नदिएको, आप्रवासी समस्या चुलिएको आदि कारणले बोल्टन ब्रेक्जिटको पक्षमा हुन्छन् । तर, त्यो नीति उचित ढङ्गले लागू गर्न नसकिएकोमा उनी र ट्रम्पको धारणा एकै हुन्छ । ब्रेक्जिट बेलायतको अस्तित्वसँग जोडिएको हुनाले अमेरिकाको निम्ति पनि त्यो महत्वपूर्ण थियो भनी बोल्टन उल्लेख गर्छन् ।
ट्रम्पको टोली प्रम थेरेसा मेको भोज, बेलायती सैन्य विद्यालयको अभ्यासजस्ता कार्यक्रममा सहभागी हुन्छ । यसअघि ट्रम्पले कुनै सैन्य अभ्यास नदेखेको बोल्टन दाबी गर्छन् । देख्थे भने उनले कोरियाको युद्ध अभ्यास रोक्ने थिएनन् भन्ने उनको तर्क छ । सैन्य विद्यालय भ्रमणका क्रममा ट्रम्पले प्रम मेसँग माफी मागेका थिए । ब्रसेल्समा उनले दिएको अन्तर्वार्तामा उनले ब्रेक्जिटको बेलायती नीतिको कडा आलोचना गरेका थिए । आफूले बोलेको कुरा हत्तपत्त फिर्ता नलिने ट्रम्पले माफी माग्नु असामान्य थियो ।
भेटघाटमा प्रम मेले पुटिनको स्वभावबारे ट्रम्पलाई जानकारी दिन्छिन् । प्रम मेले पुटिनले बलको भाषा मात्र बुझ्ने बताउँछिन् । कुराकानीकै क्रममा ट्रम्पले पहिलोचोटि बेलायत आणविक शक्तिसम्पन्न देश हो भन्ने थाहा पाउँछन् । प्रम मेले ट्रम्पलाई पुटिनसामू शक्तिको भाषामा कुरा गर्नु भनी सम्झाउँछिन् । ट्रम्पले हुन्छ भन्छन् र पुटिनले नै भ्रमणको चाहना गरेको बताउँछन् । खासमा हेल्सिन्की बैठक ट्रम्पकै अग्रसरतामा हुँदै थियो । यसबिच अमेरिकी न्याय विभागले १२ जना रुसी अधिकारीहरूलाई चुनावमा हस्तक्षेप गरेकोमा मुद्दा दायर गर्ने खबर आयो । यो मुद्दाले भेटमा पुटिन डब्ने बोल्टनले अनुमान गरे ।
मेसँगको कुराकानी उत्तर कोरिया र चीनतिर मोडियो । ट्रम्पले सन् २०१७ को चीन भ्रमण ऐतिहासिक भएको बताए । भेटघाटपछि पत्रकार सम्मेलन भयो । त्यहाँ ट्रम्पले ब्रसेल्सको अन्तर्वार्तामा बोलेभन्दा उल्टो विचार राखे । उनले अमेरिका र बेलायतबिचको सम्बन्धलाई ‘विशेष’ भने ।
हेल्सिन्की जानुअघि ट्रम्पले फोनमा इजरायली प्रम नेतान्याहुसँग कुराकानी गरे किनभने नेतान्याहुले केही समयअघि मात्र पुटिनसँग भेट गरेका थिए । भेटमा पुटिनले रुसले इरान सिरियाबाट हटेको हेर्न चाहेको, तर राष्ट्रपति अस्सादले त्यसो गर्न नचाहेको बताएका रहेछन् । नेतान्याहुले इरानले इजरायलको सीमामा हतियारहरू राखेकोमा गुनासो गर्दा पुटिनले आफूले केही गर्न नसक्ने बताएछन् । सिरियामा इरानको उपस्थितिमा संरा अमेरिकाको पनि चासो रहेको नेतान्याहुले थपेछन् । उनले गोला हाइट्सलाई सिरिया र इजरायलको स्थायी सीमा बनाउनुपर्ने विचार राखेछन् । गोला हाइट्स इजरायलले कब्जा गरेको भूभाग भएको र त्यसलाई सीमा बनाउँदा राष्ट्रसङ्घले आफ्नो सेना फिर्ता गर्नुपर्ने बोल्टनको निष्कर्ष छ । (यसमा बोल्टनले समग्र इजरायल नै कब्जा गरिएको भूभाग हो भन्ने कुरा लुकाएका छन् । यो कब्जा बेलायत, अमेरिकालगायत देशहरूको मद्दतमा गरिएको थियो ।)
जुलाई १५ आइतबारको दिन ट्रम्पको टोली हेल्सिन्कीतिर लाग्यो । जहाजमा ट्रम्प मस्कोमा भइरहेको विश्वकप हेर्दै थिए । बोल्टनले उनलाई नयाँ स्टार्ट सम्झौता अमेरिकाको लागि हानिकारक थियो भनी बताए । त्यस्तै उनले आइएनएफ सन्धिबारे बताए । अमेरिकाको मिसाइल प्रतिरक्षा प्रणालीबारे बैठकमा कुरा उप्काउन नहुने विषयमा सबै सहमत भए । त्यस्तै ट्रम्पलाई उनले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको चर्चा गर्न आग्रह गरे । सन् २०१६ को चुनावमा साइबर हस्तक्षेप गरेर रुसले ट्रम्पलाई जिताएको चर्चा बाक्लो थियो । यो कुरा उप्काए आफ्नो वैधतामाथि प्रश्न उठ्ने डर ट्रम्पलाई थियो । त्यसैले ट्रम्पले बोल्टनलाई नै यो कुरा उठाउन भने ।
हेल्सिन्की वार्ता
भोलिपल्ट बिहान फिनल्यान्डका राष्ट्रपति निनिस्तोसँग ट्रम्पको भेट भयो । निनिस्तोले पुटिनसँग भेट्दा अपनाउनुपर्ने तीन सावधानीबारे ट्रम्पलाई बताए । एक, पुटिनलाई सम्मान चाहिन्छ । दुई, पुटिन लडाकु हुनाले उनले प्रहार गरे कि ट्रम्पले दनक दिनुपर्छ । तीन, सुरुमै हान्नुहुन्न । उनले अन्त्यमा भने, “कज्जाकीहरू खुकुलो पायो कि खोसिहाल्छन् ।” ट्रम्पले फिनल्यान्डलाई नाटोमा आउन भने । निनिस्तोले हुन्छ वा हुन्न केही भनेनन्, बरु ढोका खुला राखेको बताए । उनले पुटिन मूर्ख छैनन्, त्यसैले नाटो देशहरूमाथि हमला गर्दैनन् भने । साथै पुटिनले कुनै पनि हालतमा क्रिमिया फिर्ता दिनेछैनन् भनी दाबी गरे । ओबामाको ठाउँमा आफू भएको भए पुटिनले क्रिमिया लिन सक्नेथिएनन् भनी ट्रम्पले मपाइँत्व देखाए ।
ट्रम्पको टोलीले झन्डै दुई घन्टाको बैठकका लागि पुटिनलाई धेरै समय पर्खिनुप¥यो । पुटिन ढिलोगरी आए । छलफल सिरियामै केन्द्रित भयो । पुटिनले सिरियामा मानवीय सहयोग र संरचना पुनःनिर्माणमा पश्चिमी देशहरूले खर्च बढाउनुपर्छ भने । बोलक्कड ट्रम्पले बैठकमा धेरै कुरा पुटिनबाट सुने । नेतान्याहुलाई भनेका कुरा पुटिनले ट्रम्पलाई पनि भने । चीनसँगको व्यापार युद्धमा उनले अमेरिका कठोर बनेको टिप्पणी गरे । ट्रम्पले अर्को उपाय नै नभएको बताए । रुसले अमेरिकासँग भन्दा युरोपसँग ४० गुना बढी व्यापार गरिरहेको हुनाले व्यापार बढाउनुपर्ने पुटिनको भनाइ थियो । यो भेटवार्ताले अमेरिकी विदेशनीतिमा कुनै पनि परिवर्तन नल्याएकोमा बोल्टन खुसी थिए ।
Leave a Reply