भर्खरै :

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु ।”
संसद् आह्वान भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
यसैबिच निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकोले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
यस निर्वाचनमा सङ्घीय संसद्
(३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसङ्ख्याअनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद् प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामको लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *