भर्खरै :

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई तीनदिने लेखा तालिम

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई तीनदिने लेखा तालिम

भक्तपुर, १२ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षक तथा कर्मचारीहरूलाई मङ्गलबारबाट लेखा तालिम सुरु भयो । तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम पूर्ण सफलताको कामना गर्दै नगरपालिकाले दिने अनुदान तथा आर्थिक सहयोगहरूको सही सदुपयोगको लागि भक्तपुर नपाले लेखासम्बन्धी तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै उहाँले सामुदायिक संस्थाहरू राम्रो र व्यवस्थित भए गरिब जनताका छोराछोरीले सहजरूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने तथा व्यक्तित्व विकासमा समान अवसर हुने बताउनुभयो ।
विद्यालयले राख्ने हिसाब नमिल्दा बेरुजुको समस्या देखिने बताउँदै विद्यालयहरूलाई लेखासम्बन्धी कार्य सहजताको निम्ति भक्तपुर नपाले विगतका दिनदेखि नै यस्ता तालिमहरूमा जोड दिँदै आएको उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपा लेखा समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले नियमितरूपमा विद्यालयहरूमा लेखासम्बन्धी अनुगमन गर्दै आएको र सोही क्रममा प्राप्त सुझावको आधारमा तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले तालिमको आवश्यकता र सङ्घ संस्थामा बजेट खर्च र व्यवस्थापनमा लेखाको महत्वबारे आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *