भर्खरै :

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरूको शिविर लमजुङको ताघ्रिङमा

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरूको शिविर लमजुङको ताघ्रिङमा

लङजुङ, १३ पुस । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरूको चारदिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो ।
उक्त शिविरको समापन समारोहमा मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरू स्थापित जनशक्तिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबिच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो ।
सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरू र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरूबिच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्षेत्र बनाएकोमा खुसी प्रकट गर्दै लमजुङ जिल्ला भूगोलविद् हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो ।
वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे प्रस्ट्याउनुभयो ।
कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरू भावना भडेल, दीपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो ।
शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरूलाई भव्य स्वागत गरेका थिए । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरू होम स्टेमा बसेका थिए ।
शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पाँच समूहमा विभाजित विद्यार्थीहरूले ६० घरधुरीलाई नमुना छनोट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *