भर्खरै :

एउटै निर्वाचनले सबै कुराको निक्र्योल नहुने

एउटै निर्वाचनले सबै कुराको निक्र्योल नहुने

चितवन, १५ पुस । नेपाल मजदुर किसान पार्टी इच्छाकामना गाउँपालिका एकाइ समितिको आयोजनामा शुक्रबार कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एउटा निर्वाचनले सबै कुराको निक्र्योल नहुने धारणा राख्दै कुन दलले कति सिट सङ्ख्या जित्यो भन्दा पनि देश र जनताको हकहितमा केकति काम भयो त्यो महत्वपूर्ण हुने बताउनुभयो ।
अहिलेको संसद्मा भारत र साम्राज्यवादी अमेरिकी पक्षधर सांसदहरूको बहुमत रहेको चिन्ताको विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्री बन्नु ठूलो कुरो होइन । विद्यार्थीलाई समयमा पाठ्यपुस्तक पुगेको छ कि छैन ? किसानलाई समयमा मलखाद् उपलब्ध हुन्छ कि हुँदैन ? युवाले स्वदेशमै रोजगारी पाएको छ कि छैन ? त्यो महत्वपूर्ण कुरा हो ।”
संविधानमा समाजवादउन्मुख लेखिए तापनि व्यवहारमा पुँजीपतिहरूलाई पोस्ने काम भइरहेको तर्फ केन्द्रीय सदस्य गोसाईले स्पष्ट पार्नुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले विगतमा नेमकिपाको बाहुल्यता चितवनमा रहेको चर्चा गर्दै चितवनका नयाँ पुस्तामा पार्टीबारे पुनः जागरण ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले अहिलेसम्म सत्तामा गएका राजनीतिक दलहरूको गलत कार्यकै परिणाम कामदार जनतामा राजनीतिप्रति वितृष्णा छाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ, पदम थापामगर, विष्णु शर्मा, युवा सङ्घका दिपेश थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *