नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, पुस १५ । स्वस्थ शरीरले स्वस्थ दिमाग प्रदान गर्दछ । स्वस्थ शरीरले स्वस्थ समाजको निर्माण गर्दछ । जनताको स्वास्थ्यप्रति सजग हुँदै भक्तपुर नगरपालिकाले स्वास्थ्य शिविर गरिरहेको छ ।
श्वासप्रश्वासमा प्रक्रिया बढ्दो उमेरसँगै विभिन्न प्रकारको स्वास्थ्य समस्या देखा पर्दछ । यसैलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले १० वटै वडामा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने र ख्वप अस्पतालसँगैको श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा फिजियोथेरापीको लागि सहजीकरण गर्ने उद्देश्य राखेको छ ।
भनपा १० वडा कार्यालयबाट सुरु भएको उक्त शिविर भनपा वडा नंं. ९ ले शुक्रबार वाकुपति नारायण स्थानमा ख्वप अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न गरेको छ ।
उक्त शिविरमा भनपा ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले जाडो मौसममा ज्येष्ठ नागरिकलाई हुने श्वासप्रश्वाससम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श दिन भक्तपुर नगरपालिकाले १० वटै वडामा श्वासप्रश्वाससम्बन्धी शिविर सञ्चालन हुने बताउनुभयो ।
उहाँले उक्त शिविरमा श्वासप्रश्वास, दमखोकीको समस्या पहिचानको लागि स्पाइरोमेट्रीमार्फत सास तान्न र छोड्न सक्ने क्षमताको परीक्षण गरेको बताउँदै पुस १० गतेदेखि १०, ३ र ९ वडामा वडागत निःशुुल्क शिविर सञ्चालन भइरहेको बताउनुभयो ।
ख्वप अस्पतालका जनरल मेडिकल फिजिसियन डाक्टर बालकृष्ण चाँगुभारीले उक्त शिविरमा ६० वर्ष पूरा भएका नागरिकको दमखोकी रोगीको सुरुवाती अवस्था पत्ता लगाई फिजियोथेरापीको सहजीकरणका लागि श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा सम्पर्क राख्न सकिने बताउनुभयो ।
उक्त शिविरमा परीक्षणको लागि आउनुभएका स्थानीय त्वचाका ७६ वर्षीया ज्येष्ठ नागरिक पूर्णलक्ष्मी प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको निःशुुल्क शिविरको प्रशंसा गर्दै दमको कारण खोकीको समस्याले पहिलोपटक परीक्षण गरेको बताउनुभयो ।
त्यस्तै जँेला निवासी ६४ वर्षका कृष्णराम बोहजूले भक्तपुर नगरपालिकाले यस्ता स्वास्थ्य शिविरहरू समयसमयमा गरेमा अस्पतालमा परीक्षणको लागि हुने भिड र असहजता न्यून हुने सुनाउनुभयो ।
उक्त शिविरमा वडाका जनप्रतिनिधि, कर्मचारी, वडा महिला स्वास्थ्य स्वयम्सेविका, ख्वप अस्पतालका डाक्टर तथा नर्सहरूले वडाका नागरिकको स्वास्थ्य परीक्षणको लागि सहजीकरण गरेका छन् ।
भक्तपुर नगरपालिकाको ७, ८, ९ र १० वडाका १३७ जनाले परीक्षण गराए । शिविरमा ८९ वर्षका लक्ष्मी प्रजापतिलगायतले श्वासप्रश्वासको परीक्षण गराए ।
Leave a Reply