‘वीर घटोत्कचको बलिदान’
- बैशाख ९, २०८१
कविता
ब्वाँसाहरूलाई गोठाला !
अझै चिनेनौ, हाम्रै आँखाअगाडि !
अझै देखेनौ, हाम्रै घरआँगनमा !
कहिल्यै नअघाउने
ब्वाँसाहरूको बथान !
जहिल्यै षड्यन्त्रमा रमाउने
ब्वाँसाहरूको बथान !
निदाएझैँ गर्छन्
तर तिनीहरू बिउँझेझैँ हुन्छन्
भागेझैँ गर्छन्
तर तिनीहरू नजिकै हुन्छन्
एकअर्कामा झगडा गरेझैँ गर्छन्
तर तिनले झगडा गरेकै हुँदैनन्
एकअर्कामा मिलेझैँ गर्छन्
तर ती मिलेका पनि हुँदैनन्
यिनीहरूको ध्यान त खालि–
गाईगोरुको सिकार गर्नुमा मात्र हुन्छ
त्यही सिकार गर्ने क्रममा
कहिले ती मिलेजस्ता देखिन्छन्
कहिले ती फुटेजस्ता देखिन्छन्
कोही निकै अगाडि बढेका
र कोही
निकै पछाडि छुटेजस्ता पनि देखिन्छन्
तर यथार्थमा ती–
अगाडि पनि छैनन्
पछाडि पनि छैनन्
मिलेका पनि छैनन्
फुटेका पनि छैनन्
मात्रै, सिकारलाई सिध्याउनका लागि
आ–आफ्ना तीर सोझ्याएर बसेका छन् ।
आश्चर्यकै कुरा हो–
हामीले गोठालो बनाएका छौँ
तिनै ब्वाँसाहरूलाई !!
कोही पनि भ्रममा नपर्दा हुन्छ
ती ब्वाँसा ब्वाँसा नै छन्
सिंह कहिले पनि हुँदैनन् ।
Leave a Reply