भर्खरै :

‘दलको मार्गदर्शक छोड्ने नेताहरू कम्युनिस्ट हुँदैनन्’

देशमा लायक नभएका नेताहरू छान्नु पर्दा नेकाका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै पर्छ । नेका सभापति देउवा संरा अमेरिका र भारतका पिछलग्गू हुन् । अमेरिका र भारतको हित हुने भए नेपालको स्वाधीनता र सार्वभौमसत्तामा जस्तोसुकै घात भए पनि देउवा वास्ता गर्दैनन् । देशका अधिकांश नदीनाला भारतको हातमा सुम्पिने काम नेकाको सरकारले नै गरेको हो । नेपाली जनताले मन नपर्ने, नेपाल र नेपालीको भन्दा विदेशी शक्ति राष्ट्रको हित हेर्ने नेकाको सरकारले कहिले पनि श्रमजीवी जनताको हित हेरेन । बरू देउवाको सरकारले मोहियानी हकबाट वञ्चित गर्न द्वैधस्वामित्वको अन्य ग¥यो । कमैया मुक्तको नाउँमा कमैयाहरूलाई विचल्ली बनायो, घुमन्ते जीवन बिताउन बाध्य पा¥यो ।
अर्का शासक एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छिनछिनमा विचार फेर्ने, अडान नभएका अवसरवादी र संशोधनवादी नेता हुन् । जतातिर फाइदा हुन्छ उतैतिर पल्टिने आत्मघाती, अन्तर्घाती दाहाल फाइदा भएपछि आफ्नो इज्जत, प्रतिष्ठा, सिद्धान्त र विचारको कुनै मतलब नराख्ने अस्थिर मनका नेता हुन् । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई कम्युनिस्टविरोधी, कम्युनिस्टको कुनै चरित्र नभएका नेताको कल्गी दिएका थिए । त्यस्तै दाहालले पनि ओलीलाई कम्युनिस्टको कुनै गुण र चरित्र नभएका संविधानविरोधी नेता भनी दोषारोपण गरेका थिए । आज ती नै नेताहरू एक–आपसमा घाँटी जोड्न पुगे र संयुक्त सरकार बनाउन लागे । हिजो पानी बाराबारको स्थितिमा पुगेका ती नेताहरू कम्युनिस्ट घटकबिच संवाद र छलफल गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा लागेको समाचार प्रकाशमा आएको छ ।
हिजो एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै थियो । सरकारको नेतृत्व गर्ने या कुर्सीबारेको विवाद चरमोत्कर्षमा पुग्यो र माओवादी केन्द्र फुट्यो । ओलीलाई विश्वास गर्दा आफू अन्तर्घातमा परेको दाबी दाहालको थियो । पछि एकीकृत समाजवादी पनि फुट्यो । तिनीहरूबिचको फुट र जुटमा सत्ताको स्वार्थसँग सम्बन्धित छ । माओवादी अध्यक्ष दाहाल नेकाको गठबन्धन छाडेर एमालेसँग मिल्न जानुको स्वार्थ पनि सत्तास्वार्थ नै हो, प्रम पद या सरकारको नेतृत्व नै हो ।
ती नेताहरू बहुमत जनताको हित हेर्दैनन्, केही अंशको हित हेर्छन् । कम्युनिस्ट पार्टीले बहुमत जनताको हित हेर्नुपर्छ । आफ्नो काममा वैज्ञानिक दृष्टिकोण नअपनाउने नेताहरू आफूलाई खुबै सुझबुझ र चलाख ठान्छन् । वास्तवमा तिनीहरू गतिला छैनन् । ट्राटस्की, बुखारिन व्यक्तिगत हित वा आंशिक हितको निम्ति स्वतन्त्रताको दाबा गर्छन् । माक्र्स,एङ्गेल्स, लेनिन, स्तालिन देश र जनताप्रति जिम्मेवार नेता हुन्, उनीहरूले जे गरे बहुमत जनताको हितको निम्ति गरे । तर, नेपालका शासकहरू आफ्नो भएको इज्जत र प्रतिष्ठामा पनि आघात पुग्ने देशविरोधी र जनविरोधी काम गर्छन् । सरकारको नेतृत्व गर्न पाएपछि सबथोक ठान्ने, सरकारमा जान पाएपछि सिद्धान्त र विचारमा लात मार्ने शासकहरू भर नभएका नेतामा गनिएका छन् । माक्र्सवाद, लेनिनवाद जडसूत्र होइन कार्यको मार्गदर्शक हो । दलको मार्गदर्शक छोड्ने, लात मार्ने या बेवास्ता गर्नेहरू कसरी सच्चा कम्युनिस्ट हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *