भर्खरै :

सिद्धान्त र व्यवहार मिल्नु आवश्यक

द्वन्द्वात्मक भौतिकवादीसम्बन्धी माक्र्सवादी दर्शनका दुई प्रमुख विशेषताहरू छन् । एउटा विशेषता त्यसको वर्गस्वरूप हो । द्वन्द्वात्मक भौतिकवादले सर्वहारा वर्गको सेवा गर्छ या श्रमजीवी वर्गको सेवा गर्छ । अर्को विशेषता व्यवहारिकता हो । सिद्धान्त व्यवहारमा आधारित हुन्छ । त्यसले व्यवहारको नै सेवा गर्छ । सामाजिक व्यवहारमा प्राप्त वस्तुगत परिणामले कुनै ज्ञान वा सिद्धान्तको सच्चाइलाई निर्धारित गर्छ† मनोगत भावनाले होइन । यसकारण, द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा व्यवहारको दृष्टिकोण आधारभूत दृष्टिकोण हो । तर, नेपालका शासक र ठूला दलका नेताहरू न सिद्धान्त र विचारअनुसार राजनीति गर्छन् न त व्यवहारलाई नै जोड दिन्छन् । सिद्धान्त आत्मसात नगर्ने दलका नेताहरूको व्यवहार झनै उल्टो हुन्छ ।
देशका शासकहरू विगतको गल्ती पनि स्वीकार्दैनन्, गल्ती सुधारेर अघि पनि बढ्दैनन् । भनिन्छ, ‘ठक्कर खाएपछि बुद्धि बढ्छ ।’ तर, सत्ता र शक्तिमा भुलेका सत्तासीन र ठूला दलका नेताहरू जति हन्डर खाए पनि शिक्षा लिँदैनन्† शिक्षा लिएर अघि बढ्दैनन् । ती नेताहरूले धेरैलाई धेरै पटक धोका दिए, अन्तर्घात गरे । एकले अर्कोलाई जति विश्वासघात र अन्तर्घात गरे पनि आखिर उनीहरू सत्ताका निम्ति मिल्छन्, सत्ता पाउने भएपछि पहिलेको विश्वासघात र अन्तर्घात सबै बिर्सन्छन् । माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले आफ्ना सिद्धान्तको प्रतिपादन गर्न सक्नुको कारण उनीहरूले आ–आफ्नो समयको वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगको व्यवहारमा प्रयोग गर्नु हो ।
द्वन्द्वात्मक भौतिकवाद सर्वव्यापी सत्य हो । व्यवहार सत्यको कसी हो । क्रान्तिकारी सिद्धान्तद्वारा व्यवहारको बाटो आलोकित हुन्छ, हुनुपर्छ । तर, देशको नेतृत्व सम्हाल्ने नेताहरूमा यही गुणको अभाव छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको एमालेसमेतको सरकारले संयुक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । के सार्वजनिक हुने त्यो संयुक्त कार्यक्रम कुनै दर्शन या विचारबाट निर्देशित हुन्छ ? कुनै दर्शन र विचारबाट निर्देशित नहुने कार्यक्रम के व्यवहारिक हुन्छ ? के बहुमत जनताको पक्षमा त्यो कार्यक्रम बन्छ ? सबै दललाई मिलाउने नाउँमा बनेको त्यो कार्यक्रममा के समाजवादउन्मुख संविधानको गन्ध हुन्छ ?
नेपालमा कम्युनिस्ट पार्टीको प्रभाव राम्रो छ भनिन्छ । सबै मिलेमा कम्युनिस्टहरूको मत नै बढी हुन्छ भनिन्छ । तर कम्युनिस्ट बलियो हुन्छ भनिएका दलका नेताहरू कम्युनिस्ट विचार लागु गर्दैनन्, बरु उनीहरू कम्युनिस्ट सिद्धान्त लागू होला भनी चिन्ता लिन्छन् । कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारको खिल्ली उदाउने काम सरकारमा जाने कम्युनिस्ट पार्टीहरूले गरिरहेका छन् । द्वन्द्वात्मक भौतिकवाद मान्ने कम्युनिस्टहरू र माक्र्सवाद–लेनिनवादलाई पथ प्रदर्शक मान्ने कम्युनिस्ट पार्टीहरू खालि सरकारमा जाने, सरकारको नेतृत्व गर्ने, सरकारमै बसेर शासन गरिरहनेतर्फ उन्मुख देखिएका छन् । दलको विधान हेर्दा कम्युनिस्ट देखिने तर व्यवहार या गतिविधिमा उनीहरूमा कम्युनिस्टको कुनै गन्ध पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *