भर्खरै :

‘श्रमिक र ‘मजदुर’ कामदार वर्गको पत्रिका

‘श्रमिक र ‘मजदुर’ कामदार वर्गको पत्रिका

भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाबारे समीक्षात्मक गोष्ठी भयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नगरस्तरीय पार्टी कार्यकर्ताहरूबिच भएको उक्त गोष्ठीमा अध्यक्ष बिजुक्छेँले कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने उद्देश्यले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका प्रकाशन भइरहेको बताउनुभयो ।
हरेक पार्टीको आ–आफ्नो झन्डा, घोषणापत्र भएजस्तै हरेक राजनीतिक पार्टीले आफ्नो सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमबारे जनतालाई सुसूचित गर्न पत्रिका प्रकाशित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाको सिद्धान्त, कार्यक्रम, विचार, दृष्टिकोणहरू नियमितरूपमा ‘श्रमिक’ र ‘मजदुर’ मा प्रकाशित गरी राजनैतिक कर्तव्य पूरा गरिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक कार्यकर्ता ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको ग्राहक बन्नुपर्छ । कार्यकर्ताहरूले नियमित अध्ययन गरी पत्रिकाबारे अन्तरक्रिया चलाउनुपर्छ । पार्टीको प्रकाशन र पत्रिका नियमित अध्ययन गर्नेले मात्र पार्टीको विचार, भावना र दृष्टिकोण थाहा पाउन सकिन्छ ।”
‘श्रमिक’ र ‘मजदुर’ व्यापारिक उद्देश्यले प्रकाशित नगरेको हुँदा अरू पत्रिका र यो पत्रिकाबिच धेरै अन्तर छ । यी पत्रिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धमा नेमकिपाको दृष्टिकोणबारे पार्टीको धारणा प्रकाशित गर्छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
पुँजीवादी राजनीतिले कामदार जनताको पत्रिका बन्द गराउन अनेक षड्यन्त्र गर्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले ‘श्रमिक’ र ‘मजदुर’ लाई जीवन्त राख्ने दायित्व प्रत्येक कार्यकर्ताको हो भन्नुभयो ।
“गल्ती र कमजोरीको आलोचना र आत्मालोचना गर्नु पार्टी कार्यकर्ताको अनुशासन हो । कार्यकर्ताहरू पार्टी अनुशासनमा बसी गलत क्रियाकलापको आलोचना गर्न पछि पर्नुहुन्न”, उहाँले स्पष्ट पार्नुभयो ।
आफूले सिकेको ज्ञान देश र जनताको हितमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा प्रयोग नहुने ज्ञानको महत्व नहुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाका विशेषताहरूबारे चर्चा गर्दै यो पत्रिकाले देशमा समाजवादी क्रान्तिलाई अगाडि बढाउन भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो ।
‘श्रमिक’ र ‘मजदुर’ ले देशको सार्वभौमिकता रक्षा, अन्यायको विरोध र कामदार वर्गको पक्षमा आवाज बुलन्द गर्नुका साथै साम्राज्यवाद र विस्तारवादविरूद्ध निरन्तर लेख र समाचार प्रकाशित गरी जनतालाई राजनीतिकरूपमा सचेत गर्ने काम गरिरहेको छ, उहाँले भन्नुभयो ।
राजनीतिमा सिद्धान्तको महत्व धेरै हुने धारणा राख्दै उहाँले सिद्धान्तहीन राजनीति गर्नेहरू एक दिन जरूर पतन हुने धारणा राख्नुभयो ।
कामदार जनताको निम्ति देश र जनताको सेवामा राजनीति गर्नुबाहेक अर्को विकल्प नभएको धारणा राख्दै केन्द्रीय सदस्य प्रजापतिले पार्टी निर्देशनअनुसार कार्यकर्ताहरू कठिनभन्दा कठिन काम गर्न अघि सर्नुपर्ने र सङ्गठन विस्तारमा खट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा पत्रिका वितरक गङ्गाराम ज्याख्व र जगतराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *