भर्खरै :

चैत ५ गते स्ववियु निर्वाचन गरिने

 

काठमाडौँ, २१ पुस (रासस) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।
त्रिवि विद्यार्थी कल्याण परिषद्को बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।
“सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी हामीले त्रिवि कार्यकारी परिषद्लाई निर्वाचन गर्न सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो ।
त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उहाँले जानकारी दिनुभयो । त्रिविमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा पुस ११ गते सबै विद्यार्थी सङ्गठनका अध्यक्षसँग छलफल गरेको थियो ।
निर्देशनालयका निर्देशक अधिकारीले सबै सङ्गठनले स्ववियु निर्वाचनमा सहमति जनाएकाले मिति तोकी सिफारिस गरिएको बताउनुभयो । त्रिविले यसअघि त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग पनि स्ववियु निर्वाचनको सम्बन्धमा छलफल गरिसकेको छ ।
त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरूपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *