भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २८

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २८

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)

त्यो विष्फोट
ट्रम्पले तालिवानी र अफगानी राष्ट्रपति घानीलाई क्याम्प डेभिडमा भेट्ने भए । क्याम्प डेभिड अमेरिकी राष्ट्रपति आराम गर्न जाने गाउँले निवास हो । बोल्टन यो भेट र सम्झौताको विपक्षमा थिए । सेप्टेम्बर ५ मा मुल्भानीले आफू ट्रम्पसँगै क्याम्प डेभिड जाने कुरा बोल्टनलाई बताए । उनीहरूसँगै पोम्पेओ, एस्पर, डनफोर्ड र खलिलजाद पनि थिए । तालिवानहरू कतारी विमानमा आउँदै थिए । यसको प्रबन्ध पोम्पेओले मिलाएका थिए । राजनीतिक किचलो देखेर उनी सम्झौताबाट पर बस्ने मनोदशामा देखिन्थे ।
केही उच्च अधिकारी अमेरिकी राष्ट्रपतिमाथि साङ्घातिक हमला हुनसक्ने सम्भावनाले आक्रान्त थिए । ट्रम्प भने तालिवानीहरूको आत्मसम्मानमा ठेस पुग्ला भनेर सकेसम्म थोरै सुरक्षाकर्मी राख्न चाहन्थे । ट्रम्पले नमानेपछि मुल्भानी, कुपरमेन, वाल्श र बोल्टनले उपराष्ट्रपति पेन्सलाई क्याम्प डेभिड जानबाट रोके ।
यस्तैमा काबुलमा एउटा मानव बम विष्फोट भयो । त्यसमा परेर दशजनाको ज्यान गयो । तीमध्ये एकजना अमेरिकी थिए र अर्का रोमानियाका कर्मचारी थिए । अन्य धेरै घाइते भए । यो हमला तालिवानीहरूले गरेको अमेरिकाले बुझ्यो । बोल्टनले त्यो भन्दा पनि पर गएर हमलामा इरानीहरूको पनि हात रहेको बुझे । यो थाहा पाएपछि ट्रम्पले भेटवार्ता नहुने बताए । उनले भने, “तिनीहरूले हाम्रो एकजना सैनिक र अन्य नौजना मानिसको ज्यान लिए । तालिवानीहरूले युद्ध विराम गर्नुपर्छ, नत्र सम्झौता हुनेछैन ।”
राष्ट्रपति घानीसँगको वार्ता पनि नहुने भयो । अफगानिस्तानमा घानीको अमेरिका भ्रमणबारे पत्रपत्रिकामा चर्चापरिचर्चा चलिसकेको थियो । तर, तालिवानीहरूसँगको वार्ता गोप्य राखिएको थियो । त्यसैले वक्तव्यमा घानीको मात्र नाम उल्लेख गर्न ट्रम्पले आफ्ना कर्मचारीहरूलाई आदेश दिए । सेप्टेम्बर ७ मा ट्रम्पले आफ्नै बोली मिचेर यस्तो ट्वीट गरे, “सबैलाई जानकारी होस्, आउँदो आइतबार प्रमुख तालिवानी नेताहरू र अफगानी राष्ट्रपतिले मसँग क्याम्प डेभिडमा अलगअलग बैठक बस्ने कार्यक्रम थियो । आज राति नै उनीहरू अमेरिका आउँदै थिए । तर उनीहरूकै दाबी अनुसार काबुलमा हमला गरेर उनीहरूले हाम्रो एक सैनिक र थप ११ जना मानिसको ज्यान लिए । मैले तत्कालै बैठक रद्द गरेँ र शान्ति सम्झौता भङ्ग गरेँ । सम्झौतामा आफ्नो स्थान बलियो पार्न यति धेरै मान्छे मार्ने ? उनीहरूले सबै भताभुङ्ग पारे । युद्धविराम नगर्दासम्म कुनै शान्तिवार्ता हुन्न । तिनीहरू अझै कति दशक लड्ने सोच्दै छन् ?”
तालिवानले वार्ता रद्द गरेर अमेरिकाले आफ्नो खुट्टामा आफै बन्चरो हानेको बताए । सेप्टेम्बर २८ मा सम्पन्न अफगानी निर्वाचनमा घानीको पार्टीले बहुमत ल्याउन सकेन । अफगानिस्तानमा अस्थिरता फैलियो । तालिवानीहरूको पक्ष बलियो बन्यो ।
बोल्टनको राजीनामापछि मात्र ट्रम्पले तालिवानीहरूसँग वार्ता गरे । २०२० फेब्रुअरी २९ मा गएर अमेरिका र तालिवानबीच सम्झौता भयो । बोल्टनले आफ्नो विरोध ट्वीटमार्फत प्रकट गरे । उनले लेखे, “तालिवानसँग यो सम्झौता हस्ताक्षर गरेर अमेरिकी सर्वसाधारणको ज्यानमाथि ठूलो खेलबाड गरिएको छ । यो अस्वीकार्य छ । यो ओबामा शैलीको सम्झौता हो । तालिवानीहरूलाई वैध बनाएर आइएसआइएस र अलकायदा तथा अमेरिकाका शत्रुहरूबीच गलत सन्देश गएको छ ।” यसको उत्तरमा ट्रम्पले एक कार्यक्रमबीच भने, “उनले मौका पाएकै हुन्, तर केही गरेनन् ।” बोल्टन अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णय र त्यसले ल्याउने विपत्तिको पूर्ण जिम्मेवारी ट्रम्पले लिनुपर्ने लेख्छन् ।


युक्रेन युद्धको बाटो
बोल्टनले राजीनामा दिएपछि मात्र युक्रेन युद्धको तनाव बढ्यो । तर युद्धको तयारीका भने उनी साक्षी थिए । विदेश नीतिको मामिलामा ट्रम्प मनलाग्दी गर्थे । बोल्टनले ट्रम्पले निजी फाइदा हेरेर विदेश नीति तय गरेको आरोप लगाउँछन् ।
बोल्टनको विचारमा युक्रेन रुसको आर्थिक र राजनीतिक दबाबमा थियो । सन् २०१४ मा रुसले क्रिमिया लियो । बोल्टनले यसलाई सेना प्रयोग गरेर युरोपको सीमा हेरफेर गरेको दोस्रो विश्वयुद्धपछिकै पहिलो घटनाको रूपमा चित्रण गरेका छन् । उनी रुसी सेनाले युक्रेनको डोनबास क्षेत्रमा पृथकतावादी आन्दोलनलाई सहयोग गरेको र गृहयुद्धको निर्देशन नै रुसले दिएको लेख्छन् । सो युद्ध चर्काउन अमेरिकाले खेलेको भूमिकाबारे सबै साम्राज्यवादीहरूजस्तै उनी पनि मौन छन् । युक्रेनलाई पहिल्यै नाटोको सदस्य बनाउनाले नै समस्या झाँगिएको उनी बताउँछन् । अर्को उनी रुसको कथित वर्चस्वशाली नीतिलाई दोष दिन्छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई तोड्नुपर्ने घेरा मानेको र त्यो घेरा भत्काएर पुटिनले रुसमा युरोपलाई निल्ने र लगत्तैपछि सारा संसार निल्ने भ्रमको खेती गर्न बोल्टन चुक्दैनन् । यो युद्धका व्यापारीहरूको धर्म नै हो ।
२००८ अप्रिलमा नाटोको बुखारेस्ट सम्मेलनमा छोरा बुश सरकारले जर्जिया र युक्रेनलाई नाटोको सदस्यता दिलाउने बाटो खोले । जर्मनी र फ्रान्सले त्यसको घोर विरोध गरे । विरोध स्वाभाविक थियो । तर उनीहरूलाई नाटोको सदस्यता नदिलाएकै हुनाले उनीहरूलाई रुसले पेलेको बोल्टन तर्क गर्छन् । ओबामा प्रशासनको कमजोरी देखेर रुसले छाती पिटेको र ट्रम्पले पनि ओबामाकै नीति पछ्याएको बोल्टनको अर्को बुझाइ छ ।
सन् २०१७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री टिलरसनले कर्ट भोल्करलाई युक्रेन सम्झौता वार्ताको निम्ति विशेष प्रतिनिधि नियुक्त गरे । रुसले क्रिमिया हस्तगत गरेकोलाई अमेरिकाले मान्यता नदिने भोल्करले नीति लिए । बोल्टन ट्रम्पको सुरक्षा सल्लाहकार रहुञ्जेल भोल्कर निरन्तर युक्रेन गइरहे र बोल्टनलाई नयाँ सूचनाहरू दिइरहे । २०१८ अगस्ट २४ मा युक्रेनमा स्वतन्त्रता दिवस मनाइँदै थियो । सोही सिलसिलामा बोल्टन पहिलोचोटि किभ पुगे । यसअघि उनी जेनिभामा थिए । त्यहाँ उनले आफ्ना रुसी समकक्षी निकोलाई पात्रुशेभलाई भेटेका थिए । पात्रुशेभको मन जाँच्न उनले आफू युक्रेनमा स्वतन्त्रता दिवस मनाउन जाने बताएका थिए । खासमा सोभियत सङ्घबाट अलग्गिएको दिनलाई नै युक्रेनले स्वतन्त्रता दिवस भन्दै आएको थियो ।
राष्ट्रपति पोरोशेन्कोको याचना
अगस्ट २४ गते बोल्टनले युक्रेनी प्रम भोलोदिमिर ग्रोएसमेनलाई भेटे । ग्रोएसमेनले सन् २०१९ को युक्रेनी निर्वाचनमा ‘रुसी हस्तक्षेप’ र युक्रेनी अर्थतन्त्रबारे बताए । ग्रोएसमेनले रुसले पहिले युक्रेन खाने र त्यसपछि विश्व नै निल्ने बताए । त्यसैले उनले अमेरिकी सहयोगको याचना गरे । त्यो भेटमा युक्रेनका लागि अमेरिकी राजदूत मेरी योभानोविच पनि थिइन् ।
किभमा धुमधामले स्वतन्त्रता दिवस मनाइयो । बोल्टनको उपस्थितिमा राष्ट्रपति पोरोशेन्कोले रुसविरुद्ध विषवमन गरे र रुसबाट अलग्गिएर युक्रेनी अर्थोडक्स चर्च स्थापना गर्ने उद्घोष गरे । ¥यालीका क्रममा पोरोशेन्कोले पटकपटक बोल्टनलाई धन्यवाद दिए । अमेरिकाको टेनिसी राज्यको नेशनल गार्डका सैनिकहरूले युक्रेनी सैनिकहरूलाई तालिम दिँदै थियो । यस्ता तालिमहरूमा नाटो सेना पनि सहभागी हुन्थ्यो । कार्यक्रमपछि बोल्टनले विदेशमन्त्री पाभ्लो क्लिमकिन, समकक्षी कोस्त्या एलिसेयेभ र अन्य अधिकारीहरूलाई पनि भेटे । त्यहाँ ‘रुसले युक्रेनसामु तेस्र्याएका सुरक्षा चुनौतीहरू’ बारे छलफल भयो । पोरोशेन्को थप अमेरिकी हतियारहरू किन्न चाहन्थे । बोल्टनले भने युक्रेनी कम्पनीहरूले चीनलाई हवाईजहाजको इन्जिनको डिजाइन बेचेको विषयमा प्रश्न उठाए ।
खुला बैठकपछि पोरोशेन्कोले बोल्टनलाई अर्कै कोठामा लगे । त्यहाँ उनीहरूबीच मात्र कुराकानी भयो । उनले बोल्टनलाई आफ्नो पुनर्निवाचन अभियानलाई ‘अनुमोदन’ गर्न अनुरोध गरे । युक्रेनको आसन्न निर्वाचनमा उनको विपक्षमा युलिया तिमोशेन्को र भोलोदिमिर जेलेन्स्कीले पनि उम्मेदवारी दिएका थिए । तिमोशेन्कोलाई धनाढ्य इगोर कोलोमोइस्कीले मद्दत गरिरहेका थिए । कोलोमोइस्कीविरुद्ध आर्थिक प्रतिबन्ध लगाएर सहयोग गर्नुप¥यो भनेर पोरोशेन्कोले बोल्टनसँग मद्दत मागे । बोल्टनले चलाखीपूर्वक कोलोमोइस्की र जेलेन्स्कीको साँठगाँठबारे कुरा लुकाएका छन् । तिनताका विभिन्न चुनावी मतसर्वेक्षणहरूले जेलेन्स्कीले पनि धेरै मत ल्याउने देखाएका थिए । तर, उनी सामान्य कलाकार हुन् भनी पोरोशेन्कोले बेवास्ता गरेको बोल्टन लेख्छन् । पोरोशेन्कोले भने, “उनी सामान्य कलाकार हुन् ।” बोल्टनले सोचे अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन पनि कलाकार थिए । कोलोमोइस्की वित्तीय हिनामिनामा मुछिएका मान्छे थिए । बोल्टनले उनी दोषी भए युक्रेनी कानुन मन्त्रालयमार्फत् नै कारबाही गर्न भने । यसको अर्थ उनी पोरोशेन्कोलाई सघाउन तयार थिएनन् । त्यसैले सम्भवतः अमेरिकालाई लोभ देखाउन अमेरिकी हतियार खरिद गर्ने बताएका थिए ।
तिमोशेन्को रुसप्रति नरम उम्मेदवार भन्ने हल्ला थियो । त्यसैले अमेरिकी विदेश मन्त्रालयले बोल्टनलाई तिमोशेन्कोसँग भेट्न दिएन । त्यसैले समूहमै उनीसँग भेटेर बोल्टन अमेरिका फर्के ।

बोल्टन र तत्कालीन युक्रेनी राष्ट्रपति पोरोशेन्को

कर्च जलडमरु
नोभेम्बर २५ मा युक्रेनी युद्धपोत र केही नौकाहरू कर्च जलडमरुको बाटो हुँदै एजोभ सागरमा पस्न खोजेको भन्दै रुसले केही युक्रेनीहरूलाई पक्राउ ग¥यो । कर्च जलडमरु क्रिमिया र रुसबीच अवस्थित छ । त्यहाँ रुसले पुल बनाएको थियो । युक्रेनी अधिकारीहरूलाई रुसको जलसेनाले पक्राउ गरेको थियो । यो घटनाबारे विश्वभरि अफवाहहरू फैलियो । कसैले रुसले हमला गरेको अर्थ लगाए भने रुसले चेतावनी स्वरूप गोली चलाएको बतायो । अमेरिकाले किभस्थित आफ्नो दूतावासबाट घटनाबारे जानकारी पायो ।
युद्धको गन्ध सुँघेर बोल्टनले ट्रम्पलाई फोन गरे । ट्रम्पले भने, “यसबारे युरोपेली देशहरू के भन्दै छन् ?” युरोप चुपचाप थियो । उसले पनि मात्र वक्तव्य जारी ग¥यो । ट्रम्पको धारणा फरक थियो । उनी चुनावी मुद्दा बनाउन नै राष्ट्रपति पोरोशेन्कोले घटना भड्काएको अनुमान गरे । क्रिमिया आफ्नो हो भनी वैधता दाबी गर्न रुसले जानाजान घटना गराएको हुनसक्ने बोल्टनको अनुमान थियो । तैपनि ट्रम्पले केही गरेनन् । उता पोरोशेन्कोले सङ्कटकाल घोषणा गरे । यसबाट पनि ट्रम्पको अनुमान सत्यनजिक देखिन पुग्यो । अमेरिकी विदेश मन्त्रालयले रुसविरोधी वक्तव्य जारी गर्न चाहन्थ्यो । ट्रम्पको विचार बुझेर बोल्टनले त्यो वक्तव्यलाई रोके । यस विषयमा राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक बस्ने सम्भावना थियो । त्यसअगावै रुसले सुरक्षा परिषद्को बैठक आह्वान ग¥यो । यो देखेर बोल्टन चकित भए ।
बोल्टनले घटनाबारे जर्मन समकक्षी यान हेकरसँग कुरा गरे । हेकरले पोरोशेन्को कर्च घटनाबाट बेखुसी नरहेको बताए । पोरोशेन्को रुसको विरोध गरेरै चुनाव जित्ने सोचमा थिए । पोरोशेन्कोले सङ्कटकाललाई ६० दिन लम्ब्याउन युक्रेनको संसद रादामा लगे । सङ्कटकालमा राजनीतिक गतिविधि गर्न नपाइने प्रावधान थियो । यसबाट निर्वाचन पछि पनि सर्न सक्थ्यो । यसले पोरोशेन्कोलाई नै फाइदा पुग्थ्यो । जर्मनीले निर्वाचन पछि सार्ने निर्णयको विरोध ग¥यो । जर्मन चान्सलर एँगेला मर्कलले पोरोशेन्कोसँग कुरा गर्ने कार्यक्रम थियो ।
यसपछि बोल्टनले ट्रम्पसँग कुरा गरे । ट्रम्पले पुरानै कुरा दोहो¥याए र भने, “युरोपेलीहरूले जे गर्ने हो, गरुन् । म यसमा पर्नेछैन ।” यस्तैमा राष्ट्रसङ्घमा अमेरिकी दूत निक्की हेलीले रुसविरुद्ध कडा भाषा बोलिन् । उनले रुसले अन्तर्राष्ट्रिय सीमा र कानुन मिचेर युक्रेनको सार्वभौमिकता मिचेको बताइन् । पोम्पेओ र बोल्टन खुसी भए र हेलीको विचारमा सहमति जनाउने निर्णय गरे । बोल्टनले बेलायती र फ्रान्सेली समकक्षीहरूलाई फोन गरे । बेलायती समकक्षी सेडविलले क्यानडाले युक्रेनको पक्षमा वक्तव्यको तयारी गरिरहेको बताए । त्यसपछि बोल्टन र पोम्पेओले हेलीसँग कुरा गरे । हेलीले उनीहरूलाई बेवास्ता गर्दै ट्रम्पलाई अर्कै विवरण बुझाइन् । त्यो वक्तव्य उनले पत्रकारहरूसामू पढ्दै थिइन् । हेलीको भाषा कडा भए पनि ट्रम्पले त्यसमा सहमति जनाए । यस विषयमा मिडियाले आफूलाई ‘नरम भएको’ आरोप नलगाओस् भन्नेमा ट्रम्प सचेत थिए । रुसले युक्रेनी जहाज र त्यसमा सवार अधिकारीहरू रिहा गर्नुपर्छ भनी माग नराख्न ट्रम्पले भने । रुसले मानेन भने अमेरिका कमजोर देखिने ट्रम्पको तर्क थियो । तर हेलीले आफ्नो तयारी अनुसार बोलिन् । हेलीको आफ्नो पारा यहाँ पनि देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *