भर्खरै :

प्रम दाहालको समर्थनमा प्रमुख प्रतिपक्षी नेकासमेत ! नेमकिपा विपक्षमा

प्रम दाहालको समर्थनमा प्रमुख प्रतिपक्षी नेकासमेत ! नेमकिपा विपक्षमा

काठमाडौँ, २६ पुस । देशघाती एमसीसी सम्झौता र एसपीपी साझेदारी, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक खारेजीलगायत नेपाल मजदुर किसान पार्टीले राखेको देश र जनताको  विषयमा सत्ता गठबन्धनका नेताहरू र माओवादीका प्रम पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्ट नगरेको हुँदा नेमकिपाका सांसद प्रेम सुवालले प्रमको विश्वासको प्रस्तावको विपक्षमा मत दिनुभयो ।
सांसद सुवालले प्रम प्रचण्डको विश्वासको प्रस्तावबारे बोल्दै देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचान संरक्षण गर्न सङ्घीय राजधानी दाङ उपत्यकामा सार्नुपर्ने औँल्याउनुभयो ।
विकास विस्थापन नभएको तर काठमाडौँ उपत्यकाका आदिवासी नेवारहरूको पहिचान हराउने र विस्थापित हुने उल्लेख गर्दै सांसद सुवालले नगरपालिकाहरूलाई आ-आफ्नो पहिचान र संस्कृति संरक्षण गर्ने अदालत बाधक बनेको, सम्पन्न खस आर्य समूहले कामदार वर्गका खस आर्य तथा अन्य जातजातिलाई अवसर नदिएको तर्फ सत्ता गठबन्धन र प्रमको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि विश्वासको प्रस्ताव पेश गर्दै प्रम दाहालले पार्टीभित्रको सङ्घर्षको कारण पहिलो पटकको प्रम कालमा राजीनामा दिएको, दोस्रो कार्यकालमा मधेस आन्दोलन भएको उल्लेख गर्दै तेस्रो कार्यकालमा काम गर्ने लामो सूची पेश गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकाका शेरबहादुर देउवाले प्रतिपक्षी दल आवश्यक भएको तर संसद् पूर्णकाल कायम हुनुपर्ने भएकोले दाहाललाई समर्थन गर्ने बताउनुभयो ।
सत्ता गठबन्धनका प्रमुख दल एमालेका नेता केपी शर्मा ओलीले २०५८ सालको देउवाबाट भएको संसद् भङ्गलाई आफूले समर्थन गरेको उल्लेख गर्दै नेका प्रतिपक्षी होइन सहकार्यमा रहने बताउनुभयो र एमालेले प्रम दाहाललाई समर्थन गर्ने घोषणा गर्नुभयो ।
माओवादीका रेखा शर्माले प्रम दाहालले आत्म समीक्षासहित मत माग्नु भएकोले समर्थन गर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले प्रमुख प्रतिपक्षी नेकासमेतले प्रम दाहाललाई समर्थन गरेको हुँदा आफ्नो पार्टीले पनि साथ दिने बताउनुभयो ।
राप्रपाका राजेन्द्र लिङदेन, जसपाका अशोकुमार राई, एसपाका माधवकुमार नेपाल, जनमतका अनितादेवी, लोसपाका सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले पनि प्रधानमन्त्री दाहाललाई समर्थन गर्ने बताउनुभयो ।
राजमोका चित्रबहादुर केसीले एमालेका ओलीले संसद् विघटन गर्ने विषय उठाएकोलाई विरोध गर्दै प्रम दाहालको विपक्षमा मत दिने बताउनुभयो ।
स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, योगेन्द्र मण्डलले पनि प्रम दाहाललाई समर्थन गर्ने बताउनुभयो ।
सांसदहरूले उठाएका विषयबारे स्पष्टीकरण दिने क्रममा प्रम दाहालले दौरा सुरुवाल पोशाक यसअघि अवसर नजुटेकोले मात्र नलगाएको उल्लेख गर्दै दौरा सुरुवाल लगाउनेको चुनावमा मत समेत बढेको हुँदा यसपटक आफूले लगाएको बताउनुभयो ।
सशस्त्र द्वन्द्वको बेला पृथ्वीनारायण शाहको कार्यनीति र रणनीतिबारे पढेको उल्लेख गर्दै प्रम दाहालले बाइसे–चौबीसे राज्यलाई पृथ्वीनारायण शाहले बनाएको एकीकृत राज्यलाई अग्रगामी बताउनुभयो ।
प्रम दाहालले मिलेर जाने २००७ सालदेखिको परम्परा भएको र त्यसलाई अझ माथि उठाउनुपर्ने बताउनुभयो ।
प्रम दाहालको विश्वासको प्रस्तावमा मत विभाजन हुँदा नेमकिपाका प्रेम सुवाल र राजमोका चित्रबहादुर केसीले विपक्षमा मत दिनुभयो भने बाँकी दलहरूको २६८ मत पक्षमा गयो। नेकाका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् भने चारजना अन्य सांसदको अनुपस्थिति थियो ।
प्रतिनिधिसभाको माघ ५गते हुने बैठकमा सभामुखको चुनाव गरिनेछ भने माघ ३ गते सभामुख चुनावको कार्यक्रम प्रकाशित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *