नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
देश निर्माणमा निःस्वार्थरूपले दिएको योगदान कहिल्यै खेर जानेछैन । यही भावनाअनुरूप हाम्रा पुर्खाहरूले चाँगुनारायण, यक्षश्वर महादेव, पचपन्नझ्याले दरबार, स्वर्णद्वार, नृत्य वत्सला, भैरवनाथ, पाँचतले मन्दिर, पोखरी, पाटी, धारा आदि बनाए । आज त्यही कीर्ति हाम्रो नेपाल विश्वलाई चिनाउने सांस्कृतिक धरोहर र पहिचान बनेको छ । यसैबाट संसारमा नेपाल कला र संस्कृतिमा धनी देश भनेर चिनिएको छ । इटालीका अन्वेषक कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा पहिला नै यी धरोहरहरू उठिसकेका थिए । त्यसबेला हामी नेपाली कला, संस्कृति, शिक्षा, सभ्यतामा उनीहरूभन्दा अगाडि रहेको प्रस्ट हुन्छ । हाम्रा पुर्खा तथा अग्रजहरू देशभक्ति भावनाका धनी थिए । पहिलाका हाम्रा अग्रजहरू आफ्ना व्यक्तिगत स्वार्थ र कामलाई भन्दा समाज र देश बनाउने, सम्पदाको जगेर्ना गर्ने काममा अगाडि बढ्थे ।
विशेषगरी, राजधानी काठमाडौँ उपत्यकामा देशको वैभव बनाउने काममा हाम्रा अग्रजहरू अगाडि थिए । यस्तो वैभव धरोहर निर्माणमा त्यसबेला एउटा राज्यको राजा र जनता अर्काे राज्यका राजा र जनताको बिचमा प्रतिस्पर्धा नै हुन्थे । ती धरोहरहरूको मर्मत, सम्भार र संरक्षण हुँदै आएको छ । हाल पनि यही भावना भक्तपुरलगायत देशको अन्य ठाउँमा मरेको छैन, जीवित छ । यो भावनालाई नेपाल र नेपाली जनताले आत्मसात गरिरहेका छन् । हामीले यो भावनालाई कदापि मर्न दिनुहुँदैन । हाम्रा गौरवशाली धरोहरहरू यही भावनाको फल हो भन्दा फरक नपर्ला । आज गगनचुम्बी कङ्क्रितका भवन हेर्न विश्वका जनता नेपाल आएका होइनन्, हाम्रा पुर्खाका नासो सांस्कृतिक धरोहरहरू हेर्न नेपाल आएका हुन् ।
तर, २०७२ सालको विनाशकारी भूकम्पले देशभरका सांस्कृतिक धरोहरहरूलाई ध्वस्त बनायो, क्षति पु¥यायो । भग्नावशेषमा परिणत भएका सांस्कृतिक धरोहरहरूको पुनः निर्माण गर्न, पुनः जीवन दिन सरकारले विदेशीसँग हात थाप्यो । परिणामस्वरूप काठमाडौँ, ललितपुरलगायत देशका अन्य भागको विदेशीको सर्तसहितको सहयोगले ती धरोहरहरू उठे, अझै उठ्दै छन् । विदेशी सहयोगविना जीर्णाेद्धार र पुनःनिर्माण भएको सम्पदा पाउन मुश्किल भएको छ । पुर्खाको रगत पसिनाले आफ्नै खुट्टामा उभेर आफ्नै बलबुट्टाले बनाएर नासोको रूपमा सुम्पेका धरोहरहरू विदेशीलाई बनाउन दिनु दुःखद कुरा हो । आफ्नै परिश्रम र पैसाले बनाएको कला र संस्कृतिमा आत्मगौरव र आनन्द हुन्छ । ती काठमाडौँ, ललितपुरलगायत अन्य ठाउँको सांस्कृतिक धरोहरहरू नेपाल बनाउँछु भन्ने कसम खाएको नेपाल सरकार, कला र संस्कृतिमा पारखी काठमाडौँ र ललितपुरका जनताले आफ्नै खुट्टामा उभेर, आफ्नै बलबुट्टाले बनाउन पुनःनिर्माण, जीर्णाेद्धार गर्न नसकेको हो र ! पक्कै होइन । मुख्य राजनीतिक सोचको कुरा हो । मुख्य देश बनाउने भावनाको कुरा हो ।
देश विदेशीले बनाउने होइन हामी नेपाली आफैले बनाउने हो । यदि विदेशीले देश बनाइदियो भने त्यो देश हाम्रो हुनेछैन । त्यसमा जनताको अपनत्व हुँदैन, माया हुँदैन । भावनाले नेपालको हुँदैन, विदेशी हुन्छ । व्यापार र विकासको नाममा बेलायती साम्राज्यवादले भारतीय जनतामाथि दुई सय वर्षसम्म शासन ग¥यो, उपनिवेश जमायो । त्यहाँ बेलायती उपनिवेशको प्रभाव छोडेर गयो । विश्वमा यस्तै थुप्रै उदाहरणहरू छन् । त्यहाँका आदिवासी नेवार भनिएका जनतामा देशप्रेमको भावना, राजनीति सचेतताको अभावमा देशीभन्दा विदेशी सोखिन भावना बढेर गएको हो कि ¤ हाम्रा पुर्खाले सुम्पेको वैभव विदेशीले जीर्णाेद्धार गरिदिँदा, बनाइदिँदा के हिजोको हाम्रो शान र गौरव सगरमाथाझैँ अटल रहिरहन्छ ? यो मन्दिर फलानो देशले बनाइदिएको, यो सम्पदा ढिस्कानो देशले बनाइदिएको भन्ने झन्डाको चिह्नसहितको सन्देश गएपछि हाम्रो भन्ने के नै बाँकी रहन्छ र ? हाम्रो सम्पदामा नेपालीको अपनत्व हुन्छ कि विदेशीको ? पक्कै पनि हाम्रो भन्ने भावना क्रमशः घट्दै जानेछ जुन देश खाने विदेशीले चाहेको हुन्छ । यहाँ देश विकास गरिदियो तथा देश बनाइदियो भने विदेशीलाई ठेक्कामा दिए पनि हुने, देश विदेशीलाई चलाउन दिए पनि हुने, देश विदेशीलाई सुम्पे पनि हुने सोच विचार राख्ने नेपाली भनिएका देशद्रोहीहरू पनि नभएका होइनन् । यसैलाई भनिन्छ, सांस्कृतिक आक्रमण । यसमा मालिक र निर्णायक विदेशीहरू नै हुने छन् । हामी नोकर र दास हुनेछौँ ।
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिहरू हाम्रो देश हामी आफैँले बनाउने हो भन्ने भावनाका साथ अगाडि बढिरहेका छन् । पुर्खाले सुम्पेर गएको, रगत पसिना बगाएर बनाएको कला र संस्कृतिको उत्तराधिकारी नयाँ पुस्ताले मर्मत सम्भार गरेर बचाउनु र संरक्षण गरेर पुनर्जीवन दिनु हाम्रो परम कर्तव्य हो । उनीहरू यो देश हाम्रो हो, हाम्रो सम्पदा, समाज र देश हामी आफ्नै बलबुट्टाले बनाउने हो भन्ने भावनाका साथ अगाडि बढिरहेको नेपाली जनताले देखिरहेका छन् ।
हामीले हाम्रो सांस्कृतिक सम्पदा बनाउन, देश बनाउन आफूले आफैँलाई विश्वास नगरिकन विदेशीलाई विश्वास गरेर विदेशीसँग सहयोग माग्ने प्रवृत्ति बढ्यो भने, विदेशीमा भर पर्दै गयो भने देशको स्वाधीनता र सार्वभौमिकतामा घात गर्ने सर्तसहितको सहयोग र मद्दत लियौँ भने हामी बिस्तारै परनिर्भर हुँदै जानेछौँ । नेपाल भन्ने देश त रहला तर देश विदेशीको हातमा हुनेछ । उनीहरूले हामीलाई आदेश दिनेछन् र हेप्नेछन् । हाम्रो गौरवको शिर क्रमशः झुक्दै जानेछ । त्यसैले, भक्तपुर नगरपालिकाले विगतमा भूकम्पले क्षति भएका सांस्कृतिक धरोहर पुनः निर्माण गर्न देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्ने खालका विभिन्न सर्तसहित विदेशी सहयोगलाई अस्वीकार ग¥यो । हाम्रो सम्पदा हामी आफैँ जनताको साथ र सहयोगमा बनाउँछौँ, भक्तपुरमा कला र संस्कृतिका पारखी, अनुभवी अग्रज र जनता जीवित नै छन्, हामीले हारेका छैनौँ भनेर उनीहरूले जवाफ दिए । यसैको परिणामस्वरूप भक्तपुर नगरपालिकाको सहयोगमा यहाँका जनताले हातमा हात, काँधमा काँध मिलाएर आफ्नै सीप, कला, माटो, काठ, इँटाको प्रयोग गरेर पचपन्नझ्याले दरबार, नृत्य वत्सला, पाँचतले मन्दिर, भैरवनाथजस्ता प्रसिद्ध मन्दिरहरू, सिद्धपोखरी, रानीपोखरीजस्ता ऐतिहासिक पोखरीहरू छोटो समयमै पुनः निर्माण गरेर विश्वलाई आश्चर्यचकित पारिदिए ।
मुख्य कुरा दीर्घकालीन राजनीतिक सोच र विचार हो । आफ्नो सम्पदा, देश आफैँले बनाउने कि विदेशीलाई बनाउन दिने भन्ने हो । आफ्नो सांस्कृतिक धरोहर आफैँले बनाउने, आफ्नो देश आफैँले बनाउने भावनाअनुसार भक्तपुरका जनताको सहयोगमा भक्तपुर नगरपालिकाले भक्तपुरका विभिन्न सांस्कृतिक सम्पदाहरूको मर्मत, जीर्णाेद्धार, पुनःनिर्माण गरिरहेको नेपाल र विश्वका जनताले अभिरुचिका साथ हेरिरहेका छन् । यसै क्रममा उपत्यकाका प्रसिद्ध चार नारायणमध्येको एक भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीस्थित आकर्षक र कलात्मक वाकुपतिनारायणको मन्दिर पनि हो ।
भक्तपुर नगरपालिकालगायत अन्य थुप्रै सहयोगी हातहरूको सहयोगमा स्थानीय जनता सम्मिलित उपभोक्ता समितिमार्फत करिब १ करोड ११ लाख रूपैयाँको आर्थिक र जिन्सी सहयोग जुताएर मन्दिरको पुरानो, चुहिएको झिङ्गटीको छानो भत्काएर सुनको पोतिएको छानो राखेर जीर्णाेद्धार र पुनःनिर्माण गरी मन्दिरलाई अझ कलात्मक र आकर्षक बनाइएको छ । यसरी जनताले निःस्वार्थका साथ योगदान गरेको कहिल्यै खेर जाने छैन ।
Leave a Reply