भर्खरै :

खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताका लागि

खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताका लागि

भक्तपुर, ३० पुस । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ मा निर्वाचितहरूलाई बधाई ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा च्वङागणेश सल्लाघारीमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताका साथै सार्वभौमिकताको लागि पनि हो भन्दै देशको सार्वभौमिकतामाथि थिचोमिचो बढिरहेको हुँदा देशभक्त नेपालीहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षविहीन हुने गरी नेकाले प्रम प्रचण्डलाई विश्वासको मत दिँदा संसद्ले बनाएको कानुन नमान्ने अवस्था आएकोले देशमा अराजकता फैलिने बताउनुभयो ।
उहाँले संविधानअनुसार अब प्रमुख प्रतिपक्ष नेपाल मजदुर किसान पार्टी भएको बताउँदै सभामुखले नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्नुपर्ने माग गर्नुभयो । उहाँले अहिले कर्मचारीहरूलाई तलब खुवाउन पनि नपुगेको उल्लेख गर्दै बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बनाउन युवालाई विदेश पठाउने नीतिले दैनिक ६÷७ वटा लास भित्रिरहेको बताउनुभयो । उहाँले बैङ्क माफियाहरूले बैङ्कमा ऋण लिने र ब्याज मिनाहा गर्ने गर्दा तल्लो वर्गको हित हुन नसकेको बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध खेलाडीहरू लागिपर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले निर्वाचनमा आफ्नो अमूल्य मत दिएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै देशमा शासक दलहरूको अकर्मण्यताका कारण देश जोगाउन गा¥हो हुने अवस्था आएकोले खेलाडी र युवाहरूको एकता कायम भएमात्र देश जोगाउन सक्ने बताउनुभयो । उहाँले युवा अवस्था जोश, जाँगर र उमङ्गले भरिएका युवा शक्ति एकत्रित गर्न सकेको खण्डमा राष्ट्र निर्माणमा विकासलगायत सङ्घलाई पनि विकास गर्न सकिन्छ भन्नुभयो ।
उहाँले युवाहरूलाई तहसनहस पार्ने पुँजीवादीहरूको घृणित हतियार लागुपदार्थ, वेश्यावृत्ति र जुवातासले युवाहरूको काम, शिक्षा, व्यापार, सामाजिक कार्यमा असक्षम बनाउने र अनैतिक कार्यमा सहभागी गराउने विकृतिविरुद्ध युवाहरूलाई सचेत पारी शारीरिक तथा बौद्धिक विकासको लागि खेलकुद आवश्यक छ भन्नुभयो ।
नेमकिपाका प्रदेश सभासद् सृजना सैजूले देशको राजनीति सबैसँग जोडिने भएकोले खेलकुद पनि अछुतो रहन नसक्ने बताउनुभयो । उहाँले देशको परिस्थिति र शासक दलहरूको कारण प्रजातन्त्र सङ्कटमा परेको बताउँदै शासक दलहरूले गाईजात्रा देखाइरहेको बताउनुभयो । उहाँले ३० वर्ष पञ्चायतविरुद्ध सङ्घर्ष गरेर आएको प्रजातन्त्र र गणतन्त्र मास्ने र राजालाई काँधमा बोकी हिँड्ने राप्रपालाई सभामुख बनाउन लागिपरेकोले त्यसविरुद्ध प्रदेशमा सभामुख र उपसभामुखको उम्मेदवारी दिएको बताउनुभयो ।
नेपाल बक्सिङ सङ्घका आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठले विकृति र विसङ्गति हटाउन सके खेलकुद विकास हुने बताउनुभयो । उहाँले युवाहरूलाई दुव्र्यसनीबाट टाढा राख्न खेलकुद महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
नेपाल बक्सिङ सङ्घका राम अवालेले एक थुकी सुकी सय थुकी नदी भनेजस्तै धेरै बक्सिङ खेलाडी उत्पादन गरे गुणस्तरमा पनि वृद्धि हुने बताउनुभयो । उहाँले भक्तपुर जिल्ला बक्सिङ सङ्घले बक्सिङ विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापतिको मन्तव्य राख्दै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा लक्ष्मीप्रसाद दुवाल र साजन लघुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *