भर्खरै :

नेमकिपा देशको लागि नमुना पार्टी

माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेमकिपाको लक्ष्य हो । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी प्रजातन्त्र हो । यो प्रजातन्त्रले या यस व्यवस्थाभित्र रहेर शासन गर्ने सरकारले बहुमत कामदार जनताको हित गर्दैन, गरिरहेको छैन । समाजवादी गणतन्त्रले मात्र व्यापक मजदुर, किसान, व्यापारी, व्यवसायी, बुद्धिजीवी, कर्मचारी, सेना, प्रहरी, शिक्षक, विद्यार्थी, युवा, ज्येष्ठ नागरिक तथा महिलाको हित गर्छ । यसकारण, नेमकिपा आफ्नो मार्गनिर्देशक सिद्धान्तलाई व्यवहारमा लागु गर्न जनतालाई सचेत र सङ्गठित पार्दै छ । नेमकिपाले दलको सिद्धान्त र विचारअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । यसरी नै अन्य कम्युनिस्ट पार्टी भन्नेहरूले पनि दलको सिद्धान्त र विचारअनुसार आ–आफ्नो धर्म निर्वाह गरेका भए जनता सचेत र सङ्गठित हुनेछन् र यसले आमूल परिवर्तन गर्न ठूलो टेवा पुग्नेछ ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको आधारमा नेपाली कामदार जनताको एक राजनीतिक पार्टीको स्थापनाको आवश्यकता देखेरै १९७५ जनवरी २३ अर्थात २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीभित्र खोटो विचार देखिन थाल्यो । कम्युनिस्ट पार्टीको वर्ग शत्रु र वर्ग मित्रबारे भेद देखियो । रूसी सामाजिक साम्राज्यवाद र विस्तारवादको सवालमा सैद्धान्तिक सङ्घर्ष भयो । नेपालको कम्युनिस्ट आन्दोलन विश्रृङ्खलित अवस्थामा पुग्यो । सर्वसाधारण जनतालाई सङ्गठित गर्न र कामदार वर्गको सङ्घर्ष अघि बढाउन प्रतिक्रियावादीभन्दा प्रतिक्रयावादी सङ्घ संस्थामा गएर बहुमत जनताको सेवा गर्ने विषयमा मतमतान्तर देखियो । यसरी कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचारमाथि लात मार्ने, विपरीत दिशामा जाने कम्युनिस्टहरू देखिन थालेपछि देशमा नेमकिपाको जन्म भएको हो ।
पार्टी स्थापना भएदेखि आफ्नो मार्गनिर्देशक सिद्धान्तअनुसार नेमकिपा लागिरह्यो । नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीमा नेमकिपाले दिशा निर्देश गर्ने काम गरिरहेको छ । नेमकिपाले सामन्तवाद विरोधी आन्दोलन चलायो । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर कामदार जनतालाई पुँजीवादी प्रभावबाट मुक्त गर्ने लेनिनवादी नीति अँगालेर नेमकिपाले देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गरिरह्यो, गरिरहेको छ । नेमकिपाले लिएको बाटो अरू दलहरूले पनि आत्समात गरिरहे । आमूल परिवर्तन गर्न देशका प्रगतिशील बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्ग, इमानदार कर्मचारी, किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, व्यापारी, व्यवसायी नेमकिपाको झन्डामुनि बस्नुपर्छ । नेमकिपाको झन्डामुनि बसेर हरेकले देश र जनताको निम्ति इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
विदेशी हस्तक्षेप र आक्रमणको विरोध गर्ने, सत्ताको भागबन्डामा नलाग्ने, देशघाती सन्धि सम्झौताको विरोध गर्ने नेमकिपाको सैद्धान्तिक सङ्घर्षले गर्दा अरू दलका इमानदार बुद्धिजीवी, लेखक, प्राध्यापक र नेताहरू पनि नेमकिपाको प्रशंसा गर्छन्, नेमकिपाको इमानदारिताको कदर गर्छन् । प्रदेशको नामकरणबारे नेमकिपाको धारणा सटिक रह्यो । तीन प्रतिशतको मतसीमाको विरोध गरेर नेमकिपा प्रजातन्त्रको मूल्य र मान्यतामा अडिग रह्यो । भारतीय एकाधिकार पुँजीको विरोध गर्दै अन्य देशहरूसँग पनि मित्रता बढाएर अरू देशहरूबाट पनि देशको लागि आवश्यक सामान लिनुपर्ने नेमकिपाको विचार देश र जनताको पक्षमा थियो । नेपालको संविधान निर्माणको समयमा मात्र होइन अन्य समयमा पनि नेमकिपाले कामदार जनताको हितमा संविधानमा प्रगतिशील प्रावधानहरू राख्न निरन्तर सङ्घर्ष गरिरह्यो । नेमकिपा जातीय र क्षेत्रीय राज्यको विपक्षमा उभियो । यसरी सरकारमा नगइकन देश र जनताको पक्षमा इमानदारीपूर्वक लागिरहनु सामान्य कुरा होइन । सामन्त, जमिनदार, प्रतिक्रियावादी, जालीफटाहा, पुँजीपतिहरूको अनेक लोभलालच, चुनौतीको सामना गर्दै अघि बढिरहनु सामान्य कुरा होइन । यसकारण, नेमकिपा अरू कम्युनिस्ट पार्टीको निम्ति प्रकाशस्तम्भको रूपमा रहेको हो, नेमकिपा देशको लागि नमुना पार्टी बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *