समाजवादउन्मुख राज्य व्यवस्थाको आधारमा बजेट ल्याउनुपर्छ
- जेष्ठ १०, २०८३
नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा जनताको घर आँगनमा पु¥याएर सचेत र सङ्गठित गर्ने नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हो । महान् विचारकहरूको दर्शन पढेर, उपदेशहरू कण्ठ गरेरमात्र जनता सचेत हुने होइन । दलको सिद्धान्त र विचार राम्रो भए पनि जनतालाई शिक्षित र दीक्षित गरिएन भने त्यो मनको लड्डूमात्र हुनेछ । सचेत नेता तथा कार्यकर्ता र सङ्गठित जनशक्तिको आन्दोलनले सफलता पाउँछ । नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरू जनतालाई सचेत पार्दै समाजवादी प्रचार अभियानमा लागिरहेका छन् ।
सिद्धान्त र विचार प्रचार गर्नुमात्रै नेता तथा कार्यकर्ताहरूको काम होइन । कुनै दल, समूह या व्यक्तिले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराविपरीत सिद्धान्त र विचार फलाकेमा, गतिविधि गरेमा त्यसको खण्डन गर्नु पनि कार्यकर्ताहरूको कर्तव्य हो । कुनै दलका नेता तथा कार्यकर्ताले जाली काम गरे, झूटको खेती गरे, पार्टी फुटाउन नेता तथा कार्यकर्ता तान्ने, तान्न अनेक जालझेल र लोभलालच बाँडे खबरदारी गर्ने काम गर्न पनि हामी पछि पर्नु हुँदैन । जनताको बिचमा जाने कार्यकर्ताहरू अनुशासित हुनुपर्छ, उत्प्रेरक हुनुपर्छ, जिम्मेवारीबोध, देशभक्त र जनसेवक हुनुपर्छ । पार्टी अनुशासन पालना गरे आफ्नो पदको जिम्मेवारी पूरा गर्नुपर्छ ।
पार्टी नेता तथा कार्यकर्ताहरू उदाहरणीय बन्नुपर्छ । घुस खाने, आपराधिक गतिविधिमा लाग्ने, जनतालाई सताउने, सार्वजनिक सम्पत्ति मिच्ने, आफ्नो व्यक्तिगत स्वार्थको लागि सिद्धान्त र विचार छोड्ने नेता तथा कार्यकर्ताहरू सद्दे कार्यकर्ता हुँदैनन्, जनताका कार्यकर्ता हुँदैनन् । पार्टीको अनुशासन पालना गर्ने, पार्टी गतिविधिमा सरिक हुने, समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विकृति र विसङ्गति अन्त्य गर्न पहल गर्ने या अगुवाइ गर्ने काम पनि पार्टी नेता तथा कार्यकर्ताहरूको हो । पार्टीको गोप्यता कायम गर्ने, कुनै कुरामा चित्त बुझेन, सन्तुष्ट भएन भनेर जहाँतहीँ कुरा काट्दै हिँड्ने, जहाँतही पोख्ने काम सच्चा कार्यकर्ताको गुण होइन । पार्टी प्रकाशनको अध्ययन गर्ने, अध्ययनको कुरा जनतामाझ पु¥याउने या पु¥याउन विभिन्न गोष्ठी, छलफल, अन्तरक्रिया र प्रवचनजस्ता काम निरन्तर गरिरहनुपर्ने हुन्छ ।
पार्टी सङ्गठन विस्तार गर्न, पार्टीको उद्देश्य जनताको घर आँगनमा पु¥याउने काम कार्यकर्ताहरूको जिम्मेवारी हो । हरेक पार्टी कार्यकर्ताहरूले वर्ग शत्रु र वर्ग मित्र थाहा पाउनुपर्छ । त्यस्तो कुरा जनतामाझ स्पष्टसँग राख्नुपर्छ । देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन जनतालाई देशभक्त बनाउनु र सङ्घर्षशील बनाउनु पनि कार्यकर्ताको कर्तव्य हो । देश र जनताको पक्षमा हुने सङ्घर्षमा जनतालाई सक्रिय सहभागी गराउने, देशका सामन्त, जमिनदार, जालीफटाहा, पुँजीपति, षड्यन्त्रकारीहरूबाट सावधान गराउने, कुनै पनि लोभलालच, डर–धम्की र पैसामा बिक्ने प्रवृत्तिबाट टाढा राख्ने काममा पनि कार्यकर्ताहरू लाग्नु जरूरी छ । हरेक कार्यकर्ता अनुशासित हुनुपर्ने, जनतामाझ शिष्ट व्यवहार गर्ने, जनताको घर–आँगनमा पुगेर दुःख सुख बुझ्ने, आपत्विपत्मा सहयोग गर्ने काममा कार्यकर्ताहरू खट्नुपर्ने हुन्छ । अनिमात्र जनताको विश्वास जित्नेछ र कार्यकर्ताहरू साँच्चै जनताका आँखाका नानी हुनेछन् ।
Leave a Reply