भर्खरै :

नेपालको अतिक्रमित भूमि फिर्ता नलिने मन्त्रीहरू कसरी देशभक्त ?

काठमाडौँ, ३ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माघ ५ गतेको बैठक अगाडि नै प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाल मजदुर किसान पार्टीलाई तोकिदिन प्रतिनिधिसभाको सचिवालयमा पत्र पेश गर्नुभयो । सांसद सुवालले सो पत्रको बोधार्थ सबै राजनीतिक दललाई दिनुभयो ।
सांसद सुवालले माघ २ गते काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र माघ ३ गते क्षेत्र नं. ४ र ५ का जनतासँग भेटघाट गर्नुभयो ।
भेटघाटमा सांसद सुवालले देशको सीमामा सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने वाचा गरेका शासक दलहरूले नेपाली युवालाई भाडाको सिपाही बनाउन गोर्खा भर्तीकेन्द्र र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएका पञ्चायतकालदेखि अहिलेसम्मका प्रम, मन्त्री र उच्च अधिकारीहरूका सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्नु जरुरी छ, सांसद सुवालले जोड दिनुभयो ।
पद र पैसाको लागि सिद्धान्तहीन निर्वाचन गठबन्धन र सत्ता गठबन्धन गरेका शासक दलहरूबाट देश र जनताको हित हुने अपेक्षा गर्ने ठाउँ नभएको उल्लेख गर्दै सांसद सुवालले भारतीय एकाधिकार पुँजी र विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको विरोध नगरेका शासक दलहरू देशभक्त नहुने स्पष्ट पार्नुभयो ।
“राजनीति गुलाबको ओछ्यान होइन, राजनीतिक दल र यसका नेता–कार्यकर्ताहरू तरबारको धारबाट हिँड्न तयार हुनुपर्छ । निर्वाचनमा पैसा र सामान बाँडेका, भोजभतेर खुवाएका शासक दलहरू र तिनका नेताहरू पैसा कुम्ल्याउनकै लागि पार्टीको झन्डा बोकेका हुन् ।” सांसद सुवालले स्पष्ट गर्नुभयो ।
सांसद सुवालले बाग्मती प्रदेशसभामा पनि नेमकिपा नै प्रमुख विपक्षी दल भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *