भर्खरै :

बचतकर्ताहरूबिच अन्तरक्रिया कार्यक्रम

बचतकर्ताहरूबिच अन्तरक्रिया कार्यक्रम

भक्तपुर, ४ माघ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९ औँ स्थापना दिवसको अवसरमा बचत उपसमितिको आयोजनामा संस्थाका बचतकर्ताहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले नाफामुखी सहकारी संस्थाले बचतकर्ताहरूबाट रकम सङ्कलन गरी भौतिक संरचना निर्माण गर्ने गरेको र त्यस्ता संस्थाहरूले बचतकर्ताहरूको रकम जोखिममा पार्ने गरेको तर्फ सचेत गराउँदै समुदायमा आधारित र स्थानीय व्यक्तिहरूबाट सञ्चालित सहकारीमा कारोबार गर्न अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको अवधारणागत पक्षहरूसँगै पुस मसान्तसम्मको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाले पुस मसान्तसम्ममा १६१२३ जना सदस्यबाट २ अर्ब ६५ करोड ६८ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजुले संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाका सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षहरूबारे जानकारी लिन तथा सहकारी अभियानको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीका मूल्य मान्यता तथा ऐन कानुनविपरीत कार्य गर्ने २३१ वटा सहकारी संस्थाहरू हाल जोखिममा रहेको जानकारी दिँदै त्यस्ता सहकारी सङ्कटमा पर्नुमा सञ्चालकहरूको बदमासीसँगै बचतकर्ताहरूको आर्थिक प्रलोभन पनि मुख्य कारक रहेको बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सदस्य सुन्दर मानन्धर र चिरीमैयाँ लाखाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *