भर्खरै :

गुण्डुको मन्थली डाँडामा सरसफाइ

गुण्डुको मन्थली डाँडामा सरसफाइ

भक्तपुर, ४ माघ । भक्तपुरको एभरेस्ट इङ्गलिश स्कूल मिवाछेँ ब्यासीका विद्यार्थीले बुधबार सूर्यविनायक नगरपालिका गुण्डुमा पुगेर सरसफाइ गरेका छन् । स्कूलको कक्षा ७ को एउटा समूहका ३७ जना छात्रछात्राहरू संस्थापक प्रिन्सिपल भक्त राजभण्डरीसँगै शिक्षकशिक्षिकाहरू सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको मन्थली डाँडामा पुगेर सरसफाइमा जुटेका हुन् ।
मन्थलीस्थित जङ्गलको बिचमा रहेको यो ठाउँ पिकनिक स्पोर्टको रूपमा रहेको र त्यहाँ जथाभावी फोहोर फालेर सफा नगर्ने हुनाले त्यही फोहोरको सङ्कलन र व्यवस्थापनमा विद्यार्थी लागिपरेका हुन् । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँमा विद्यार्थीहरूले जथाभावी फालिएका फोहर, पानीका बोटल, विभिन्न ब्रान्डका रक्सीका बोटलहरू, प्लाष्टिकहरू, शिशाका टुक्राहरू आदि सङ्कलन गरी व्यवस्थापन गरेका हुन् ।
सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँमा फोहोर सङ्कलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । ठाउँ ठाउँमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर त्यहाँ आउने सर्वसाधारणले जथाभावी फोहर फाल्नाले फोहोर सङ्कलन गर्न स्कूलले विद्यार्थीलाई त्यहाँ लगेको थियो ।
स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई फाहोर गर्नु हुँदैन भन्ने सन्देश दिन सरसफाइ कार्यक्रममा सहभागी गराएको सुनाए । विद्यार्थीले फोहोर सङ्कलन गरेको थाहा पाएर आगामी दिनमा त्यहाँ आउनेहरूले पनि फोहोर गर्न हुँदैन भन्ने सन्देश दिन पनि विद्यार्थीलाई यहाँ ल्याएको प्रिन्सिपल राजभण्डारीले सुनाए ।
विद्यार्थीले फोहोर सङ्कलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका फोहोर सङ्कलन गरी नगरपालिकाले व्यवस्था गरेको खाल्डोमा ल्याएर जम्मा गरेका थिए । हप्तामा एक दिन प्रत्येक आइतबार त्यहाँ फोहोर सङ्कलन गर्न आउने जनाइएको छ ।
गुण्डुको यो मन्थली डाँडा भक्तपुरको सूर्यविनायक चोकबाट करिब साढे दुई किलोमिटर दक्षिणमा पर्दछ । उनीहरूले सरसफाइका लागि चाहिने गाडा, पञ्जा, बाल्टिन, च्वाफी, शिशाहरू उठाउन आवश्यक औजारहरू साथमा लिएर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *