परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, ५ माघ । बुक क्लव भक्तपुरको आयोजनामा तीनदिने पुस्तक प्रदर्शनी – ‘स्टुडेन्टस् बुक फेयर’ को बिहीबार एक कार्यक्रमबिच उद्घाटन भएको छ ।
भक्तपुरको थुसाचास्थित महेश्वरी बैङ्क्वेटमा आयोजित उक्त पुस्तक प्रदर्शनीको उद्घाटन पञ्चकन्याहरूले गरेका थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा शिक्षासेवी योगेन्द्रमान बिजुक्छेँले भक्तपुर कला, संस्कृति र ऐतिहासिक सम्पदाको धनीमात्र नभएर अध्ययन र लेखन संस्कृतिको पनि धनी भएको बताउनुभयो ।
उहाँले नेपालको ऐतिहासिक ग्रन्थ गोपाल राजवंशावली भक्तपुरमा भक्तपुरकै विद्वानहरूले लिपिबद्ध गरेको ऐतिहासिक लेखकहरूले उल्लेख गरेको बताउनुभयो ।
साहित्य सर्जक बिना थिङले पुस्तक अध्ययन गर्ने मनसाय भएमा अध्ययनको बानी विकास गर्न कठिन नभएको बताउनुभयो । पुस्तक अध्ययन नगर्नेहरू लामखुट्टे र अध्ययन गर्नेहरू चीलजस्तै भएको बताउँदै उहाँले आफू के बन्ने भन्ने कुरा आफैले विचार गर्नुपर्ने बताउनुभयो ।
कलाकार तथा आरोहण गुरूकुलका नाट्य निर्देशक सुनिल पोखरेलले पठन संस्कृतिको विकासको लागि पुस्तक प्रदर्शनी प्रशंसायोग्य छ भन्नुभयो ।
पुस्तक प्रदर्शनीमा भक्तपुरका विभिन्न विद्यालयका सयौं विद्यार्थी, शिक्षक र पुस्तकप्रेमीहरूले पुस्तक प्रदर्शनी अवलोकन गरेका थिए । प्रदर्शनी माघ ७ गते शनिबारसम्म रहनेछ ।
Leave a Reply