परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, ८ माघ । नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा समसामयिक विषयवस्तुमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरूले ‘जनताको सेवा गर’ भन्ने माक्र्सवादको सारलाई आत्मसात गर्दै जनतालाई सरलरूपमा माक्र्सवादको सैद्धान्तिक पक्षबारे सुसूचित गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
प्रत्येक दिन दुई हजारभन्दा बढी नेपालीहरू स्वदेशमा काम नपाएको भनी विदेसिरहेको वर्तमान स्थितिमा भारतीयहरू नेपालमा काम गरी वार्षिक ४ अर्ब डलर नेपाली रूपैयाँ भारतमा लगिरहेको तर्फ सचेत हुन आवश्यक छ भन्दै उहाँले नेपालमा अध्ययन गर्न सकिने विषय अध्ययनको लागि विदेशमा जानबाट सरकारले रोक लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
देशको सार्वभौमिकता झन्झन् खतरामा रहेको स्थितिमा विद्यार्थीहरूलाई देशको राजनीतिक स्थिति र देशभक्तिको भावना जगाउन प्राध्यापकहरूको अहम् भूमिका रहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भारतीय विस्तारवादले पाकिस्तानबाट पूर्वी पाकिस्तान (आजको बङ्गलादेश) टुक्रा गर्न भारतीय सेनालाई मुक्तिवाहिनीको रूपमा प्रयोग गरेको कार्यलाई तत्काल विरोध गर्नु नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा स्थापनाको एउटा आधार भएको बताउनुभयो ।
“बङ्गलादेश स्थापनामा समर्थन जनाउनु भनेको नेपालको तराई टुक्रा गर्ने आन्दोलनलाई स्वीकार्नु हुने थियो । जुन सार्वभौम देशको लागि घातक हुन्छ ।” उहाँले बताउनुभयो ।
राजा ज्ञानेन्द्रले संसद् विघटन गरेको समयमा संसद् पुनःस्थापनाको लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै नेमकिपा नेपालको राजनीतिक सङ्कटमा जहिले पनि प्रकाशस्तम्भको रूपमा उभिएको उहाँले बताउनुभयो ।
सिद्धान्त र बुद्धि विलासिता र पैसामा बिकाउने वस्तु नभई आत्मनिर्भरताको आधार भएको उहाँले बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले पार्टी स्थापनाको आधार र यसको सान्दर्भिकतबारे प्रस्ट पार्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पार्टीको विचारलाई देशभर फैलाउन प्राध्यापकहरू तयार हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी माविका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, कलेजका शिक्षकहरू अम्बरदली श्रेष्ठ, धनकृष्ण प्रजापति र निरू ताल्चाभडेलले पनि बोल्नुभएको थियो ।
पार्टी स्थापना दिवस मनाउने क्रममा गत माघ ६ गते डा. राजुभाइ त्यातको आतिथ्यमा वागीश्वरी माविका शिक्षकहरूबिच छलफल कार्यक्रम भयो । कार्यक्रममा नेक्राशिसङ्घ केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, विद्यालयका प्रअ कृष्णप्रसाद धन्छा, शिक्षकहरू विश्वेश्वर मानन्धर र राजन लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply