भर्खरै :

देशको स्वाधीनताको लागि जनताको प्रजातन्त्र आवश्यक

देशको स्वाधीनताको लागि जनताको प्रजातन्त्र आवश्यक

बुटवल, ८ माघ । नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले पश्चिमी संसदीय प्रजातन्त्रको परम्परा र नेपालकै प्रचलित कानुनअनुसार प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल स्वीकार गर्नुको विकल्प छैन भन्नुभयो ।
नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित प्रशिक्षणात्मक भेलामा अध्यक्ष वासीले प्रतिपक्षविहीन संसद् कल्पना गरेको हो भने संसदीय व्यवस्था असफल भएको विचार व्यक्त गर्नुभयो ।
नेपाली राजनीतिक डबलीमा विभिन्न राजनीतिक दलहरू क्रियाशील रहेको अवस्थामा २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुको औचित्य र महत्व झन्झन् बढ्दै गएको चर्चा गर्दै अध्यक्ष वासीले नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनमा नेमकिपाको मौलिक र उल्लेखनीय योगदान रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ विचारलाई मार्ग निर्देशक सिद्धान्त आत्मसात गर्दै व्यापक नेपाली जनतालाई सचेत र सङ्गठित पारिरहेको बताउँदै अध्यक्ष वासीले देशको स्वाधीनता र सार्वभौमसत्ताको लागि जनताको प्रजातन्त्र ल्याउनुपर्छ भन्नुभयो ।
नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले कामदार वर्गको शासनसत्ता स्थापना गर्न नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका सुशीला पौडेलले महिलाहरूलाई शिक्षा र रोजगारीको बन्दोबस्त हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका माधव अधिकारीले लेनिनको जीवनीबाट कार्यकर्ताहरूले ऊर्जा प्राप्त गर्नेछन् भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *