परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
सुर्खेत, ८ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) बिच शनिबार प्रमुख भण्डारीको सभाकक्षमा भेटघाट भयो ।
शुक्रबार सुर्खेत पुग्नुभएका प्रमुख प्रजापति र प्रमुख भण्डारीबिच आपसी अनुभव आदानप्रदान गर्ने हेतुले भेटघाट भएको हो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको प्रयासहरूबारे अवगत गराउँदै नपाले नगरवासी विद्यार्थीहरूलाई सहुलियत दरमा शैक्षिक ऋण र विभिन्न विषयहरूमा पीएचडी अध्ययनसम्मको छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुरको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँदै विदेशी सहयोगविना नै भक्तपुरले सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको जानकारी उहाँले गराउनुभयो ।
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया भण्डारीले वीरेन्द्रनगर नपा दसवर्षे शैक्षिक रणनीति बनाएर अगाडि बढिरहेको जानकारी दिँदै उच्च शिक्षामा निजीमा भन्दा सरकारीमा बढ्दो आकर्षण रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाको असल अभ्यासबारे आफू जानकार रहेको चर्चा गर्दै नगरपालिकाको अवसर र चुनौतीका क्षेत्रबारे जानकारी गराउनुभयो ।
सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी भएकोले प्रदेशकै शैक्षिक गन्तव्यको केन्द्रको रूपमा रहेको चर्चा गर्दै उहाँले वीरेन्द्रनगर नपाले पन्ध्र शय्याको नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको र महिला तथा बालबालिकाको क्षेत्रअन्तर्गत प्रसूति सेवा प्रभावकारीरूपमा सञ्चालनमा रहेको बताउनुभयो ।
वीरेन्द्रनगर नपाको वार्षिक आम्दानी २७ करोडको हाराहारीमा रहेको जानकारी दिँदै प्रमुख भण्डारीले नगरपालिकाको सेवा क्षेत्र व्यापक भएको तर सङ्घीय सरकारको अनुदानविना नगरपालिकाले कार्यक्रमहरू सञ्चालन गर्नुपरेकोले काम गर्न असहज भएको बताउनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तर नगर खेलकुद प्रतियोगिताअन्तर्गत यस वर्ष खोखो खेलको प्रतियोगिता हुने जानकारी गराउँदै भक्तपुरमा हुने उक्त प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाको पनि सहभागिताको लागि पत्र हस्तान्तरण गर्नुभयो । प्रमुख भण्डारीले सक्दो खेलाडीहरू सहभागी गराउने आश्वासन दिनुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले प्रमुख भण्डारीलाई नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो भने प्रमुख भण्डारीले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रञ्जना त्वाती, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ, नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र वि.क, वीरेन्द्रनगर जिल्ला समन्वय प्रमुख, वडा नं. ८ र ९ का वडाध्यक्ष एवम् भक्तपुरमा सरूवा भई आउनुहुने नयाँ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायतको उपस्थिति थियो ।
Leave a Reply