भर्खरै :

अध्यक्ष रोहितसँग प्रजिअ शर्माको बिदाइ भेट

अध्यक्ष रोहितसँग प्रजिअ शर्माको बिदाइ भेट

भक्तपुर, १० माघ । नेमकिपाका अध्यक्ष रोहितसँग भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मङ्गलबार बिदाइ भेट गर्नुभयो ।
भेटमा अध्यक्ष रोहितले नेमकिपा कार्यकर्ताहरूलाई कहिल्यै टायर बाल्न या उपद्रव मच्चाउन नसिकाएको, बरु जनताको सेवा गर्न तथा निर्माणका गतिविधिमा लाग्न उत्साहित गरिँदै आएको बताउनुभयो ।
समाजका हरेक नागरिकलाई असल एवम् सुयोग्य बनाउन सके सामाजिक सुरक्षा तथा शान्तिको प्रत्याभूति दिन सकिने विचार राख्दै उहाँले नयाँ पुस्तालाई सुसंस्कृत बनाउने कार्यमा सबैको हातेमालो आवश्यक रहेको प्रस्ट पार्नुभयो । कामरेड रोहितले भन्नुभयो, “नेमकिपा भक्तपुर र यो देशको मात्र होइन विश्वकै सेवा गर्दै छ । विश्वका राजनीतिक आन्दोलन, सङ्घर्ष तथा क्रान्तिको प्रचार गर्दै छ । अफ्रिका, ल्याटिन अमेरिका र युरोपका सङ्घर्ष एवम् सफलताबारे नेपाली जनतालाई शिक्षित पार्दै छ ।”
प्रजिअ रुद्रादेवी शर्माले १६–१७ महिना लामो भक्तपुर बसाइ अविस्मरणीय रहने बताउँदै आफू महत्वपूर्ण ज्ञान तथा अनुभव लिएर फर्कन पाउँदा खुसी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले भक्तपुरमा फरक अनुभव गरेँ । नेमकिपाका कुनै पनि नेता–कार्यकर्ताबाट दबाबको अनुभव कहिल्यै गर्नु परेन । शान्ति–सुरक्षामा तुलनात्मक सुधार देखिएको छ ।” प्रजिअ शर्माले समाजलाई प्रविधियुक्त तथा प्रविधिमैत्री बनाउने, ट्राफिक बत्तीको बन्दोबस्त, पार्किङको बन्दोबस्त, सडक आवागमन सहज एवम् सुरक्षित बनाउन थप प्रयास आवश्यक हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मनमा गहिरो छाप लिएर भक्तपुरबाट जाँदै छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *