भर्खरै :

ललितपुरमा पार्टी स्थापना दिवसमा प्रवचन कार्यक्रम

ललितपुरमा पार्टी स्थापना दिवसमा प्रवचन कार्यक्रम

ललितपुर, १० माघ । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार ललितपुरमा एक प्रवचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले नेमकिपा नभएको भए अराजकतावादी, संशोधनवादी पार्टीको विरोध गर्ने पार्टी नै हुने थिएन भन्नुभयो । उहाँले नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी सामाज्यवादले नेपालमाथि गरेको विभिन्न हस्तक्षेपको निर्भिकतापूर्वक विरोध र सङ्घर्ष गर्दै आएको छ भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “नेमकिपाले दूतावास धाउने कार्य गर्दैन । भारतीय गुप्तचर संस्थाद्वारा सञ्चालित नेताबाट देशघाती कार्य भइरहेको छ । नेपाललाई एक प्रयोगशालाको रूपमा भारतले प्रयोग गरिरहेको छ ।” उहाँले नेमकिपा सैद्धान्तिक र व्यवहारिकरूपले बलियो पार्टी भएको र सही कुरा गर्ने पार्टी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दूतावास र दरबारको सहयोगमा चलेको ठूला पार्टीले देश र जनताको हितमा काम गर्दैन ।”
वर्तमान र भविष्यमा बन्ने अमेरिकी कानुन मान्नैपर्ने एमसीसी सम्झौता, देशलाई सिक्किमीकरण गरिने नागरिकता विधेयक र नेपालको ब्यारेकमा अमेरिकी सेनाले परेड खेल्ने एसपीपी साझेदारीको पक्षमा सत्तामा गएका पार्टीहरू लागेको हुँदा नेपाल बचाउन र नेपालीको हक हितमा नेमकिपा लागिपरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा ललितपुरका संयोजक राजवीर डंगोलले नेमकिपाले लेनिनवादी नीतिअनुसार पुँजीवादी निर्वाचनको उपयोग गरिरहेको चर्चा गर्दै पुँजीवादी पार्टीहरूले देश र जनताको हितविपरीत सत्ताको दुरुपयोग गरिरहेका छन् भन्नुभयो ।
अधिवक्ता अनिता जधारीले पुँजीवादी समाजमा महिलालाई उत्पादनका साधनको रूपमा लिने गर्दछ तर समाजवादी समाजमा महिला र पुरुषले समान हक अधिकार पाउँछन् भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्ला सदस्य महन्त महर्जनले साम्राज्यवादी देश अमेरिकाले समाजवादी देश क्युवा र प्रजग कोरियाविरूद्ध नाकाबन्दी गरेर अमानवीय व्यवहार गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र ब्रह्मचर्यले सत्तामा गएका पार्टीहरूले युवालाई स्वदेशमै रोजगारी व्यवस्थापन नगरी सस्तो ज्यामीको रूपमा युवाहरू विदेशिन बाध्य पारेको र कृषकलाई रासायनिक मलको व्यवस्था गर्न देशमै मल कारखाना स्थापनाबारे चासो नराखेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नरेश महर्जन र मनहेरा श्रेष्ठले नेमकिपा देश र जनताको पक्षमा सदा सङ्घर्षरत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *