भर्खरै :

कञ्चनपुरमा नेमकिपाको स्थापना दिवस

कञ्चनपुरमा नेमकिपाको स्थापना दिवस

कञ्चनपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका ४९ औँ स्थापना दिवसको अवसरमा केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश समिति संयोजक नवराज कोइरालाको उपस्थितिमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं १२ दम्मलमा प्रशिक्षण कार्यक्रम भयो । प्रशिक्षण दिँदै कोइरालाले पार्टी स्थापनाका आधारमाथि प्रकाश पार्नुभयो ।
उहाँले भन्नुभयो, “समाजमा आर्थिक असमानता, वर्ग विभाजन, शोषण, दमन उत्पीडन भइराखेसम्म समाजवादी सिद्धान्तको औचित्य र आवश्यकता रहिरहनेछ । वर्तमान विश्वमा यो सिद्धान्त अपराजय छ ।
उहाँले भन्नुभयो, “मुलुकमा अत्यन्त बहुमत जनता मजदुर र किसान छन्, उनीहरूलाई सचेत र सङ्गठित पार्नु हाम्रो अभिभारा हो । क्रान्तिकारीहरू भविष्यप्रति आशावादी हुन्छन् । समाजवादी सिद्धान्त सही छ, नेपालमा समाजवादको स्थापना अवश्यम्भावी छ ।”
प्रशिक्षणको क्रममा नेमकिपा कैलाली अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश समिति सदस्य रमेशकुमार रावलले पार्टी स्थापनाको मुख्य उद्देश्य कामदार जनतालाई मुक्ति दिलाउनु हो भन्दै समाजवादमा मात्र मानवजातिको कल्याण हुने ठोकुवा गर्नुभयो ।
उहाँले स्वास्थ्य, शिक्षा निःशुल्क र योग्यताअनुसारको काम र कामअनुसारको ज्याला राज्यको दायित्व हो भने नागरिकहरूको नैसर्गिक अधिकार हो भन्नुभयो ।
नेमकिपा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका सदस्य सुरेन्द्रराज भट्टले नेपाल किसानै–किसान र मजदुरै–मजदुरको देश भएकोले गाउँ–गाउँ र बस्ती–बस्तीमा साङ्गठनिक विकास विस्तारको आवश्यकता औँल्याउनुभयो ।
नेक्राकिसङ्घ कञ्चनपुरका संयोजक सीताराम रानाले समाजवादी व्यवस्थामा मात्र किसान र मजदुरको हित हुने बताउनुभयो ।
नेमकिपा कञ्चनपुरका कार्यकर्ता धनादेवी जोशीले नेपाल मजदुर किसान पार्टीले देशभक्तिपूर्ण आन्दोलनमा खेलेको भूमिकाले आफ्नो छुट्टै पहिचान बनाएको छ भन्नुभयो । स्थापना दिवस तथा प्रशिक्षण कार्यक्रम संजितसिंह रानाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *