भर्खरै :

काभ्रेमा ४९ औँ पार्टी स्थापना दिवस

काभ्रेमा ४९ औँ पार्टी स्थापना दिवस

काभ्रे, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार बनेपामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले दोस्रो जनआन्दोलनकै बेला पुँजीवादी गणतन्त्रले मजदुर तथा किसानको हित गर्दैन बरु समाजवादी गणतन्त्रतर्फ अगाडि बढ्नुपर्छ भनेको स्मरण गर्नुभयो । उहाँले नेमकिपाले माक्र्सवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिएको उल्लेख गर्दै माक्र्सवादले पुँजीवादी संसद्बाट समाजवाद आउने परिकल्पना गरेको छैन भन्नुभयो । केन्द्रीय सदस्य गोसाईले नेमकिपाले ‘माओवादी’ पार्टीको अराकतावादी गतिविधिको विरोधमा सङ्घर्ष गरेको स्मरण गर्दै देशको मजदुर तथा किसानका छोराछोरीको पठनपाठन अवरुद्ध गर्ने उद्देश्यसाथ गरिएका अनिश्चितकालको शैक्षिक हडतालको विरोधमा नेमकिपाले सङ्घर्ष गरेको उल्लेख गर्नुभयो ।
उहाँले क्रान्ति कसैले रोकेर नरोकिने भन्दै क्रान्तिको निम्ति क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टीको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले पार्टी प्रकाशनलाई अध्ययन गर्दै गाउँघरको कुना काप्चासम्म पार्टी गतिविधिबारे प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपाका प्रतिनिधि नभएको भए संसद्मा प्रतिपक्ष भन्ने नै हुने थिएन । राष्ट्रघाती कदमको संसद् र सडकमा सङ्घर्ष गर्ने नेमकिपा हो ।”
इन्जिनियर समाज नेपालका केन्द्रीय अध्यक्ष रवीन्द्र फोजूले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य, नेपाल कम्युनिस्ट पार्टीको इतिहास, नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरूको विषयमा वृत्तचित्रसहित प्रशिक्षण दिनुभएको थियो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, लक्ष्मीराम न्हुछेप्रधान, ओमप्रसाद मानन्धर, ज्ञानेन्द्र डंगोल, राजु तामाङलगायतले बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *