भर्खरै :

नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी

नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी

नेपाल मजदुर किसान पार्टी अन्तर्राष्ट्रवादी पार्टी हो । नेमकिपाले अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरिरहेको छ । नेपालमा दशकौँदेखि भारतीय विस्तारवादको प्रभाव थियो । अमेरिकी साम्राज्यवादको प्रभाव थियो । नेमकिपा साम्राज्यवादका युद्धपिपासु नीति, विश्व शान्तिविरुद्ध तथा सार्वभौम देशमाथिको हमलाको विरोध गर्छ । विश्वका शान्तिप्रेमी तथा साम्राज्यवादविरोधी शक्तिप्रति नेमकिपाले ऐक्यबद्धता जनाउँदै आएको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नेमकिपा विरोध गर्छ । नेपालको सुस्तामाथि भारतले आक्रमण गर्दा नेमकिपाले २०२५ मै पहिलो विरोध प्रदर्शन गरेको थियो । सराअले भियतनाममाथि आक्रमण गर्दा नेमकिपाले विरोध प्रदर्शन गरेको थियो ।
नेमकिपाले सुस्ता बचाउ आन्दोलनदेखि देशघाती एमसीसी र नागरिकता विधेयकको मात्र होइन महाकाली सन्धि, सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा एकतर्फी बनाइएका बाँध तथा तटबन्ध भत्काउनुपर्ने माग अघि सारेको थियो । भारतीय एकाधिकार पुँजीबाट नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप हुँदा नेमकिपा कहिल्यै मौन रहेन । अहिले नेपालको राजनीतिमा विदेशी हस्तक्षेप रोकिएको छैन । विदेशी हस्तक्षेप एकपछि अर्को बढ्दै छ । नेपालका शासकहरू नेपाल र नेपालीलाई भन्दा विदेशी शक्ति राष्ट्रलाई खुसी पार्न नेपालको अहितमा सन्धि सम्झौता गर्न पनि पछि परेनन् ।
संसारका विभिन्न मुलुकमा अहिले पनि अमेरिकाले सशस्त्र हतियारसहितको सेना तैनाथ गरिरहेको छ । अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, आन्तरिक मामिला चर्काउने, भड्काउने र सरकारलाई कमजोर पार्ने काम अमेरिकाले छोडेको छैन । प्रजग कोेरिया र क्युवामाथिको संरा अमेरिकी क्रूर नाकाबन्दीविरुद्ध नेमकिपाले निरन्तर सङ्घर्ष गरिरहेको छ । अन्यायमा परेका देश र दमनमा पिल्सिएका जनताको पक्षमा नेमकिपाले ऐक्यबद्धता जनाउने र समर्थन गर्ने काम गरिरहेको छ । एसियामा आफ्नो सैनिक प्रभुत्व कायम राख्न एसिया प्रशान्त देशमा अमेरिकाले जाल रच्दै छ । संसारका मुलुकमा भेदभाव, वैमनस्य र लडाइँको बीउ छर्दै आतङ्क मच्चाउने, विध्वंश फैलाउने साम्राज्यवादी अमेरिकी नीतिको नेमकिपाले जहिल्यै भत्र्सना गरिरहेको हो ।
साम्राज्यवादी देशहरूको उद्देश्य नै आतङ्क मच्चाएर, झगडा गराएर अरू देशलाई कमजोर पारी आफूलाई शक्तिशाली बनाइरहने हो । यसमा संयुक्त राज्य अमेरिका अगाडि छ । अरू देशमा हात हाल्दै आएको अमेरिकाले नेपालमा बिस्तारै हात हाल्न थालेको छ । नेपालका शासकहरू यस्ता काममा फस्दै छन् । यसबारे नेपालका शासकहरू सतर्क हुनुपर्ने हो । संसारका अरू स्वाधीन र सार्वभौम मुलुकका शासकहरू साम्राज्यवादी शक्ति र नीतिविरुद्ध एकजुट भइरहेको बेला, साम्राज्यवादी नीतिको विरोध गरिरहेको बेला नेपालका शासकहरू शक्ति राष्ट्रका शासकहरूको पछि पछि किन लाग्दै छन् ? विश्वका स्वाधीन देशहरू साम्राज्यवादी नीतिको विरोधमा जुट्दै छन् । उनीहरू क्युवा र प्रजग कोरियामा लगाइरहेको नाकाबन्दी फिर्ता लिन अमेरिकालाई दबाब दिँदै छन् । यो शान्तिकामी र सार्वभौम देश र जनताको राम्रो पक्ष हो । तर, नेपालका शासकहरू आर्थिक सहयोग र विकासको हवाला दिएर देशलाई दूरगामी असर पर्ने काम गर्दै छन् । यो विडम्बनाको विषय हो ।
वास्तवमा आज संसारका जनता अमेरिका र भारतबाटै आक्रान्त छन् । शक्तिको उन्मादमा अरू देशलाई जुधाएर हतियार बेची आयआर्जन गरिरहेको देश अमेरिका अहिले विश्वसामु उदाङ्गिँदै छ । संसारका स्वाधीन र सार्वभौम देशका शासकहरू साम्राज्यवादी नीतिको विरोधमा एकजुट हुँदै छन्† एकजुट हुँदै जानेछन् । विश्वका शान्ति र विकास चाहने देशले आक्रामक देशको विरोध नगरी सुखै छैन । नेमकिपाले आक्रामक नीतिको विरोध गरेर आफ्नो अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *