भर्खरै :

पुँजीवादले निम्त्याएको सङ्कट : आर्थिक असमानता !

पुँजीवादले निम्त्याएको सङ्कट : आर्थिक असमानता !

सन् १९४२ मा सामाजिक कार्यकर्ता र अक्सफोर्ड शिक्षाविद्हरूको समूहद्वारा ‘अक्सफोर्ड कमिटि फर फिमिन रिलिफ’ (Oxford Committee for Famine Relief) को नाममा ‘अक्सफाम’ स्थापना गरियो र १९४३ मा बेलायतको कानुनअनुुसार सो संस्था दर्ता गरियो । यो संस्थालाई विश्वभर गरिब तथा युद्धग्रस्त क्षेत्रहरूमा मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्थाको रूपमा चिनाइयो । असमानता, गरिबी र अन्यायविरुद्ध काम गर्ने अक्सफामको उद्घोष हो । दोस्रो विश्वयुद्धको समयमा यसले नौ सैनिक नाकाबन्दीको कारण ग्रीसमा भएको भोकमरीमा परेका महिला तथा बालबालिकालाई खाद्य सामग्री उपलब्ध गराउन भूमिका खेलेको थियो । अहिले यो संस्थाले विश्वको ७० ओटा देशहरूमा मानवीय सेवा गर्ने काम गर्दै छ । यसले धनी र गरिबबीचको खाडल कसरी बढ्दै छ भन्ने बारेमा पनि अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ । हालै प्रकाशित अक्सफामको प्रतिवेदनले नवउदारवाद अर्थनीति तथा पुँजीवादी व्यवस्थाप्रति प्रश्नचिह्न खडा गरेको छ ।
भारतमा पनि अक्सफाम (Oxfam India) ले आर्थिक असमानता, लैङ्गिक विभेदविरुद्ध काम गर्दै आएको छ । यस संस्थाले भारतमा भएको आर्थिक असमानताबारे एक अध्ययन प्रतिवेदन सार्वजनिक ग¥यो । अक्सफामको नयाँ प्रतिवेदनले सन् २०२१ मा भारतका शीर्ष १ प्रतिशत धनाढ्यसँग देशको कूल सम्पत्तिको ४०.५ प्रतिशत रहेको खुलासा ग¥यो । चरम आर्थिक असमानता भएको भारतमा सन् २०२२ सम्ममा अर्बपतिहरूको सङ्ख्या १६६ जना पुगेको पनि सो प्रतिवेदनले देखायो । सन् २०२० सम्म भारतीय अर्बपतिहरूको सङ्ख्या १०२ जना थियो ।
पुँजीवादी व्यवस्थाकै कारण भारतका गरिब जनताहरूले अहिले आफ्नो आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिरहेका छैनन् । बाँच्नको लागि आवश्यक वस्तु पनि जुटाउन भारतीय जनतालाई धौ धौ परिरहेको छ । सञ्चार माध्यममा गरिबीको कारण ऋण तिर्न नसकेर दिन प्रतिदिन भारतीय जनताले आत्महत्या गरेको समाचार पनि प्रकाशित भइरहेको छ । अधिकांश भारतीय नागरिकहरू आवश्यकताअनुसार आफ्नो स्वास्थ्य जाँच गराउन पनि सक्दैनन् । हरेक सेकेण्डमा दुई जना भारतीय नागरिकहरू स्वास्थ्यउपचार खर्च अभावकै कारण गरिबीको रेखामुनि धकेलिँदै छ । यसले भारतलाई विश्वकै सर्वाधिक आर्थिक असमान भएको देश बनाएको छ ।
अक्सफामको प्रतिवेदनले सन् २०२२ सम्ममा भारतका १०० जना धनी व्यक्तिसँग ५४.४ लाख करोड भारु (५ खर्ब ४४ अर्ब भारु) बराबरको सम्पत्ति रहेको देखायो । सो प्रतिवेदनले १० जना धनी भारतीयसँग २७.५ लाख करोड रुपैयाँ (२ खर्ब ७५ अर्ब) को सम्पत्ति रहेको पनि देखायो । अहिले भारतका २२ करोड ८९ लाख मानिस गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । अक्सफामको प्रतिवेदनले भारतका आधा जनसङ्ख्यासँग देशको जम्मा ३ प्रतिशत सम्पत्ति मात्र रहेको देखायो । भारतका सबैभन्दा धनी २१ अर्बपतिसँग ७० करोड भारतीय जनतासँग भन्दा बढी सम्पत्ति छ । सन् २०२२ मा भारतमा सर्वाधिक धनी व्यक्ति गौतम अदानी (अदानी समूहका संस्थापक र कार्यकारी प्रमुख) को सम्पत्ति ४६ प्रतिशतले वृद्धि भयो भने भारतको १०० जना सर्वाधिक धनीहरूको कूल सम्पत्ति ६६० अर्ब अमेरिकी डलर पुग्यो ।
भारतीय समाजमा जात, वर्ण, लिङ्ग र धर्मको विभेद ठूलो छ । भारतका शासकहरूले आफ्नो अभिष्ट पूरा गर्न भारतीय जनतालाई जात र धर्मको आधारमा पनि भिडाउने काम गर्छन् । भारतमा शासन गरिरहेको भारतीय जनता पार्टीले हिन्दूहरूलाई मात्रै काखी च्यापेर अन्य धर्मका मानिसलाई थिचोमिचो गर्ने फासीवादी नीति अपनाइरहेको छ । यसले सबै भारतीय जनतालाई एकसाथ अगाडि बढ्न बाधा पु¥याउँदै छ । त्यसमाथि कोभिडको कारण भारतीय जनता थप मारमा छन् । भारतका अर्बपतिहरूले भने यो सङ्कटबाट पनि अकुत सम्पत्ति कुम्ल्याउँदै छन् । उनीहरूकै लुटतन्त्रको कारण भारतमा गरिबीको सङ्ख्या बढ्दो छ । विश्वको तुलनामा सबैभन्दा बढी गरिबहरूको बसोबास भारतमा रहेको पनि तथ्याङ्कले देखाएको छ । विश्वमा बढ्दै गरेको गरिबीको सङ्ख्यामध्ये एकतिहाइ त भारतमै रहेको विज्ञहरू बताउँछन् ।
आर्थिक असमानताको चरम अवस्था देखेपछि अक्सफामले भारतका धनाढ्यमाथि प्रगतिशील कर लगाउन भारत सरकारलाई आह्वान ग¥यो । उसले भारतीय धनाढ्यहरूसँग असुल गरिएको कर भारतका कामदार जनताहरूको स्वास्थ्य सेवा, शिक्षा क्षेत्र र सामाजिक सुरक्षामा खर्च गर्न पनि सुझाएको छ । भारत सरकारसँग तत्काल यो सुझाव लागू गर्न सक्ने स्थिति छैन । किनभने, भारत सरकार कर्पोरेटहरूकै नियन्त्रणमा छ ।
स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्च (World Economy Forum) मा अक्सफामले पेश गरेको प्रतिवेदनअनुसार कोभिड महामारीपछिका दुई वर्षमा जोडिएको ४२ ट्रिलियन (४२ हजार अर्ब) अमेरिकी डलर सम्पत्तिको झण्डै दुईतिहाइ हिस्सा विश्वका १ प्रतिशत धनाढ्यहरूको हातमा पुग्यो । त्यसमध्ये बाँकी ९९ प्रतिशत जनसङ्ख्याको भागमा एकतिहाइ मात्र परेको छ । अक्सफामकै प्रतिवेदनअनुसार कोभिडपछिको दुई वर्षमा विश्वका ४९ करोड महिला तथा बालिका र विश्वका ८२ करोडभन्दा बढी जनता भोकै छन् । विश्वका १० जनामा एकजना मान्छे अहिले पनि भोकमरीले ग्रस्त छन् ।
अक्सफामका अनुसार विश्वका ९० प्रतिशत मानिसले १ अमेरिकी डलर कमाउन सङ्घर्ष गरिरहँदा एकजना अर्बपतिले सामान्यतया १७ लाख डलर कमाउँछन् । अर्बपतिहरूले प्रत्येक दिन २.७ विलियन डलरले सम्पत्ति वृद्धि गर्दै छन् । विश्वका प्राकृतिक स्रोत साधनहरू केही सीमित धनाढ्यहरूकै हातमा पुग्दै छ । ठूल्ठूला धनाढ्य तथा कर्पोरेटहरूको कारण विश्वमा महँगी पनि अचाक्ली बढ्दैछ । दोस्रो विश्व युद्धपछि संसारमा असमानता र गरिबी तीब्र ढङ्गले बढेको विश्व बैङ्कले पनि बताइरहेको छ । आर्थिक सङ्कटको कारण विश्वका कतिपय देशहरू अहिले टाट पल्टिने अवस्थामा छ । यो पुँजीवादले निम्त्याएको सङ्कट हो । पुँजीवादी व्यवस्थाको नेतृत्व गरिराखेको अमेरिका र युरोपियन मुलुकहरूको कारण अहिले विश्वमा असमानताको खाडल बढ्दै छ । पुँजीवादमा प्रजातन्त्र र मानव अधिकार देखाउने दाँत सावित हुने अहिले पुष्टि भयो । अब विश्वका न्यायप्रेमी जनताले पुँजीवादको अवसान खोज्दै छन् । पुँजीवादको विकल्प आर्थिक समानता र न्यायमा आधारित वैज्ञानिक समाजवादी व्यवस्था नै हो । यसले मात्र विश्वमा शान्ति स्थापना गर्न सक्छ र विश्वलाई कर्पोरेटहरूको पञ्जाबाट मुक्त गर्न सक्छ ।
२०७९ माघ ९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *