भर्खरै :

तुमचो–दुगुरे–चोखामा वैज्ञानिक ठेगाना प्रणाली लागू हुने

तुमचो–दुगुरे–चोखामा वैज्ञानिक ठेगाना प्रणाली लागू हुने

भक्तपुर, १४ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तुमचो–दुगुरे–चोखा आवास क्षेत्रका सडक, चोक र घरको नामकरण तथा वैज्ञानिक ठेगाना प्रणाली लागू गर्ने सम्बन्धमा सरोकारवालाहरूबिच शनिबार छलफल भयो ।
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिकहरूले आवास क्षेत्रलाई पाँच खण्डमा विभाजन गरी स्थानीय जनतासँग छलफलका आधारमा पुरानै नाम राखेको बताउनुभयो ।
सडक र घरहरूको नम्बरिङ भने मेट्रिक प्रणालीका आधारमा गरिएको बताइएको छ । यसो गर्दा नयाँ मान्छेले सजिलैसँग घरको ठेगाना पत्ता लगाउन सकने र भविष्यमा बनाइने घरहरूको समेत नम्बरिङ गर्दा समस्या नहुने बताइएको छ ।
छलफल कार्यक्रममा पूर्ववडाध्यक्ष एवम् नेपाल मजदुर किसान पार्टी भनपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजूले नगरपालिकाले जनचाहनाबमोजिम आवास योजना सञ्चालन गरेको र जनभावनाबमोजिम नै त्यस क्षेत्रमा विकास निर्माण तथा व्यवस्थापन कार्य भइरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले समयमै व्यवस्थित आवास योजना सञ्चालन गरेकोले २०७२ को विनाशकारी भूकम्पले पुरानो बस्ती क्षतविक्षत बनाउँदा पीडित जनताहरूका लागि बसोबास विकल्प तयार भएको प्रस्ट पार्नुभयो ।
नेमकिपा स्थापना दिवसको सन्दर्भ उल्लेख गर्दै पार्टीका अग्रजहरूको इमानदारी, दूरदर्शिता र देशभक्तिपूर्ण आन्दोलनका कारण कार्यकर्ताहरूले गर्व अनुभूति गरिरहेको बताउनुभयो । उहाँले कामदार जनताको निःस्वार्थ सेवा गर्ने बाहेक नेमकिपाको अर्काे स्वार्थ नभएको उल्लेख गर्दै नयाँ पुस्तालाई पार्टीको गौरवपूर्ण इतिहास र सङ्घर्षका कथाहरूबारे जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
भनपा ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरोकारवाला अग्रजहरूसँग चरणबद्ध छलफल गर्दै हाललाई नमुनाको रूपमा तुमचो–दुगुरे–चोखा आवास क्षेत्रमा वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न खोजेको बताउनुभयो । प्रणाली लागू गर्ने क्रममा थप सुधार गर्नुपर्ने आवश्यकता भएमा फेरि पनि छलफल गर्न सकिने स्पष्ट पार्दै उहाँले कलेजको प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको कार्यक्रममा प्राविधिकहरू आ.युरेका राजवंशी र ई. सशिन्द्र प्रजापतिले ठेगाना प्रणाली लागू गर्ने विषयमा हालसम्मको कार्यबारे प्रस्तुति गर्नुभयो ।
कार्यक्रममा नारायणप्रसाद कुसी, जगन्नाथ प्रजापति, विश्वराम प्रजापतिलगायतले सुझावहरू पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *