भर्खरै :

वडा खेलकुद समिति पुनःगठन

वडा खेलकुद समिति पुनःगठन

भक्तपुर, १४ माघ । भक्तपुर नगरपालिका ९ नं. वडाका युवा खेलाडीहरूको भेला शनिबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुद पुरस्कार जित्नमात्र नभई अन्तर्राष्ट्रिय दबुमा नेपालको परिचय दिन पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलाडीहरूमा राजनैतिक चेतना हुनुपर्ने र देशको सार्वभौमिकता एवम् स्वाधीनताको पक्षमा सङ्घर्षशील भावना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शासक दलका नेताले सत्ता प्राप्तिका लागि साम्राज्यवादी तथा विस्तारवादी शक्तिको दलाली गर्दा नेपाली जनताले दुःख पाएको चर्चा गर्दै देशलाई पराधीनबाट जोगाउन युवा राजनैतिक क्रियाकलापमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टी अग्रजको योगदान र सङ्घर्षका कारण आज भक्तपुर शिक्षा, स्वास्थ्य उपचार र सरसफाइमा उदाहरणीय बनेको उहाँको भनाइ थियो । उहाँले युवा पिँढीले खेलकुद क्षेत्रमार्फत भक्तपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतले चिनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेमकिपाको स्थापना दिवसको चर्चा गर्दै पार्टी अग्रजको सङ्घर्षशील भावना र क्रान्तिकारी इतिहास नयाँ पुस्तालाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले केही युवा गलत सङ्गगतमा परेर कुलत तथा आपराधिक गतिविधिमा संलग्न भइरहेकोमा चिन्ता व्यक्त गर्दै खेलकुदमार्फत युवालाई देश र समाजप्रति उत्तरदायी बनाउन सकिने बताउनुभयो ।
९ नं. वडा खेलकुद समितिका अध्यक्ष राजेश प्रजापति र उपाध्यक्ष बाबुकाजी मानन्धरले वडामा भइरहेका खेल गतिविधिबारे विवरण पेश गर्नुभयो ।
नगरपालिका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखू (प्रजापति) ले नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि हुने अन्तरनगर खोखो प्रतियोगिताबारे जानकारी दिनुभयो ।
विभिन्न खेल विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री तथा खेलाडीहरूको उपस्थिति रहेको भेलाले युवा खेलाडी राजेश प्रजापतिको अध्यक्षतामा १४ सदस्यीय भनपा ९ नं वडा खेलकुद समिति पुनः गठन ग¥यो ।
समितिमा उपाध्यक्ष बाबुकाजी मानन्धर, सचिव हरिकृष्ण प्रजापति र कोषाध्यक्ष अनिता खोँजू निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *