भर्खरै :

पुँजीवादी व्यवस्थामा मजदुर र किसानको हक–अधिकार सुनिश्चित नहुने

पुँजीवादी व्यवस्थामा मजदुर र किसानको हक–अधिकार सुनिश्चित नहुने

रौतहट, १४ माघ । नेपाल मजदुर किसान पार्टी रौतहटको आयोजनामा शनिबार कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले पुँजीवादी व्यवस्थामा मजदुर र किसानको हक–अधिकार सुनिश्चित नहुने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा शिक्षा–स्वास्थ्य निःशुल्क हुन्छ । उत्पादनका मुख्य मुख्य साधन र स्रोत राष्ट्रियकरण हुन्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । ज्येष्ठ नागरिकको उचित हेरचाह गर्ने आदर निकेतनको व्यवस्था हुन्छ । अझ सारमा भन्ने हो भने मान्छेको जन्मदेखि मृत्युसम्म सबै व्यवस्था राज्यले गर्छ ।”
हिमाल, पहाड र तराईका शोषित–पीडित जनताको हक, अधिकार सुनिश्चित गराउन नेमकिपाले सडक र सदनमा सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले केही प्रतिक्रियावादीहरूले नेमकिपालाई मधेसविरोधी पार्टी भनी भ्रामक प्रचार गरी जनतामा भ्रम छरिरहेको छ भन्नुभयो ।
किसानहरूको समस्या समाधानको लागि नेमकिपाले चालेका विभिन्न आन्दोलनहरूबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “माघ २८ र २९ गते बाराको कलैयामा हुने नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने अपेक्षा गर्दछु ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले शासक दलहरूले नागरिकताको समस्या देखाई मधेसी जनतालाई भ्रममा राखी देशलाई सिक्किम र फिजी बनाउने खोजेकोतर्फ सचेत गराउनुभयो ।
तराइका जनताको हक, अधिकार सुनिश्चित गराउनको लागि मधेसवादी दलहरूले पटक पटक आन्दोलन गरे, आन्दोलनका उपलब्धि मधेसका शोषक, सामन्त र जमिन्दारहरूले मात्र उपभोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा रौतहटका अध्यक्ष दिनेशप्रसाद साहले जातीय र क्षेत्रीयताको कुराले देश विखण्डनमा जाने खतरातर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम बिसुंखे, नेमकिपा रौतहटका लालबाबु चौधरी, रफिक दर्जी, वैद्यनाथ चौधरी, रवीन्द्र यादव, परमानन्द यादवलगायतले बोल्नुभएको थियो ।
भेलाले शेख अमिरूल हकको अध्यक्षतामा नेक्राकिसङ्घ रौतहट जिल्ला समिति पुनः गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *