नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
“म पनि धेरै वर्षदेखि सोभियत सङ्घ र स्तालिनबारे पढ्दै छु ।” यो सुनेपछि उहाँको कुरामा अलि रुचि जाग्यो ।
सोभियत सङ्घ र स्तालिन भनेपछि टाढा भाग्नेहरूले आफूलाई कम्युनिस्ट दाबी गर्ने देश हो हाम्रो । सोभियत सङ्घको मानो खाएर उसैलाई दुत्कार्ने र बद्नाम गर्ने मानिसहरूको यहाँ कमी छैन । सोभियत सङ्घको समाज, संस्कृति र सोचबारे प्रचार नगर्ने पूर्वसोभियत विद्यार्थीहरूलाई पनि जिम्मेवार मान्न सकिने आधार छैन ।
यिनै कारणहरूले गर्दा इन्जिनियर राम विन्दु श्रेष्ठका केही घतलाग्दा सोभियत अनुभव सुनेपछि मैले उहाँले लेख्नुभएको पुस्तक “मेरा सोभियत सम्झनाहरू” किन्ने निधो गरेँ । पुस्तक लिएको भोलिपल्ट बिहानसम्म विकट बागलुङबाट दिल्ली हुँदै सोभियत सङ्घका फाँट, समुद्र, शैक्षिक संस्थान, छात्रावास, आरामगृह र युरोपका केही देशहरूको एक फेरो मारिसकेको थिएँ । सोभियत समाज, संस्कृति र सोचको एक झलक पाइसकेको थिएँ । एउटा ‘आहा क्षण’ सकिएको छ र लेख्न बसेको छु यो अनुभूति ।
कहाँबाट लेखुँ भइरहेको छ !… सुरुबाटै सुरु गरौँ । सोभियत सम्झनाका पोकाहरू लेखकले समर्पणबाट सुरु गर्नुभएको छ । आमाबुबापछि उहाँले संस्मरणलाई सोभियत जनताप्रति समर्पित गर्नुभएको छ । यो समर्पणले पुस्तकको भाव बोल्छ । लेखिएको छ , “ती सोभियत जनतामा जसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका विकासोन्मुख मुलुकका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर खडा गरे ।”
वि.सं. २०३६ सालमा लेखकले बागलुङबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । त्यसपछि केही समय उहाँले पुल्चोक कलेजमा पढ्नुभयो । काठमाडौँ त्यसबेला ०३६ सालको विद्यार्थी आन्दोलनले तात्तिएको थियो । यही रापमा उहाँले पनि केही प्रगतिशील साहित्यको अध्ययन गर्नुभयो । ०४२ सालमा उहाँले प्रवीणता प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गर्नुभयो । इन्जिनियरिङ विषयमा उच्च शिक्षा अध्ययनका निम्ति सोही वर्ष सोभियत सङ्घ जानुभयो । सोभियत सङ्घमा एक वर्ष उहाँले एरेभान विश्वविद्यालयमा रुसी भाषाको अध्ययन गर्नुभयो । त्यसपछि खार्कोभमा उहाँले बाँकी पाँच वर्ष र पाँच महिनाको डिप्लोमा वर्क सकेर नेपाल फर्किनुभयो । यसबीच उहाँले देखेभोगेको सोभियत सङ्घ नै “मेरा सोभियत सम्झनाहरू” को विषय हो । उहाँ सोभियत सङ्घलाई दोस्रो मातृभूमि भन्नुहुन्छ ।
खासगरी रुसी कखरा सिकेको एरेभानलाई दोस्रो जन्मघर भन्नुभएको छ । एरेभानमा उहाँलाई एक बुढी गुरुआमा आभेतोभ्ना खच्यातु¥यानले पढाउनुभयो । ओभतोभ्ना आर्मेनियाकी हुनुहुन्थ्यो । त्यसैले उहाँका विश्वप्रसिद्ध सङ्गीतकार आराम खच्यातु¥यानप्रति गर्व गर्नुहुन्थ्यो । त्यहाँ शिक्षकले विद्यार्थीहरूलाई आमाबुबाले जस्तै रेखदेख गर्ने चलन थियो । चाडबाडमा शिक्षकले विद्यार्थीहरूलाई घरमा बोलाउने चलन थियो । नजानेको बुझाइ शिक्षकहरू सदा हाजिर हुन्थे । भाषा सिकाउने काइदा सानदार थियो । सबैथोक रुसी भाषामै सिकाइन्थ्यो । उल्था हुन्नथ्यो । यो प्रभावकारी विधिकै कारण आफूहरूले महिनादिनमै रुसी भाषा बोल्न, लेख्न र किनमेल गर्न जानसक्ने भएको लेख्नुभएको छ । उहाँले ओभतोभ्नालाई आमाजत्तिकै सम्मान गर्नुभएको छ । पेन्सन पाकिसकेर पनि घर बस्नुभन्दा सक्रिय जीवन बिताउन ओभेतोभ्नाले पढाउने पेशा छोड्नुभएको थिएन । उहाँले सधैँ लेनिनको उदाहरण दिनुहुन्थ्यो । सोभियत समाजका सर्जक लेनिन गोली लागिसकेर पनि केही वर्ष बाँच्न सक्नुको कारण सक्रिय जीवन हो भनी शिक्षिका ओभेतोभ्ना बारम्बार सम्झाउनुहुन्थ्यो ।
सोभियत सङ्घमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो । तेस्रो विश्वका धेरै देशका विद्यार्थीहरू एउटै कक्षा कोठामा भेट हुन्थे । अश्वेतहरूले जीवनमा सम्मान पाएको महसुस गर्थेनन् । उनीहरू आफ्नो देशको कला, भाषा, संस्कृति र इतिहासका वारिस थिए । त्यहाँ उनीहरूले एकअर्काको संस्कृतिलाई आदर गर्न सिके । सोभियत सङ्घ एउटा विश्व संस्कृति निर्माण गर्ने उद्देश्यले निर्माण भएको थियो भनी लेखक लेख्नुहुन्छ । त्यसैले “नयाँ सोभियत मान्छे र सुसंस्कृत विश्व सभ्यताको निर्माण गर्ने उद्देश्यले स्थापित सोभियतहरू” विघटन हुँदा भावविह्वल भएको उहाँको मनसँगै पाठकको मन पनि खिन्न हुन्छ ।
लेखक राम विन्दुले हाल युक्रेनमा पर्ने खार्कोभमा इन्जिनियरिङ पढ्नुभयो । सोभियत सङ्घको शिक्षा प्रणालीबारे उहाँले धेरै कुरा लेख्नुभएको छ । जस्तो, सोभियत शिक्षा पद्धतिमा विद्यार्थीलाई शारीरिक कुरामा भन्दा चेतना निर्माणमा जोड दिइन्थ्यो । पाँच वर्षमा विद्यार्थीहरूलाई सोभियत सङ्घको इतिहास, माक्र्सवादी दर्शन, साम्यवादी समाजबारे एकएक विषय पढाइन्थ्यो । इन्जिनियरिङको विद्यार्थीलाई केको दर्शन पढाएको होला भनेर सुरुमा लेखकलाई झर्को लागेको थियो । पछिपछि उहाँले दर्शनको ज्ञानको महत्व बुझ्दै जानुभयो । जीवन र जगतलाई बुझ्न र समाजलाई नेतृत्व दिन दर्शनको आवश्यकता हुने उहाँ लेख्नुहुन्छ । आजभोलि नेपालमै पनि विज्ञान र प्रविधिका विषयमा दर्शनको कुरा कहीँकतै पढाइन्न । यो पुँजीवादी व्यवस्थाकै खोट हो । किनभने, पुँजीवादले सोच्ने सभ्य मान्छे होइन, काम गर्ने कारिन्दा वा मिस्त्री निर्माण गर्छ ।
सोभियत शिक्षाको अर्को पक्ष परीक्षा प्रणाली हो । विद्यार्थीहरूको सरसफाइमा जोड दिने, आमाबाबुले जस्तै विद्यार्थीको रेखदेख गर्नेबाहेक विद्यार्थीबीच सम्यक अनुशासन पनि हुर्काइँदो रहेछ । सोभियत शिक्षकहरू अत्यन्त अनुशासित समर्पित र कर्तव्यपरायण थिए । विद्यार्थीहरूलाई शिक्षकले नै सम्मान गर्ने चलन थियो । परीक्षाको बेला प्रत्येक विद्यार्थीले अलगअलग प्रश्नपत्र पाउँथ्यो । त्यसैले चिट चोर्ने संस्कार त्यहाँ जन्मिन पाएन । विद्यार्थीले उत्तरकापी शिक्षकलाई देखाउँदा शिक्षकले ती प्रश्नहरूउपर थप प्रश्न सोध्न पनि मिल्ने रहेछ । त्यसैले विद्यार्थीले रटानलाई भन्दा बुझाइलाई बढी ध्यान दिन्थे । शिक्षकले पनि तत्कालै विद्यार्थीको मूल्याङ्कन चार ग्रेडमा गर्थे – उत्कृष्ट, राम्रो, सन्तोषजनक र फेल । ठाउँको ठाउँ मूल्याङ्कन हुँदा विद्यार्थीले नतिजा पर्खेरै हाम्रोमा जस्तो ५–७ महिना कटाउन पर्दैनथ्यो । त्यसैले सायद लेखक राम विन्दुजस्ता विद्यार्थीहरूले उच्च आदर्शका साथ अध्ययन गरे ।
सोभियत सङ्घले दोस्रो विश्वयुद्धमा धेरै रगत बगाएको थियो । यसलाई लेखकले महान् सोभियत नेता स्तालिनको शब्दमा यसरी चित्रण गर्नुभएको छ – “यो सङ्ग्राममा सोभियत जनताले आफ्नो निःस्वार्थ सङ्घर्षबाट युरोपको सभ्यतालाई फासीवादी विध्वंसबाट बचाएका थिए । यो मानव जातिको इतिहासमा सोभियत जनताको ठूलो देन हो ।” यही दुःखको स्मरणमा सोभियत समाजमा सो युद्धका भेटरान वा लडाकूहरूलाई उच्चतम् सम्मान गरिँदो रहेछ । लेखकलाई पढाउने एक शिक्षक आफै पनि युद्धका भेटरान हुनुहुन्थ्यो । त्यस्तै सोभियत सङ्घमा सबैभन्दा ठूला चाडहरूमा मे ९ लाई मानिन्थ्यो । त्यो दिन सोभियत सङ्घले आफ्ना सत्तरी लाख वीरहरूको सहादतबाट नाजी फासीवादीहरूमाथि विजय प्राप्त गरेको थियो । सोभियत सङ्घको भूराजनीतिक परिवेशकै कारण त्यहाँ प्रत्येक विद्यार्थीले दुई वर्ष अनिवार्य सैन्य तालिम लिनुपर्ने बन्दोबस्त थियो ।
नारीप्रतिको सम्मान सोभियत सङ्घको अर्को विशेषता थियो । नारी देशलाई बिकाऊ वस्तु बनाउने पुँजीवादी संस्कृतिलाई उनीहरू नीच ठान्थे । जीवनका सबै क्षेत्रहरूमा केटाहरूभन्दा केटीहरू अगाडि थिए । भाषा सिकाउने मामिलामा महिलाहरू नै अघि थिए । नेपालमा महिला साक्षरता १.८ प्रतिशत छँदा सोभियत सङ्घले भ्यालेन्तिना तेरेस्कोभालाई अन्तरिक्षमा पठाएको थियो । २६ वर्षको कलिलो उमेरमै तेरेस्कोभा अन्तरिक्षमा पुगेको थियो । लेखकले अध्ययन गरेको खार्कोभमा प्रायः ट्रमका चालकहरू महिलाहरू नै हुन्थे । गाडीमा महिलाहरू पसे सिट छोड्ने चलन थियो । यसलाई लेखक सोभियत सभ्यताको चिनारी भन्नुहुन्छ ।
लेखकले सोभियत सङ्घको खानाको गुणस्तर र मालसामानको पनि प्रशंसा गर्नुभएको छ । पुँजीवादको पुनःआगमनसँगै सोभियत सङ्घमा खानाको गुणस्तर पनि खस्किँदै गयो । गोर्भाचेभले ल्याएको खुलापनको नीतिका कारण त्यहाँ म्याकडोनाल्डको पोषणहीन खाना घुसेको संवेदनशील सुरुहरूलाई पटक्कै नरुचेको रहेछ । त्यस्तै युक्रेनबाट ल्याएको एउटा ओभन ३५ वर्षभन्दा बढी चलेको लेखकले लेख्नुभएको छ । यसको अर्थ समाजवादमा टिकाउ सामान उत्पादन गरिन्थ्यो । मानिसको स्वास्थ्यका लागि भोजन तयार गरिन्थ्यो । यिनै कुरामा ध्यान नदिँदा आज संसारमा धेरैथरी रोग र प्रकृति दोहनजस्ता समस्याहरू आएका हुन् ।
सोभियत सङ्घमा अध्ययनका क्रममा लेखक राम विन्दुले युरोपको भ्रमण गर्ने मौका पनि पाउनुभयो । उहाँले फ्रान्कफर्टमा भुइँमा रुमाल ओछ्याएर सुत्नुप¥यो । युरोपमा उहाँहरूले धेरै दुःख पाउनुप¥यो । त्यसको कारण युरोप महँगो हुनु थियो । यसको तुलनामा सोभियत सङ्घ सस्तो र सुरक्षित थियो । सोभियत सङ्घमा जाडोमा कसैले रात कटाउनुपर्दैनथ्यो । हरेक आवासमा हिटिङको बन्दोबस्त हुन्थ्यो । बाक्ला भित्ताहरूमा भित्र पाइपबाट पानी तताएर कोठाहरू न्यानो पारिन्थ्यो । युरोपमा यसको अभाव थियो । अमेरिकी विद्यार्थीहरू युरोपमा जाडोमै सुतेको लेखकले देख्नुभएको थियो ।

दोस्रो विश्वयुद्धका सोभियत युद्ध भेटेरानहरुसँग लेखक राम विन्दु श्रेष्ठ (उभिएको लहरमा दायाँदेखि प्रथम)
युरोप झिलिमिली थियो । जताततै विलासी सामानका विज्ञापनहरू देखिन्थे । सोभियत सङ्घमा अनावश्यक पसल र अस्पताल हुन्नथे । युरोपमा घरैपिच्छे पसल र सामान पाइन्थ्यो । सोभियत सङ्घमा पसलअघि लाइन बस्नुपथ्र्यो । युरोपमा मालिकहरू नै लोभलाग्दा प्रस्ताव राखेर स्वागत गर्थे । सोभियत सङ्घमा यस्ता व्यापारीहरूको अभाव थियो । युरोपमा घूस दिएर मान्छे किन्न गाह्रो थिएन । सोभियत जीवन सरल, सादा तर सभ्य थियो । तैपनि लेखकलाई संशोधनवादी सोभियत सङ्घ कताकता बिझेझैँ लाग्यो । अध्ययनको प्रथम वर्षमा कम्युनिस्ट पार्टीको इतिहासको कक्षामा शिक्षकले बीसौँ महाधिवेशन अस्वीकार गरी निस्किने नेता को थियो भनी सोध्दा लेखकले माओ भन्नुभएछ । त्यो सुनेर कति विद्यार्थीहरू लेखकनिकट हुन पुगेछन् ।
‘मेरा सोभियत सम्झनाहरू’ मा कुनै पनि नछुटाई भनुँभनुँ लाग्ने धेरै प्रसङ्ग र घटनाहरू छन् । चिन्तनका अनेक झिल्काहरू छन् । सभ्यताका अनेक पाठहरू छन् । एउटा सानो अनुभूति–लेखमा ती सबै उल्लेख गर्न मिल्दैन । यति भनौँ सोभियत सङ्घ धेरै सभ्य र उच्च समाज थियो । लेनिन र स्तालिनजस्ता नेताहरूले ‘विश्वमै भाइचारावादको अनुपम नमुना समाज’ निर्माण गर्न चाहन्थे । पार्टीमा घुसेको संशोधनवादी तप्काले त्यो सोच पूरा हुन दिएन । लेखकले यी संशोधनवादीहरूलाई बानरको संज्ञा दिनुभएको छ । उहाँ माक्र्स र लेनिनका रचनाहरूलाई मानव इतिहासका अमूल्य सृजनाहरू मान्नुहुन्छ । सोभियत सङ्घका सर्जकहरूको सम्मानमा लेख्नुहुन्छ, “सोभियत सत्ताले साधारण मानिसहरूलाई शिक्षा र उच्च संस्कृतिको लागि बाटो खोलिदियो । कला र साहित्यिक कार्यहरूमा अब माथिल्लो वर्ग मात्रको विशेषाधिकार हुन छोड्यो र त्यो सबैको साझा सम्पत्ति भयो ।.. पहिलेका नेताहरूले दरबारहरू बनाए तर आफ्नो लागि होइन पियानेरहरूका निम्ति । तिनका छोराछोरीहरू पनि थिए तर तिनीहरू लन्डनमा बसेनन्, बरु आफ्नो मातृभूमिका लागि लडे । उनीहरू विलासितामा नुहाउन सक्थे तर आफ्नो सम्पत्तिको नाममा किराले खाएको टोपी र देशका लागि महाशक्ति राष्ट्र छोडेर गए ।”
सोभियत सङ्घ विघटनका कारणहरू अनेक कोणबाट केलाउन सकिन्छ । लेखकले पनि यसबारे धेरै चर्चा गर्नुभएको छ । तर, लेखकको एउटा कन्फेसनले मन छुन्छ । उहाँले विदेशी विद्यार्थीहरूले पनि सोभियत सङ्घका जनताको मन भाँडेको उल्लेख गर्नुभएको छ । विदेशी विद्यार्थीहरू छुट्टीको बेला युरोप भ्रमण जान्थे र आउने बेला रुसमा थरीथरीका झिलिमिली सामानहरू ल्याउँथे । सोभियत नागरिकहरूले ती सामानहरू रुचाए । तिनलाई विदेशी प्रविधिका समानहरूले मोहनी लगायो । यसैले उनीहरूले विदेशी सामान देख्यो कि किन्न थाले । यसरी उनीहरूले विदेशी चीजबिज वा सोचलाई पनि राम्रो ठान्न थाले । खासमा उनीहरू सभ्यताको निकै उच्च स्थानमा पुगिसकेका थिए । तर, राजनीतिक चेतनाको अभावमा उनीहरूले गोर्भाचोभलाई चिन्न सकेनन् । युवा नेता भनेर गोर्भाचोभ सोभियत सङ्घमा हाइहाइ कमाएका नेता थिए । यिनै गोर्भाचोभले बाबु बुशसँगको भेटपछि सोभियत सङ्घको विघटन गराए ।
इतिहासमा सोभियत सङ्घको उच्च स्थानलाई बिटुल्याउन हुँदैन भन्ने लेखक राम विन्दुको दृढ अडान छ । त्यसैले कोरोनाको महाकालको बेला उहाँले आफ्ना डायरीहरू छिचोल्दै यो पुस्तक लेख्न भ्याउनुभयो । विभिन्न घटनाका तिथिमिति मात्र होइन, समय पनि दिइएकोले यो पुस्तक ससानो इतिहास बन्न पुगेको छ । त्यसमाथि लेखकले सोभियत सङ्घको साहित्य, सांस्कृतिक वैभव र भव्यताबारे ठाउँठाउँमा धेरै रोचक जानकारीहरू पनि समेट्नुभएको छ । साहित्यमा उहाँको कलम चलिरहेको हुनाले भाषिक दृष्टिले पुस्तक सलसली बग्छ, उपन्यास पढेजस्तो मिठास आउँछ । कताकति शुद्धाशुद्धीको समस्या हुनु स्वाभाविक छ । यो पुस्तक सोभियत समाजमा रुचि भएका सबैका लागि पठनीय र सङ्ग्रहणीय छ । पुस्तकमा सोभियत जनता, लेनिन र स्तालिनजस्ता नेताहरूको मूल्याङ्कन गर्नमा लेखक चुक्नुभएको छैन ।
यो पुस्तक विश्वको प्रथम ‘समाजवादी हेडक्वार्टर’ सोभियत सङ्घ, त्यसका नेता लेनिन–स्तालिन, त्यसका निर्माता र रक्षक असङ्ख्य जनताप्रति उच्च कोटीको सम्मानभाव हो । सोभियत सङ्घको निर्माण गर्दा लेनिन र स्तालिनले के सोच्नुभएको थियो भन्ने विषयमा पुस्तकमा वर्णित एउटा रोचक विवरणसँगै यो लेखोटको बिट मार्छु :
“सेरमेतेभा विमानस्थलबाट युनिभर्सिटी होटलसम्मको यात्रामा हामीले तीनचार ओटा टुप्पोमा मन्दिरको गजुर जस्तो चुच्चो भएको गगनचुम्बी भवनहरू देख्यौँ । युनिभर्सिटी होटलको माथिल्लो तलाबाट पनि त्यस्तै भवनहरू दृष्टिगोचर हुन्थे । यो बेलासम्म मैले न रेड स्क्वायर देखेको थिएँ, न त्योसम्बन्धी थाहा थियो । हामी भर्खर रुस टेकेका आगन्तुकको लागि त्यो चुच्चे गगनचुम्बी भवनशैली नै मस्कोको परिचय बन्यो र आजपर्यन्त दिमागमा बसेको छ । पछि गएर बुझ्दा ती भवनहरूलाई ‘स्तालिन गगनचुम्बी भवनहरू’ भन्दा रहेछन् । हामीले रुसी भाषाको किताबमा त्यसलाई मस्को राजकीय विश्वविद्यालय (एमगेउ) को रूपमा देख्यौँ । सन् १९४९ देखि १९५३ सम्म रुसी बारोक र गोथिक शैलीहरूको संयोजनमा यस्ता सात गगनचुम्बी भवनहरू निर्माण गरिएका रहेछन् । निर्माणको समयमा, तिनीहरू युरोपमा, सबैभन्दा अग्ला भवनहरू थिए र मस्को विश्वविद्यालयको मुख्य भवन त १९९७ सम्म युरोपको सबैभन्दा अग्लो भवन रहेछ भनेर पछि मात्र थाहा पायौँ ।
इतिहास खोतल्दै जाँदा सन् १९२२ मा सम्पन्न पहिलो अखिल सोभियतहरूको महाधिवेशनमा ‘सोभियतहरूको महल (श्रम दरबार)’ निर्माण गर्ने विचार जन्मेको रहेछ, जसको रहरले स्तालिनलाई आफ्नो जीवन पर्यन्त छोडेन । यो निर्माण परियोजनाको प्रथम प्रयासलाई १९४१ को जर्मन आक्रमणले अवरुद्ध गराएको थियो । युद्धपछिको पुनर्निर्माणसँगै ‘श्रम दरबार’ परियोजना अघि बढ्यो र ‘स्तालिन हाइट’ को नयाँ नामबाट ‘सोभियतहरूको महल’ को न्वारान भयो । शिखरमा चुचुराहरूयुक्त शैलीको मस्को विश्वविद्यालय भवन डिजाइनको अर्थ सोभियत प्रणालीमा ‘कुनै पनि व्यक्ति जुनसुकै तहबाट उठेर स्टार बन्न वा अन्तरिक्षमा उड्न सक्छ’ भन्ने रहेछ ।”
धेरै धेरै धन्यवाद सुरेश भाई एवम “मजदुर अनलाइन ” लाई।
धन्यवाद सुरेश भाई एवम मजदुर अनलाइन लाई
ई रामबिन्दु श्रेष्ठको “ मेरा सोभियत सम्झनाहरू “ पुस्तक पढे पछि तपाईले जुन उदगार ब्यक्त गर्नु भयो त्यसमा म पूर्ण सहमत छु। तपाईको प्रतिक्रिया पढ्दा मलाई यस्तो लाग्यो तपाई पनि सोभियतकालिन समयमा सोभियत रूसमा पढ्नु भएको बिद्यार्थी हुनुहुन्छ रहेछ।
मैले पनि “ मेरा सोभियत सम्झनाहरू “ पुस्तक सरसर्ती पढेको थिएं। प्रतिक्रिया लेख्ने भावना प्रस्फुरण भै रहेको थिएन।
तर पनि केहि त लेख्छु भन्नेअठोट मनमा थियो। दोहोर्याएर पढ्दै थिएं। जब मैले तपाईको प्रतिक्रिया पढें, मैले लेख्न चाहेका सम्पुर्ण कुराहरु त्यहि पाएँ। अझ भन्ने हो भने त्यो भन्दा धेरै बढि। त्यसैले, यतिखेर मलाई रामबिन्दुको होइन तपाईको तारिफ गर्न मन लागिरहेछ।
तर पनि मैले केहि लेख्ने छु जरुर।