भर्खरै :

दैलेखको डुङ्गेश्वरमा नेमकिपाको राजनीतिक प्रशिक्षण

दैलेखको डुङ्गेश्वरमा नेमकिपाको राजनीतिक प्रशिक्षण

दैलेख, १५ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा आइतबार दैलेखको गुराँस गाउँपालिकाको माथिल्लो डुङ्गेश्वर बजारमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको उद्देश्य पूरा गर्नको लागि अविचलित सङ्घर्ष गर्ने अग्रज कार्यकर्ताप्रति सम्मान व्यक्त गर्दै भेरी र कर्णाली अञ्चलमा पञ्चायतको विरुद्ध राजनीतिको बीउ रोप्ने राजनैतिक दल नेपाल मजदुर किसान पार्टी भएको बताउनुभयो ।
नेमकिपालाई दबाउन दशकौँदेखि शासक दलहरू क्रियाशील रहेको चर्चा गर्दै उहाँले नेमकिपाले जनतालाई राजनैतिकरूपले सचेत पार्ने खुला विश्वविद्यालयको रूपमा निर्वाचनलाई उपयोग गर्दै आइरहेको धारणा राख्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाउँमा साम्राज्यवादी र विस्तारवादीहरूले विभिन्न देशमा आफ्ना दलालहरू तयार गर्न अरबौँ रूपैयाँ लगानी गरिरहेको प्रस्ट पार्दै उहाँले चुनावमा जित्दैमा आमूल परिवर्तन सम्भव नभएको बताउनुभयो ।
सिक्किम भारतमा विलय गराएजस्तै नेपाललाई पनि भारतसँग विलय गराउन अनेक चलखेल भइरहेको बताउँदै उहाँले अहिलेको संसद गाईजात्रा गर्नेे थलोमा रूपान्तरण भएको बताउनुभयो ।
सरकारमा जाने र सरकारलाई समर्थन गर्ने दल कुनै हिसाबले प्रमुख प्रतिपक्ष हुन नसक्ने प्रस्ट कानुन हुँदाहुँदै सभामुखले अप्रजातान्त्रिक ढङ्गले नेपाली काङ्ग्रेसलाई प्रमुख प्रतिपक्ष दल तोक्नु गलत भएको प्रजापतिले बताउनुभयो ।
राजनीतिमा नैतिकता सबभन्दा मूल्यवान चिज भएको बताउँदै उहाँले कम्युनिस्ट कार्यकर्ताहरू व्यक्तिवादी सोच र चिन्तनबाट टाढा रही सामूहिक हितको लागि काम गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले पार्टी कार्यकर्ताहरूले आफ्ना बालबालिकाहरूलाई राजनीतिक गतिविधिमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै पार्टीको योगदानबारे नयाँ पुस्तामाझ अन्तरक्रिया र गोष्ठी आयोजना गरी सङ्गठित गर्नुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले पुँजीवादी व्यवस्था जरैदेखि समाप्त गर्न नसकेसम्म कामदार वर्गको हित नहुने बताउँदै सरकारलाई खबरदारी गर्ने काम देशभक्त नेपाली जनताको हो भन्नुभयो ।
उहाँले तालाबन्दी, बन्द, हडतालका कारण नेपालका विश्वविद्यालयहरूप्रति विद्यार्थीहरूको आकर्षण घटिरहेको बताउँदै पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशन नियमित अध्ययन गर्नु जरुरी रहेको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला तयारी सम्मेलन समितिका संयोजक जगत ओलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेमकिपा दैलेखका रत्नबहादुर श्रेष्ठ, हस्त गुरुङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *