भर्खरै :

देश र जनतालाई धोका दिने मित्र नहुने

देश र जनतालाई धोका दिने मित्र नहुने

भक्तपुर, १६ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको खोटो विचार, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, पाकिस्तानबाट बङ्गलादेशको विभाजन, वर्ग दुश्मन, किसान सङ्घर्ष आदिबारे देखिएको मतभेदको कारण नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
लेनिनवादी नीतिअनुसार नेमकिपाले देशमा कानुनी र गैरकानुनी सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले देश र बहुमत जनताको सेवा गर्नु नै नेमकिपाको लक्ष्य हो भन्नुभयो ।
सत्तासीन दलका नेताहरूले आ–आफ्नो दलको सिद्धान्त र विचारअनुसार राजनीति नगरी विदेशीहरूको स्वार्थ र इच्छाअनुसार काम गरिरहेको कारण देश बर्बादको खाडलमा जाकिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनतालाई धोका दिने नक्कली कम्युनिस्टहरू भाइकाङ्ग्रेस भएका छन् । कृषिप्रधान देशमा मलखाद्को व्यवस्था छैन, सिँचाइ र नयाँ नयाँ बीउबिजनको राम्रो व्यवस्था छैन, युवा शक्तिलाई विदेश पठाएर कृषि उत्पादन ¥हास गर्ने सत्तासीन दलका नेताहरू जनविरोधी हुन् ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ आठौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालले नेमकिपाविरुद्ध झूट कुरा फलाकेर जनतालाई भाँड्ने काम सत्तासीन दलका नेता तथा कार्यकर्ताहरूले गरिरहेको बताउनुभयो ।
देश र जनतालाई धोका दिनेहरू कहिले पनि जनताको मित्र नहुने चर्चा गर्दै उहाँले जहिलेसम्म बहुमत कामदार वर्गको शासन सत्ता समाजवाद स्थापना हुँदैन तहिलेसम्म वर्गसङ्घर्ष भइरहनेछ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा आर. प्रजापति र पूर्णगोपाल राजचलले पनि पार्टी स्थापनाका सैद्धान्तिक आधारहरूबारे स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *