अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
हरिहर खनाल नेपाली साहित्यिक क्षेत्रका परिचित व्यक्तित्व हुनुहुन्छ । ‘अजम्मरी गाउँ’, ‘आकाश छुने डाँडामुनि’, ‘देशभित्र देश खोज्दै’ लगायत एक दर्जनभन्दा बढी उहाँका कथा सङ्ग्रहहरू प्रकाशित छन् । ‘उज्यालोको खोजीमा’ र ‘समयको रेखाचित्र’ गरी दुई उपन्यास र थुप्रै निबन्ध, अनुवाद साहित्य प्रकाशित छन् । अध्ययन, लेखन तथा शिक्षणले उहाँको व्यक्तित्व उजिल्याएको देखिन्छ ।
खनालजीको नियात्रा ‘चीनको डायरी’ २०६६ सालमा प्रकाशित भयो । दोस्रो संस्करण २०७८ सालमा पाठकसमक्ष परिमार्जनसहित आइपुग्यो । नेपाली लेखक, उद्योगी र व्यापारी गरी ५६ जनाको टोलीले वि.सं २०६६ असार २ गतेदेखि १७ सम्म गरेको छिमेकी देश चीनको भ्रमणबारे विस्तृत विवरण नै ‘चीन डायरी’ हो । अवकाशपश्चात् फुर्सदको समय सदुपयोग गर्ने मात्र होइन सानो उमेरदेखि माओ त्सेतुङको समाजवादी चीन कमसेकम एकपटक हेर्ने र पुग्ने उत्कट अभिलाषाले भ्रमणको योजना तयार भएको खनालजीले स्पष्ट पार्नुभएको छ । खनालजी ‘चीन यात्राको पूर्वकथा’ मा यसरी स्पष्ट पार्नुहुन्छ– “…..जागिरबाट निवृत्त भएपछि एक हिसाबले फुक्काफाल भएको थिएँ । फेरि, कलेज जीवनको प्रारम्भिक कालदेखि माओको रेडबुक लुकाईलुकाई खुबै पढिन्थ्यो उति बेला । तिनलाई सिरानीमुनि हालेर सुतिन्थ्यो । अध्यक्ष माओ हाम्रा पनि अध्यक्ष भन्थे हाम्रा नेताहरू । हामी अल्लारे उमेरका केटाहरू तिनका कुरा पत्याएर त्यसै होला भन्ठान्थ्यौँ । यसरी अप्रत्यासितरूपमा आएको रामबाबु सुवेदीको चीन भ्रमणको प्रस्तावले मलाई आकर्षित ग¥यो । आफ्नो आस्थाको केन्द्र बनेको देश जान पाइने भयो भनेर म भित्रभित्रै खुबै रमाएको थिएँ र चीन जान आकर्षित भएको थिएँ ।” चीन पुग्ने प्रबल इच्छा खनालजीमा कति थियो थप शब्द आवश्यक नै भएन र चीन पुग्ने र आनन्द लिनेमा सीमित थिएन उहाँको इच्छा । एक स्रष्टामनको व्यक्तित्वको नाताले अनुभव उतार्ने, आभार प्रकट गर्ने तथा सन्देश प्रवाह गर्ने कार्यमा समेत अग्रसर बन्नुभयो । त्यसरी ‘चीन डायरी’ को गर्भधारण र जन्म भयो । बेलायत यात्राको समेत स्मरण गर्दै पुस्तकको ‘लेखकीय’ खण्डमा खनालजी भन्नुहुन्छ– “……भ्रमणलाई चिरस्मरणीय र अर्थपूर्ण बनाउने आन्तरिक इच्छाले हरेक दिनको यात्रानुभूतिको टिपोट गरेर राखेझैँ यसपटक पनि घर फर्केर आउँदा एउटा कृति तयार गर्ने आन्तरिक अठोट छँदै थियो । चीनबाट फर्केलगत्तै मैले त्यसलाई मूर्तरूप दिने चेष्टा गरेँ र २०६६ भदौ १२ गते मेरो ६४ औँ वर्ष प्रवेशको उपलक्ष्यमा मेरो कृति ‘चीन डायरी’ विमोचन कार्य पनि सम्पन्न गरिएको थियो त्यति बेला ।” भ्रमण सकिएको दुई महिना पनि नबित्दै उहाँले पुस्तक पाठकसमक्ष पु¥याउनुभयो । यसले ‘बुलेट स्पिड’ मा काम गर्ने उहाँको कार्यशैली तथा स्वभाव छर्लङ्ग पार्दछ । खनालजीको ‘बेलायती दैनिकी’ (२०६७) पनि प्रकाशित छ ।
खनालजीको यस कृतिबारे भ्रमण दलका टोली नेता रामबाबु सुवेदी दोस्रो संस्करणको ‘भूमिका’ को अन्त्यतिर यसरी लेख्नुहुन्छ, “हरिहरजीको डायरीमा कलात्मक बास्ना छ । विषय प्रवेशमा यो बास्ना स्पष्टै देखिन्छ । उहाँ बडो मिहीन ढङ्गले यात्राको उत्थान गर्नुहुन्छ, यात्राको मध्यमा विवरण हुन्छन् । अन्त्य फेरि गम्भीर हुन्छ । डायरी लेखकहरू धेरैजसो तिथिमितिमा रमाउँछन् । तर, हरिजी सुन्दर विचारका साथ प्रसङ्गहरूलाई उन्नुहुन्छ ।” खनालजीको लेखनशैली र पुस्तकको विशेषता बुझ्न अरू लामो गन्थन आवश्यक नहोला र भूमिकामा सुवेदी नेपाल–चीनबिच जनस्तरको सम्बन्ध अत्यन्त सुमधुर एवम् प्रगाढ भएकोमा फुरुङ्ग हुँदै “यो सम्बन्ध भनेको फूल र रङको सम्बन्ध हो ।” भन्नुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ, “फूलबाट रङ्ग छुट्याउन सकिन्न ।” ‘ऐतिहासिक यात्रा’ शीर्षक दिइएको भूमिका आपैmँमा सुन्दर तथा जानकारीमूलक हुनाले पुस्तक थप सुगन्धित भएको अनुभव हुन्छ ।
‘चीन डायरी’ नेपाली ‘जम्बो’ भ्रमण टोलीले ल्हासादेखि पेइचिङसम्म भ्रमण गर्दाको वर्णन हो । फरक–फरक क्षेत्र तथा फरक अभिरुचिका यात्रीहरूले सहयात्रा गर्दाको तीतो–मीठो अनुभवको सँगालो हो । चिनियाँ समकक्षीहरूबाट मिलेको न्यानो आतिथ्य तथा स्वागतप्रतिको कृतज्ञता–पत्र हो । पुस्तकमा आत्मसमीक्षाको अंश पनि मिसाइएको अनुभूति हुन्छ । अर्थात्, नेपालीहरूको सांस्कृतिक स्तर तथा सामाजिक जीवनको दर्पण पनि हो भन्नु अत्युक्ति नहोला र सो¥ह दिन यात्रा गर्दा तीनजना सदस्य हराएका प्रसङ्गले पाठकलाई एकैछिन हँसाउनेछ भने नेपालीहरूको स्वभावगत समस्याबारे उजागर गर्दछ । सहयात्री हराउँदाको तनावको वर्णनले स्कूले विद्यार्थी तथा कलेज–विद्यार्थी शैक्षिक भ्रमण लाँदा शिक्षकहरूले व्यहोर्ने अनुभवलाई समेत बिर्साइदिनेछ । खनालजीको वर्णन कुनै फिल्मको कहानीभन्दा कहाँ कम हुनु– “….पेइचिङको त्यो मान्छे–मान्छेको महासागरमा एकजना नयाँ मान्छे हराउँदा सबैको हंसले ठाउँ छोड्यो । हाम्रा गाइड नानीहरू पनि आत्तिएर रातापिरा हुन थाले । लिजा र म विद्युतीय र भ¥याङको बाटोमाथि पुग्यौँ । पुलिसलाई खबर भयो । पुलिसको गाडी प्लेटफर्मभरि कुद्न थाल्यो । दीपक र रामबाबुले नेपाली राजदूतावासमा फोन गरे । तत्कालै पेइचिङको स्थानीय टीभी च्यानलमा फोटोसहित दिनु बराली हराएको सूचना प्रवाहित भयो ।……” कार्यक्रमसमेत स्थगित गर्नुपर्दा र यस्ता घटना दोहरिरहँदा चिनियाँ सहयात्रीहरूलाई कस्तो असजिलो भयो होला, सजिलै अनुमान लगाउन सकिन्छ ।
ल्हासाको वर्णनले पाठकलाई यथेष्ट जानकारी प्रदान गर्दछ । मन छुने शैलीमा दृश्यको चित्रण, घटनाको प्रस्तुतीकरण तथा अनुभूतिका पत्रहरूको सजावट लेखकको शिल्प, शैली तथा संवेदनशीलता उजागर गर्दछ । पाठकहरूले आपैmँ लेखकसँग ल्हासा डुलेको अनुभव गर्नेछन् । पुस्तकका कुनै पनि पृष्ठमा लेखक आफूमात्र कुदेको, उडेको या हिँडेको पाठकले अनुभव गर्ने छैनन् । त्यतिमात्र होइन, लेखक रमाउँदा, असजिलो अनुभव गर्दा पाठकले पनि सहअनुभूति गर्नेछन् । सायद भाषिक सरलता एवम् सरसता त्यसको कारण हुनुपर्छ । अनावश्यक व्याख्या–वर्णनबाट मुक्त हुनाले पनि त्यसो भएको हुनुपर्छ । कुनै फोटोग्राफरले आफ्नो खुबी प्रयोग गरी सुन्दर दृश्य तस्वीरमा जसरी प्रस्तुत गर्दछ । सुन्दर शब्द संयोजनमार्फत दृश्य–प्रस्तुति खनालजी यसरी गर्नुुहुन्छ, “वरिपरिको वातावरण र मेरा आँखाअगाडिको संसार विस्तारै क्षितिज रेखापारिको घुर्मैलो अँध्यारो बिलाउँदै गयो । परको नदीको पहेँलो पानी र त्यसपछि सिङ्गो नदी पनि हाम्रा नजरबाट बिस्तारै हराउँदै गयो । अब हाम्रा आँखाअगाडि सडकबत्तीको मधुरो प्रकाशको टिमटिमे उज्यालोमात्र बाँकी थियो । गाउँघर, डाँडाकाँडा, गहिरा खोँच र स–साना पर्वतीय गाउँहरू पार गर्दै साँझ हामी सियान प्रवेश ग¥यौँ ।” खनालजीको भाषिक लालित्य यसरी नै हरेकजसो हरफमा रसास्वादन गर्न पाउँदा सामान्य पाठकले समेत बेग्लै आनन्दानुभूति पाउनेछन् ।
ल्हासाबाट ३६ घण्टाको रेल यात्रापश्चात् सियान पुग्दा सोझो खनालजी जङ्गिनु हुन्छ र बुद्ध भारतमा जन्मिएको भावमात्र सुन्दा सही–सत्य बताउन उहाँ अघि बढ्नुभयो । खनालजी लेख्नुहुन्छ, “निश्चित राजनीतिक स्वार्थवश भारतले गलत सन्देश दिन खोज्नु उसको संस्कारगत बेइमानी हो । त्यसकै कुरालाई शिरोधार्य गरेर चुप लाग्नु एक प्रकारको गुलामीपन हो भन्ने मलाई लाग्छ ।” खनालजीको स्वाभिमान, स्वतन्त्रता–चेत तथा देशप्रेम यहाँ उम्लिन पुगेको आभास हुन्छ ।
पेइचिङ पुग्दाको वर्णन पनि बेजोड छ । पेइचिङ पुग्दा नेपाली वास्तुकलाविद् अरनिकोले आत्मगौरव बढाइदिएको तथा नेपाली र चिनियाँ जनताबिच युगौँदेखिको मित्रता, आदानप्रदान तथा आत्मीयताको प्रमाण पेश गरेको अनुभव गर्नुहुन्छ खनालजी । घुमघामका अलावा पुस्तकको खोजीमा हिँडेको प्रसङ्गले पाठकलाई उत्साहित गर्नेछ । विशाल थिआनमन चोकको वर्णन र माओको पार्थिव शरीर देखेर जागेको श्रद्धाभावबारे गरिएको अभिव्यक्तिले खनालजीको मनको भाव बुझ्न सजिलो हुनेछ । यद्यपि, कहीँ–कतै खनालजीका सुस्केरा नभेटिएका होइनन् । साहित्यिक अन्तरक्रिया कार्यक्रममा जाने कि मोती कारखाना हेर्न जाने भन्ने सवालमा दस–बा¥ह जनाबाहेक भ्रमण दलका पैँतालीस–छयालीस जनाले मोती कारखाना रोजेको प्रसङ्ग छ । उहाँ लेख्नुहुन्छ, “लेखिका मित्रहरूलाई पनि मोतीको मालाले उतै तान्यो ।”
चिनियाँ लेखक–कवि–कलाकारहरूसँग यात्राको क्रममा भएका भेटघाटबाट खनालजी अत्यन्त प्रभावित हुनुभयो । खनालजी भन्नुहुन्छ, “विचारविहीन लेख मृतात्माजस्तै छोक्रो र बोक्रो हुन्छ । तर, विचारले मात्रै थिचिएको रचना सामान्य पाठकका लागि घन उचाल्ने कुराजस्तै हुनसक्छ ।” चिनियाँ मित्रहरू तथा समकक्षीहरूको शिष्टाचार, सहयोग, सक्रियता तथा व्यवहार नजिकबाट हेरिसकेपछि उहाँ यसरी आफ्नो यात्राको निष्कर्ष निकाल्नुहुन्छ– “…तिनीहरू यति नम्र थिए कि हामी शब्दमा त्यसको वर्णनमात्र गर्न पनि सक्दैनौँ । मलाई लाग्यो, ठूला देशहरूको, शक्ति सम्पन्न मुलुकहरूको यो एउटा राम्रो कूटनीतिक नमुना हो । बोलीकै भरमा थर्काउने र दमन गर्न खोज्ने दादा संस्कृति दक्षिणतिर भए पनि उत्तरमा त्यो रहेनछ । सभ्यता र शालीनताको परिचय पनि सायद यही नै होला ।”
यात्राको अन्तिमतिर हङकङमा टोली नेता रामबाबु नै करिब आधा घण्टा हराएको घटनाले पाठकलाई केही रमाइलो र केही अचम्मित बनाउँछ । ठाउँ ठाउँमा आफू हराएको सूचना पुलिस स्टेसनका माइकबाट फुकेको सुन्दै एक चिनियाँको सहयोगमा टोली नेता साथीहरूसमक्ष पुगेपछिको वर्णन खनालजीले यसरी लेख्नुभयो, “….यसरी आज हाम्रा टोली नेता अचानक हराउन पुग्दा छटपटिएका साथीहरू र हराउने पात्रसमेत सबैका अनुहारबाट हराएको हाँसो फेरि फर्केर आएछ । पछि मूल पात्रबाट नै मैले यो वृत्तान्त सुन्दा मलाई एकछिन रमाइलोका साथै हाँसो पनि मजैले लाग्यो ।”
‘उड्दै गरेको चरो बाँकटे हानेर बिस्तारै जमिनतिर बस्दै गरेको दृश्यजस्तै’ हवाईजहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि खनालजीको ‘चीन डायरी’ पनि सकुशल अवतरित हुन्छ र ‘चीन डायरी’ ले चीन चिनाउने चेष्टा गरेको मात्र होइन नियात्राको नमुना प्रस्तुत गरेको अनुभव हुन्छ ।
ठाउँ–ठाउँमा अङ्ग्रेजी शब्दसँग ठोकिएर यदाकदा ठेस लाग्नेबाहेक पाठकलाई खासै असुविधा अनुभव हुन्न । मुद्राराक्षस तेस्रो संस्करणमा निमिट्यान्नै हुनेमा शङ्का गर्न नपर्ला ¤ जम्माजम्मी दुई सय पृष्ठको पुस्तकको मूल्य रु. ५०० राख्नु प्रकाशक एभरेष्ट पब्लिसिङ हाउस प्रा.लि.को बाध्यता हो कि भन्ने खुल्दुली जाग्नु अस्वाभाविक होइन । सहमति या विमति पाठक स्वयम्को तजबिजमा छोड्नु मनासिब होला । गाताझैँ भित्री पृष्ठका तस्बिरमा आकर्षण खोज्नु समयअनुसार अन्यथा होइन र !
खनालजीको ‘चीन डायरी’ मा उहाँको भावना, अपेक्षा, आस्था तथा निष्ठा छचल्किरहेको विज्ञ पाठकले अनुभव गर्नेछन् । बाह्र–तेह्र वर्षअगाडि लेखिएको नियात्रा आजसम्म उत्तिकै सान्दर्भिक हुनु आफैँमा सुन्दर पक्ष हो । उहाँलाई साधुवाद !
Leave a Reply