संरा अमेरिका विश्व असुरक्षाको प्रमुख कारण
- आश्विन ६, २०८३
संरा अमेरिकामा युक्रेनविरूद्ध नेटो/अमेरिकाको छद्म युद्धको उल्लेख्य विरोध उठ्दै छ । गत हप्तामात्र संयुक्त राष्ट्रय युद्धविरोधी गठबन्धन (युएनएसी) को अगुवाईमा अमेरिकी सरकार, उसका युद्धहरू र साम्राज्यवादको विरोधमा अमेरिकाभरि ९० ठाउँमा गतिविधिहरू भए । साम्राज्यवादको विरोधमा एउटा सशक्त र सुदृढ विपक्षी लडाइँ लड्नुपर्नेमा सबै अभियन्ताहरू सहमत थिए ।
अमेरिकामा अमेरिकी साम्राज्यवादले गर्ने युद्धहरूको विपक्षमा अहिले चलिरहेका सङ्घर्षहरूभन्दा बलियो र अझ सङ्गठित सङ्घर्ष उठाउन सक्ने आधार छ । अमेरिकी कामदार वर्गकै बिचबाट यस्तो सङ्घर्ष व्यापक पार्न सकिन्छ । रूसविरूद्ध अमेरिकी सरकारको युद्धको विरोधमा भएका पर्चापम्प्लेटिङ र नाराबाजीप्रति मानिसहरूले देखाएको सकारात्मक रूचि देखेर ‘यूएनएसी’ का अभियन्ताहरू उत्साहित छन् । उनीहरूले खुला रूपमै रूससँग अमेरिकी सरकारले शान्तिवार्ता गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
अनेक अप्रगतिशील र गैरसमाजवादी सङ्घसंस्थाले गरेका सर्वेक्षणले पनि अमेरिकी युद्धहरूविरूद्ध बहुसङ्ख्यक जनता एकढिक्का हुने राम्रो आधार रहेको देखाएका छन् ।
गत नोभेम्बरमा एउटा दक्षिणपन्थी थिङ्क ट्याङ्क समूह ‘सिकागो काउन्सिल अन ग्लोबल अफियर्स’ अनुसार ३७ प्रतिशत अमेरिकीहरूले युक्रेनमा थप हतियार पठाउने सरकारी नीतिको विरोध गरेका छन् । ३४ प्रतिशत अमेरिकीहरूले युक्रेनलाई आर्थिक सहयोग पठाउने नीतिको विरोध गरे । अघिल्लो मतसर्वेक्षणमा भन्दा यसपालि यस्तो राय राख्नेहरूको सङ्ख्या बढेको छ ।
अमेरिकी सरकारले युक्रेनले ‘लिएसम्म दिने’ वा वासिङटनले युक्रेनलाई शान्तिवार्ताको निम्ति पहल गर्न भन्नुपर्ने भन्ने विषयमा अमेरिकी जनता विभाजित देखिन्छन् । २०२२ जुलाईमा युक्रेनले ‘लिएसम्म दिनुपर्ने’ भन्ने मत ५८ प्रतिशत थियो भने यो महिना त्यो झरेर ४८ प्रतिशत पुगेको छ । त्यस्तै गत जुलाईमा युक्रेनलाई शान्तिवार्ताको पहल गर्न भन्नुपर्ने भन्नेहरू ३८ प्रतिशत थिए भने अहिले त्यो बढेर ४७ प्रतिशत पुगेको छ ।
गत जुलाईमा हार्वर्ड र ह्यारिस विश्वविद्यालयले गरेको सर्वेक्षणले ४७ प्रतिशत अमेरिकीहरूले ‘अमेरिकाले युक्रेनलाई प्रशस्त चन्दा दिइसकेको र अब बन्द गर्नुपर्ने’ बताए ।
‘क्विन्सी इन्स्टिच्यूट फर रिस्पोन्सिबल स्टेटक्राफ्ट एन्ड डेटा अफ प्रोग्रेस’ ले गत सेप्टेम्बरमा गरेको सर्वेक्षण अनुसार ५७ प्रतिशत उत्तरदाताले अर्को विचार जाहेर गरे । रूससामु युक्रेन झुक्नु परे पनि युक्रेन युद्ध सकेसम्म चाँडो अन्त्य गर्न कूटनीतिक सम्झौतावार्ता अगाडि बढाउनुपर्ने मत राखे ।
त्यस्तै ४९ प्रतिशत उत्तरदाताले बाइडेन र अमेरिकी काङ्ग्रेसले युद्ध अन्त्य गर्न कूटनीतिक तरिकामा जोड दिनुपर्ने बताए । ६१ प्रतिशत उत्तरदाताले युक्रेन युद्धले आफूहरूलाई आर्थिक रूपमा कहीँ न कहीँ असर गरिरहेको बुझाइ राखे ।
Leave a Reply