भर्खरै :

डकर्मीहरूमाझ नेमकिपा स्थापना दिवस

डकर्मीहरूमाझ नेमकिपा स्थापना दिवस

भक्तपुर, २० माघ । नेपाल क्रान्तिकारी डकमी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार डकर्मीहरूमाझ प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेमकिपा स्थापना हुनुका आधारहरूबारे चर्चा गर्दै कामदार वर्ग, किसान, मजदुर र शोषितपीडित जनताको पक्षमा पार्टीले स्थापनाकालदेखि वकालत गरिरहेको छ भन्नुभयो ।
पार्टीले शिक्षा, स्वास्थ्य र सांस्कृतिकस्तर उत्थान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ, उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीले विश्वविद्यालयको लागि सङ्घर्ष गरिरहेको उल्लेख गर्दै जिल्ला अध्यक्ष सुवालले ख्वप विश्वविद्यालय सञ्चालन भएपछि गरिब परिवार, किसान, मजदुर, डकर्मी, सिकर्मी लगायतका सर्वसाधारण जनताका छोराछोरीहरूले पनि चिकित्सा शिक्षा (एमबीबीएस) हासिल गर्न पाउने धारणा राख्नुभयो । नेमकिपाले कार्यकर्ताहरूलाई अनुशासन पालना गर्न जोड दिँदै आएको छ । कार्यकर्ता नैतिकवान, लगनशील र देश तथा जनताप्रति हुनुपर्छ । नेमकिपाको इमानदारिता र लगनशीलता शासक पार्टीहरूको निम्ति हाँक भइरहेको छ, उहाँले भन्नुभयो ।
पार्टी विस्तारको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु, पार्टी अनुशासन पालना गर्नु र पार्टीका अग्रजहरूको सम्मान गर्नु कार्यकर्ताहरूको गुण भएको धारणा उहाँले राख्नुभयो ।
शासक दलहरूले नेमकिपालाई तहसनहस गर्न अनेक षड्यन्त्र बुनिरहेको प्रति सबै सजग र सतर्क हुनुपर्नेमा जिल्ला अध्यक्ष सुवालले सचेत गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *