भर्खरै :

नेक्रायुसङ्घ स्थापना दिवसमा बुद्धिचाल प्रतियोगिता

भक्तपुर, २ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देशभक्त युवा–खेलाडीहरू सचेत र सजग नभए देश सिक्किमको स्थितिमा पुग्ने खतरा औंल्याउनुभएको छ । पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा सङ्घको २७ औं स्थापना दिवस (असोज ३० को अवसरमा सङ्घको केन्द्रीय खेलकुद विभागद्वारा आयोजित राष्ट्रिय ¥यापिङ बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै सचिव सुवालले देशका शासक दलहरू देश र जनताको हितमा निर्णय गर्नेभन्दा विदेशी मालिकहरूलाई रिझाउनेमा दत्तचित्त देखिएका कारण फेरि फेरि देशको अहितमा राष्ट्रघाती सन्धि–सम्झौतामा गर्नसक्ने बताउनुभयो ।
युवाको परिभाषा गर्दा उमेर सँगसँगै नयाँ र वैज्ञानिक विचार बोकेको पनि हुनुपर्ने बताउँदै सचिव सुवालले सामन्तवाद र पूँजीवाद पुरानो विचार र समाजवाद नयाँ विचार हो भन्नुभयो । उहाँले शासक दलका नेताहरूमा राजा–रजौताको प्रवृत्ति हावी रहेको र बुद्धि फर्केको छैन भन्दै युवाहरूले देशमाथिको विदेशी हस्तक्षेपविरूद्ध लड्नुपर्छ भन्नुभयो ।  नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले युवाहरूलाई माक्र्सवाद–लेनिनवाद र माओ विचार धाराबाट शिक्षित–दीक्षित पार्दै देशको परिवर्तन र विकासमा सक्रिय पार्न नेक्रायुसङ्घको स्थापना भएको बताउँदै त्यसमा नेक्रायुसङ्घ निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गर्नुभयो ।
शासक दलका नेताहरूमा बुद्धिचाल खेलाडीमा जत्ति पनि बुद्धि नहुँदा देश अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले युवाहरूलाई राजनैतिक रूपले शिक्षित र संगठित पार्दै समाजवादी गणतन्त्र स्थापनाको लक्ष्यमा नेक्रायुसङ्घ निरन्तर प्रयत्नरत छ भन्नुभयो ।  नेक्रायुसङ्घको २७ औं स्थापना दिवसको अवसरमा देशका विभिन्न जिल्लामा विभिन्न गतिविधि भइरहेको बताउँदै उहाँले विदेशी शक्तिको दलाली गर्नेहरूविरूद्ध युवा खेलाडीहरूको सक्रियता जरूरी छ भन्नुभयो ।
आयोजक नेक्रायुसङ्घ केन्द्रीय खेलकुद विभागका संयोजक रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष एवं फिडे आर्विटर निरञ्जन प्रजापति, प्रतियोगिता संयोजन समितिका संयोजक राजकुमार लघू, सदस्य इन्द्रभक्त पञ्चलगायतले बोल्नुभएको थियो ।  फिडे नियमअनुसार खेलाइएको प्रतियोगितामा सोमबार तीन चरणका खेलहरू भइसकेका छन् ।
बाँकी खेल मंगलबार बिहान ८ बजेदेखि नै खेलकुद प्रशिक्षण हल कमलविनायकमा हुने बताइएको छ ।  कार्यक्रममा नेक्रायुसङ्घ र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको तर्फबाट तुर्किमिनिस्तानमा हुने एसियाली चेस च्याम्पियनसीप प्रतियोगितामा भाग लिन त्यसतर्फ जान लागेका मदनकृष्ण कायष्ठलाई प्रमुख अतिथि सुवालबाट उपहारसहित बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *